• डा शिवशङ्कर यादव

विश्वको पहिलो आश्चर्य मिश्रको पिरामिड होइन, त्यसमा राखिएका ममी हुन् । ती ममी जब जिउँदा थिए तब त्यसमा मस्तिष्करूपी एउटा राजा बस्थ्यो । हो, मस्तिष्क राजा हो, जो अभेद्य किल्ला स्कल (खप्पर) भित्र बस्छ । त्यो किल्ला सधैं स्थिर रहन्छ । त्यसपछि एउटा हृदयरूपी प्रधानमन्त्री र दुई फोक्सोरूपी सहायकमन्त्री अगलबगल बसेका हुन्छन् । उनीहरूलाई हिंडडुल गर्न छाती बनाइएको छ । त्यसमुनि हाम्रो पेटरूपी अन्नदाता र सफाइ तथा निर्माण गर्नेहरू बसेका छन् । ती सबैको रक्षा र उनीहरूलाई निर्वाध काम गर्न दिनको लागि सात पर्दामा राखिएको छ । मतलब एब्डोमेन कडा नभए पनि सात पर्दा हुन्छ । ती पर्दा बाहिरबाट भित्रतिर गिन्ती गर्दा निम्नलिखित हुन् : छाला, सबकुटेनियस फैट, डिप फासा, एब्डोमिनल मांसपेशी, ट्रान्सर्भिर्लस फासा, एक्सट्रापेरिटोनियल फैट र पेरीटोनियम । मतलब यो कि जब कुनै सर्जनले छुरा चलाउँछ तब उसले यी सात पर्दा छिछोलेर जानुपर्छ । यस सम्बन्धी अन्य विवरण पूर्वको लेखमा आइसकेको छ ।

आज पालो पेरीटोनियम र अम्लक्षार सन्तुलनसम्बन्धी हो । यसका साथै मेरा लेखहरूको प्रथम खण्ड समाप्त हुनेछ । दोस्रो खण्डमा केवल मस्तिष्करूपी राजाको मात्र वर्णन गरिने छ । राजाको वर्णन केवल एउटा लेखमा समाप्त हुने छैन । तेस्रो खण्डमा सरसर्ती र एक्लाएक्लै बाँकी अङ्गहरूको वर्णन गरिने छ । त्यस पछि मात्र अरू विषयको सिलसिला शुरू हुनेछ । पाठकवृन्द म तपाईहरूलाई छोडेर छिटो बिदा लिनेवाला छैन ।

पेरीटोनियम : यो एउटा सिरस र पेटको सबैभन्दा भित्रको स्तर वा लेयर हो, जसको मोटाइ ३७० माइक्रोमिटर हुन्छ । यसको उत्पत्ति लैटिन शब्द पेरी र टोनबाट भएको हो, जसको मतलब हुन्छ परिधि र तन्काउनु । मतलब एउटा यस्तो मेम्ब्रेन जो एब्डोमिनल ओर्गेनहरूको चारैतिर हुन्छ । यो दुई तह भएको मेम्ब्रेन हो, जसको बाहिरी तहलाई पेराइटल र भित्रीलाई भिसेरल पेरीटोनियम भनिन्छ । यही भिसेरल तहले सीधै आन्द्रा आदि कोमल अङ्ग ढाकेर रक्षा गर्छ जसरी हामीले सुत्ने बेला चादर ओढ्ने गर्छौं । यसले सबै अङ्गलाई आफूमा समाहित गर्दै सम्बन्धित अङ्गहरूमा सबै नसा, आर्टरी, भेन, लिम्फहरू पुर्याउँछ । अतः पेरिटोनियमको तीन मुख्य काम हुन्छ– सबै अङ्गलाई समातेर स्थिर राख्ने, रक्षा गर्ने र पोषण प्रदान गर्ने । दुवै तहको बीचमा एउटा खाली स्थान हुन्छ, जसलाई पेरिटोनियल स्पेस भनिन्छ जसभित्र सिरस द्रव भरिएको हुन्छ । यस द्रवको मात्रा बढी भयो भने त्यसलाई एसाइटिस भनिन्छ जुन विभिन्न रोगको कारण जम्मा भएको हुन्छ । पेरिटोनियमभित्र हुने अङ्गहरूलाई इन्ट्रापेरिटोनियल र नहुनेलाई एक्सट्रापेरिटोनियल अङ्ग भनिन्छ । जसरी दुवै मिर्गौला एक्स्ट्रापेरिटोनियल अङ्ग हो । पेरिटोनियमको तीन भाग हुन्छ–ट्रु पेरिटोनियम, जसको बाहिरी तहले एब्डोमेन र पेल्भिसको पर्खाललाई बेर्छ र भिसेरलले अङ्गहरूलाई बेर्छ । दोस्रो हो ओमेन्टम : लैटिनमा ओमेन्टमको अर्थ हुन्छ  एप्रोन । एप्रोन कीलामा झुन्डिएको हुन्छ र जब डाक्टर अस्पताल जान्छ, आफूलाई कीटाणुबाट बचाउन लगाउँछ ।  ठीक यही काम हो ओमेन्टमको । यो माहुरीको चाकाजस्तो अमाशयमुनि झुन्डिएको हुन्छ र जब जहाँ आवश्यकता पर्यो कुदेर पुग्छ । यसको पनि दुई भाग हुन्छ ग्रेटर र लेसर ओमेन्टम । ओमेन्टमलाई ब्रिटिस सर्जन मोरिसनले एब्डोमेनको पुलिसमैन भनेर नामकरण गरे किनभने पेटमा चोट लाग्यो वा इनफेक्शन भयो भने त्यो तुरुन्त त्यसको सामुन्ने पर्ने अङ्गलाई ढाकेर चोटको असर कोमल अङ्गमा पुग्न दिंदैन तथा इन्फेक्शनको बैक्टेरियालाई घटनास्थलमा नै खाइदिन्छ । तेस्रो हो मिजेन्टरी र यो छ भागमा बाँडिन्छ । पहिलो हो इन्टेस्टाइनल मिजेन्ट्री जसले जेजुनम र सानो आन्द्रालाई पंखाजस्तो फैलिएर समाएर राख्छ र त्यही भित्रबाट सारा नस–नाडी सानो आन्द्रामा प्रवेश गर्छ । दोस्रो हो मेडियल मिजेन्ट्री र तेस्रो हो लैटेरल मिजेन्ट्री, जसले डिसेन्डिङ कोलोनलाई समाएर राख्छ । चौथो हो ट्रान्सभर्स मिजेन्ट्री, जसले ट्रान्सभर्स कोलोनलाई सपोर्ट गर्छ । पाँचौं हो मिजोसिग्म्वायड, जसले सिगम्वायड कोलोनलाई समाएर राख्छ । र छैंठौं हो मिजोरेक्टम जसले रेक्टमलाई समाएर राख्छ र तल खस्न दिंदैन ।

अम्लक्षार सन्तुलन : अम्ल र क्षारसँग मानिस सृष्टिको आरम्भदेखि नै परिचित हुनुपर्छ किनभने जङ्गली अवस्थामा पनि उसले अमिलो र पिरो फल अवश्य नै चाखेको होला । अम्लको स्वाद अमिलो र क्षारको तिखो हुन्छ । अहिले पनि गाउँघरका नपढेका मानिस एसिड र बेसको वैज्ञानिकता नजाने पनि अमिलो र पिरोको महत्वसँग अवश्य परिचित हुन्छन् । वैज्ञानिकहरूले १६६१ मा अम्ल र क्षारको स्वाद पत्ता लगाए र अम्ल र क्षार भनेर नामाकरण गरे १८१४ मा गे लुसाकले । अम्ल र क्षारको विस्तृत परिभाषा भने जोहान्स निकोलस र थोमस मार्टिनले दिए । अम्ल र क्षारको पिता भने लिभोजियरलाई मानिन्छ । रोचक के छ भने एक्सन र विस्तारको हिसाबले अम्लको राजा र रानी पनि चयन भएको छ : राजा सल्फ्युरिक एसिड र रानी नाइट्रिक एसिडलाई भनिन्छ । कुनै पनि केमिकल कम्पाउन्ड कि अम्ल हुन्छ वा क्षार जसको पत्ता स्वीडिस वैज्ञानिक स्वाटे अर्थेनिकस १८८४ र जस्टस लिविंगले १८३८ मा लगाए । शरीरमा अम्ल र क्षार हुन्छ भन्ने थाहा पाएपछि मानिस अचम्भित भये । हाम्रो त पूरा शरीर नै अम्ल र क्षारमय छ । हाम्रो शरीरको अमाशय र आन्द्राद्वारा अम्लको स्राव त हुन्छ नै, सबै एमिनो फैटी र स्कोर्बिक एसिड नै हुन्छ । हाम्रो पूरै शरीरको प्रकृति थोरै क्षारतिर ढल्केको पाइएको छ । तर पनि शरीरको प्रकृतिको झुकाव एउटा हदभन्दा बाहिर बढी क्षार वा अम्लतिर भयो भने त्यो शरीरको भयानक स्थितिको सूचक हो, जुन तुरून्त एक्सट्रा सेल्युलर द्रवको मापनबाट थाहा हुन्छ र शरीर त्यसलाई सन्तुलन गर्नतिर लागेन वा उपचार भएन भने मान्छेको मृत्युसमेत हुन्छ । वास्तवमा मैले पाठकवृन्दलाई अम्ल र क्षारको जटिलता र व्याख्यातिर नडो¥याई सरलरूपले बताउन चाहन्छु । लिटमस पेपरले जाँच गर्दा अम्लले पेपरलाई रातो र क्षारले नीलो रंग प्रदान गर्छ । कुनै पनि कम्पाउन्ड वा झोल अम्ल हो कि क्षार हो भन्ने पत्ता लगाउन १ देखि १४ अङ्कको स्केल बनाइएको छ, जसको बीचको ७ लाई ७ होइन ० वा न्युट्रल मानिन्छ । त्यसको तलको सबै अङ्कले अम्लको शक्ति प्रदर्शित गर्छ र माथिको सबै अङ्कले क्षारीय शक्ति देखाउँछ । जति अम्लीयपन बढ्छ, स्केल ० बाट त्यति बढी तल घट्छ । दूधलाई लिनुस् । लगभग दुध पिएच स्केलमा नयुट्रल पदार्थ हो । अतः त्यसको पिएच मापन ० हुन्छ । अब कुनै दुईवटा झोल लिनुस् जुन अर्कोभन्दा बढी अम्लीय छ । पहिलोको पिएच ६ छ भने दोस्रोको पाँच हुन्छ । यसरी नै क्षारको पनि हुन्छ । दुईटा झोलमा एउटाको क्षारपन बढी छ । तब पहिलोको पिएच स्केल ८ हुन्छ र दोस्रोको ९ । यहाँ जति क्षारीयपन बढछ त्यति स्केलको अङ्क पनि बढ्छ जुन अम्लको उल्टो हो । अम्लीयपन जति बढ्छ स्केलको अङ्क त्यति घट्छ । हाम्रो शरीरको पिएच ७.४ हुन्छ जसले क्षारीय झुकाव लिएको स्पष्ट हुन्छ । अम्ल वा क्षारको पनि एउटा निश्चित सीमा हुन्छ । त्यस सीमाभन्दा अलिकति पनि कम वा बढी एक्सट्रा सेल्युलर द्रवको पिएच भयो भने त्यो भयङ्कर खतराको सूचक हो । अतः शरीरले त्यसलाई रोक्न जीउज्यान लगाउँछ र हामीले उपचारको लागि अस्पतालतिर दगुर्नुपर्छ । शरीरमा क्षार बढी भएको अवस्थालाई अल्केलोसिस र अम्ल बढी भएकोलाई एसिडोसिस भनिन्छ । उदाहरणको लागि पखाला र वान्तामा अलकेलोसिस हुन्छ र मान्छे मर्छ । त्यस्तै अनियन्त्रित डायबिटिजमा एसिडोसिस हुन्छ र मान्छे मर्छ ।  

उपचारको कुरा त पछि हुन्छ, यहाँ यो हेरौं कि शरीरले यस विषम परिस्थितिलाई कसरी सच्याउँछ । शरीरको मेटाबोलिज्ममा दुई प्रकारको विजातीय एसिड निस्कन्छ : भोलाटाइल र ननभोलाटाइल । यसमा भोलाटाइल  कार्बोहाइड्रेट र लिपिड मेटाबोलिज्ममा र ननभोलाटाइल प्रोटिन मेटाबोलिज्ममा निस्कन्छ । यी दुवैलाई सन्तुलनमा राख्नको लागि शरीमा तीन प्रकारको प्रक्रिया छ । पहिलो : एसिडबेस बफर सिस्टम, दोस्रो : रेसपिरेटरी र तेस्रो : रेनल मेकानिज्म । यसमा पहिलोले सेकेन्डमा, दोस्रोले मिनटमा र तेस्रोले चार दिनमा काम फत्ते गर्छ । चार दिनमा सफलता पाए पनि तेस्रो चाहिं धेरै दुरुह मानिन्छ ।

एसिडबेस बफर सिस्टमले तीन प्रकारले काम गर्छ : जसमा एसिडलाई कार्बोनेटको रूपमा, फस्फेटलाई सोडियम फस्फेटको रूपमा परिवर्तित गरी फ्याँकिन्छ । पहिलो इसएिफमा र दोस्रो आरबिसीभित्र हुने प्रक्रिया हो । रेसपिरेटरीमा कार्बनडायअक्साइडलाई बाहिर फ्याँकिन्छ भनेर कसलाई थाहा छैन होला ? यो कार्बनडायअक्साइड जम्मा भइरह्यो भने एसिडोसिसको कारण बन्छ । अतः फोक्सोको बिमारीमा जब कार्बनडायहक्साइड जम्मा हुँदै जान्छ तब एसिडोसिस हुन्छ । मिर्गौलाले एच आयनलाई हरदम पिशाबबाट बाहिर निकालिरहन्छ । यही एच आयन त हो जुन जम्मा भएर एसिडोसिस हुन्छ । मिर्गौलाले यसलाई निरन्तर निकालिरहेको हुन्छ । मिर्गौला बिरामी भयो भने हामी खतरामा पर्छाैं ।

यसमा एउटा प्रश्न के सोध्न सकिन्छ भने एसिडिक फूड खानाले एसिडोसिस हुन्छ ? उत्तर हो–हुँदैन । अम्लीय वा क्षारीय खाना खाएर एसिडोसिस वा अलकेलोसिस हुने होइन । बढी अम्लीय वा पिरो खाएपछि एसिडिटी हुन्छ, एसिडोसिस होइन । एसिडोसिस र एसिडिटी भिन्न–भिन्न प्रक्रिया हो । एसिडिटी पेटमा हुने जलन मात्र हो, तर एसिडोसिस मेटाबोलिक प्रक्रिया हो, जुन सिस्टमको खराबीले पैदा हुन्छ । उदाहरणको लागि जब इन्सुलिन हुँदैन तब कार्बोहाइड्रेडको मेटाबोलिज्म पनि हुँदैन । तब लिपिडबाट ऊर्जा प्राप्त हुन्छ, जहाँ भारी मात्रामा कार्बनडाइअक्साइडको उत्पादन हुन्छ, जसलाई फोक्सोले निकाल्न असमर्थ भएपछि किटोएसिडोसिस हुन्छ । मतलब मेटाबोलिज्मको गडबडी, फोक्सोको अक्षमताले एसिडोसिस हुन्छ । मिर्गौला फेल भई एच आयन निकाल्न नसकेपछि एसिडोसिस हुन्छ । त्यस्तै डायरियामा बढी एलोक्ट्राइटको बर्बादीले अल्केलोसिस हुन्छ । तपाईं कागती वा अमला खानुस् । खाने बेला ती अम्लीय हुन्छन् । तर पचाउनलाई प्रोसेसिङ गर्दा क्षारमा परिवर्तित हुन्छन् । अनि कसरी हुन्छ एसिडोसिस ? तर एसिडिटी भने हुन सक्छ । त्यो अमाशयको ग्रन्थिको बढी स्रावको प्रतिफल हो । त्यो अम्लीय खाना वा अन्य खानाले पनि हुन स्रक्छ । पिरो त अम्लीय हुँदैन  । तर त्यसले गैस्ट्रिक ग्रन्थिलाई उत्तेजित पारिदिन्छ । अनि हुन्छ एसिडिटी । एसिडिटी सतही कुरा हो र त्यसले कुनै जोखिम हुँदैन । तर एसिडोसिस र अल्केलोसिस धेरै डीप र लाइफथ्रेटेनिङ कुरा हुन् । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here