- उमाशङ्कर द्विवेदी
जन्मेजय, शिखण्डी, यशोधर, नकुल, सहदेव, द्रौपदीका पाँच पुत्र, प्रभद्रकगण, द्रुपद, विराट, सात्यकि, केकयकुमार र अर्जुन–यी सबै द्रोणलाई मारिहाल्नका लागि चारैतिरबाट आक्रमण गरून् । यसै प्रकार हाम्रा रथी, हात्तीसवार, घोडसवार र पैदल योद्धा पनि महारथी द्रोणलाई रथमा मारी खसाल्ने प्रयास गरून् ।
पाण्डुनन्दन युधिष्ठिरको यस्तो आज्ञा भएपछि सबै सैनिकले द्रोणको वध गर्नको निम्ति उनीमाथि जाइलागे । उनीहरूलाई अनायास आफूतिर आइरहेको हेरेर द्रोणाचार्यले आफ्नो पूर्ण शक्ति प्रयोग गरी उनीहरूलाई अगि बढ्नबाट रोके । अनि राजा दुर्योधनले पनि आचार्यको जीवनरक्षा गर्नको लागि पाण्डवहरूमाथि धावा गरे । त्यति बेला बडे बडे महारथीहरू निद्राथकित भइरहेका थिए । थाकेकाले उनीहरूको आङ थिलिएको थियो । के गर्ने हो भन्ने उनीहरूले ठम्याउन सकिरहेका थिएनन् । त्यो भयानक अद्र्धरात्रि निद्रान्ध सैनिकहरूको लागि हजारौं प्रहरको भएझैं लागिरहेको थियो । कसैमा पनि युद्ध गर्ने उत्साह बाँकी रहेको थिएन, सबै शिथिल तथा दीन भइरहेका थिए । तपाईंका तथा शत्रुहरूको पनि सैनिकहरूसित न कुनै अस्त्र थियो, न बाण नै । तैपनि क्षत्रिय धर्मको पालना गर्दै ती सेनाको परित्याग गर्न सक्दैनथे । केही त निद्रामा यति अन्धो भइसकेका थिए कि हतियार फालेर सुत्न पो पुगेका थिए । कोही हात्तीमाथि, कोही रथमाथि र कोही घोडामाथि नै निदाउन थालेका थिए । घोर अँध्यारोमा निद्राको कारणले आँखा बन्द भएर पनि शूरवीरहरूले आफ्ना शत्रुपक्षका वीरहरूको संहार गरिरहेका थिए । कोही त निद्राले सुद्धि हराएको कारण शत्रुले मारिरहँदा पनि चाल पाइरहेका थिएनन् ।
सैनिकहरूको यस्तो अवस्था हेरेर अर्जुनले समस्त दिशाहरूलाई निनादित गर्दै जोडले भने– योद्धाहरू हो, यतिबेला तिमीहरूको वाहन थाकिसकेका छन्, तिमीहरू पनि निद्राले थकित भइसकेका छौ । त्यसैले यदि तिमीहरूलाई स्वीकार छ भने अलिकबेरको लागि युद्ध बन्द गरेर यही सुतिहाल । फेरि चन्द्रोदय भएपछि निद्राको वेग न्यून भई थकान मेटिएपछि दुवै दलका सेनाहरूले पुनः युद्धको थालनी गरून् ।
धर्मात्मा अर्जुनको कुरा सबैले मानी युद्ध रोकेर विश्राम गर्न थाले । अर्जुनको सो प्रस्तावको देउता र ऋषिहरूले पनि सराहना गरे । विश्राम मिलेपछि तपाईंका सैनिकहरूलाई पनि बडो सुख प्राप्त भयो । उनीहरूले अर्जुनको प्रशंसा गर्दै भन्न थाले–महाबाहु अर्जुन, तपाईंसित वेद, अस्त्र, बुद्धि, पराक्रम र धर्म सबै थोक छ । तपाईंलाई जीवहरूमाथि दया गर्न आउँछ । तपाईंले हामीलाई दिएको आरामको साटो हामी पनि भगवान्सित प्रार्थना गर्छौं कि तपाईंको कल्याण होस् । वीरवर, तपाईंको सबै मनोरथ शीघ्र नै पूर्ण होओस् ।
यस प्रकार अर्जुनको प्रशंसा गर्दै उनीहरू निद्राको वशीभूत भएर सुतिहाले । कोही घोडाको पिठ्यूँमाथि सुतेका थिए भने कोही रथमैं उत्तानो परेका थिए । केही सैनिक हात्तीमाथि सुतेका थिए भने केही सैनिक त भुइँमैं पल्टेका थिए । नाना प्रकारका आयुध, गदा, तरबार, बञ्चरो, प्रास र कवच धारण गरेर नै भिन्दाभिन्दै लडेका थिए । राजन्, त्यति बेला अत्यन्त थकित भएका हात्ती, घोडा र सैनिक सबै युद्धमा विश्राम पाएर गहिरो निद्रामा सुतिहाले ।
तदन्तर दुई घडीपछि पूर्व दिशामा ताराहरूको तेजलाई क्षीण पार्दै भगवान् चन्द्रदेवको उदय भयो । क्षणभरिमैं सम्पूर्ण जगत् प्रकाशमान भइहाल्यो । चन्द्रकिरणको सुकोमल स्पर्शबाट सम्पूर्ण सेना बिउँतियो । अनि उत्तम लोक पाउने इच्छा राख्ने दुवै दलका योद्धाहरूबीच लोकसंहारकारी सङ्ग्राम आरम्भ भयो ।
त्यति बेला दुर्योधन द्रोणाचार्यको छेउमा गएर उनको उत्साह तथा तेजलाई उत्तेजना दिनको लागि क्रोधपूर्वक भने–आचार्य, यतिबेला शत्रु थाकेर विश्राम गरिरहेका छन्, उनीहरूको उत्साह हराएको छ र खासमा भन्ने हो भने हाम्रो दाउमा अल्झिइसकेका छन् । यस्तो अवस्थामा युद्धमा उनीहरूमाथि कुनै पनि प्रकारको मोलाहिजा हुनुहुँदैन । आजसम्म हामीले यस्तो मौकामा तपाईंलाई प्रसन्न पार्नको लागि हरेक प्रकारले क्षमा गर्दै आएका छौं । त्यसको फल यो भएको छ कि पाण्डव थकित भएर पनि औधी बलवान् हुँदै गएका छन् । ब्रह्मास्त्र आदि जति पनि दिव्यास्त्रहरू छन्, ती सबै यदि कोही एकजनासित छ भने त्यो मानिस तपाईं नै हुनुहुन्छ । संसारमा पाण्डव वा हामी कोही पनि धनुर्धर युद्धमा तपाईंको समानता गर्न सक्दैन । द्विजवर, त्यसैले कति पनि सन्देह छैन कि तपाईं आफ्नो दिव्यास्त्रहरूबाट देउता, असुर र गन्धर्वहरूसहित तीनै लोकको संहार गर्न सक्नुहुन्छ । यति शक्तिशाली भएर पनि तपाईं पाण्डवहरूलाई आफ्नो शिष्य भन्ठानेर अथवा मेरो दुर्भाग्यको कारणले उनीहरूलाई क्षमा गर्दै जानुहुन्छ । क्रमशः…।