- बैधनाथ श्रमजीवी
यतिबेला जाडोको चपेटामा पूरै देश परेको छ । दिनदिनै चीसोले कठ्याङ्ग्रिएर मानिसहरू मरेका समाचारहरू सुन्नुपरिरहेको छ । असावधानीले गर्दा चीसोबाट बच्न बालिएको आगोबाट घरहरू सखाप भएका समाचारहरू सुन्नुपरिरहेको छ । वास्तवमा गरीबको लागि चीसो भनेको अघोषित मृत्यु नै हो । गरीबहरूको घरटहरा तारामण्डले छाना भएको, वातानुकूलित भित्ताहरू भएको जसबाट कुकुर, बिरालोहरू बाहिर र भित्र आउने जाने सुविधा भएको अवस्थाले गर्दा शीतलहरका लहरहरू घरभित्रैसम्म सजिलै जाँदो रहेछ । राति खाएर सुतेका बच्चा, वृद्ध भोलिपल्ट मृतावस्थामा ओछ्यानमा भेटिन्छन् । चीसोको यो अवस्था अति डरलाग्दो छ, यतिबेला खासगरी मध्य तराईमा । बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषामा शीतलहरले जनजीवन अत्यन्तै प्रभावित भएको छ । के हो त यो शीतलहर ? कसरी उत्पन्न हुन्छ र यसबाट बच्ने उपाय के के छन् ? आउनुस् यसबारे थोरै छलफल गरौं ।
बिहानको सूर्याेदयसँगै धर्तीमा तापक्रम बिस्तारै बढ्दै मध्याह्न अर्थात् दिउँसोसम्ममा उच्च बिन्दुमा पुग्छ तर तापक्रम सूर्यास्तसँगै घटेर सूर्याेदय हुनुअघि न्यून बिन्दुमा झरिसकेको हुन्छ । राति सौर्यकिरण नहुने हुँदा पृथ्वीमा तापक्रम क्रमशः घट्दै न्यूनतिर झर्छ । यस्तोमा सापेक्षिक आद्रता कम भएका बेला जलवाष्प जलकणमा परिणत हुन्छ । त्यही जलकणलाई बोलीचालीको भाषामा कुहिरो भनिन्छ । कुहिरो लागेको बेला पृथ्वीको सतह र नजीकको वायुमण्डल चीसो र त्यसभन्दा माथिल्लो भागको वायुमण्डल न्यानो हुन्छ । दिन छिप्पिंदै जाँदा पृथ्वीको सतहको तापक्रम पनि बढ्दै जान्छ र वायुमण्डलको जलकण फेरि जलवाष्पमा परिणत हुन्छ । अर्थात् कुहिरो हट्छ । तर यदि कुहिरोको तह बाक्लो भएर आवश्यक मात्रामा सौर्यकिरण पृथ्वीको सतहसम्म आउन सकेन भने दिनभरि कुहिरो हट्दैन । हो, यही अवस्थालाई शीतलहर भनिन्छ ।
न्यून तापक्रम, जलवाष्पको प्रचुरता, प्रशस्त धूलीकण र बादल हटाउन पुग्ने सौर्यकिरण पृथ्वीको सतहसम्म नआइपुग्नु शीतलहरको लागि उपयुक्त वातावरण हो । यस्तो बेलामा मध्याह्नमा समेत सूर्यको किरण बादलको माथिल्लो भागबाटै परावर्तन भएर जान्छ । सौर्यकिरणले कुहिरो छिचोल्न नसकेपछि पृथ्वीको सतहमाथि बादल हट्दैन र शीतलहर कायम रहन्छ । हप्तौंसम्म कुहिरो रहने भएकाले यस्तो अवस्थालाई शीतलहर भनिएको हो । मौसमविज्ञहरूका अनुसार पृथ्वीमा बढ्दो कार्बन उत्सर्जन तथा पर्यावरणीय प्रदूषणले शीतलहर वा गर्मीका महीनामा लु जस्ता प्रकोप अत्यधिक मात्रामा बढ्दै गएको देखिन्छ ।
शीतलहरबाट जोगिनको लागि गाउँघरमा आगो ताप्ने प्रचलन निकै पुरानो छ । तराईतिर सानो आकारमा खाल्डो खनेर त्यसमाथि गुइँठा, पराल भुसा, ससाना दाउराको प्रयोग गरेर आगो बालेर ताप्ने गरिन्छ । यसलाई घुर भनिन्छ । खासगरी गरीबहरूका घरघरमा तराईमा घुर बालेको हेर्न सकिन्छ । आजको आधुनिक युगमा हुनेखानेहरूको घरमा महँगो एसी तथा रूम हिटरहरू प्रयोग गरिए तापनि गरीबहरू अझै पनि घुरबाटै कठ्याङ्ग्रिदो जाडोबाट जोगिएका छन् ।
घुरको प्रयोगमा थोरै पनि असावधानी हुँदा केटाकेटी तथा वृद्धवृद्धा आगोमा जल्ने, अङ्गभङ्ग हुने तथा ज्यानैसमेत जानेसम्म दुर्घटनाहरू प्रत्येक वर्ष घट्ने गरेका देखिन्छन् । त्यसैले घुरबाट वृद्धवृद्धा तथा बालबच्चाहरूलाई टाढा राख्न जरुरी छ । मानिसहरूका विभिन्न क्रियाकलापले गर्दा पनि शीतलहर बढ्दै गएको छ । इन्धनको अत्यधिक प्रयोग, इँटाभट्टा, डढेलो, विषाक्त धूवाँ–धूलो, फोहोर, हरितक्रान्ति आदि कारणले लामो समय जमीन चीसो रहन थालेको छ, जसले शीतलहर चल्ने वातावरण बन्छ । अपर्याप्त वर्षा, भौगोलिक अवस्थिति, हावाको बहाव आदिले शीतलहरको वातावरणलाई अझ अनुकूल बनाउँछ । आँधीबेहरी आउँदा वा पानी पर्दा बाक्लो बादल फाटेर शीतलहर हट्छ । हिउँदे झरी नहुनु वा घट्नुलाई पनि शीतलहर हुनुको कारण मानिएको छ ।
पश्चिमी वायु सक्रिय हुँदा हिउँदे झरी पर्छ । नेपालमा सामान्यतया पुसको पहिलो साता शुरू हुने हिउँदे झरी पछि सर्दै गएको मौसम विभागको अभिलेखले देखाउँछ । हिउँदे झरीलाई प्रभावित पार्ने सन् २०१४ यता थपिएको तत्व हो, एल–निनो । प्रशान्त महासागरको भूमध्य रेखास्थित पूर्व र मध्य भागको सतहको पानी औसतभन्दा बढी तात्ने प्रक्रियालाई एल–निनो भनिन्छ ।
नेपालमा तीव्र बनेको शीतलहरको कारण भने खासगरी भारतको औद्योगिकीकरण र कृषिलाई मानिन्छ । उद्योग–कलकारखानाबाट निस्कने धूवाँ र धूलो मिसिएपछि कुहिरो प्रदूषित हुन्छ । त्यो प्रदूषित कुहिरो (स्मग) छिचोलेर सूर्यको किरण जमीनसम्म आउन नसक्दा शीतलहर चल्छ । नेपालमा मनसुनी वर्षाको याममा बाहेक अरू बेला वायुको चाप पश्चिमबाट पूर्व बहने हुँदा उत्तरी भारतको प्रदूषण स्वतः आइपुग्छ । जसरी सयौं वर्षदेखि भारतले नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गर्दै आइरहेको छ, ठीक त्यसैगरी भारतीय प्रदूषण खासगरी उत्तर प्रदेश र बिहारका प्रदूषित कुहिरो मध्य नेपालमा शीतलहरको रूपमा कहर वर्षाउँदै आएको छ ।
निर्वाचनको समयमा विभिन्न राजनीतिक दलहरू विकास र समृद्धिको ढ्वाङ फुक्न कुनै कसर बाँकी राख्दैनन् तर यतिबेला कुनै पनि दलले मध्यतराईका जिल्लाहरूमा गरीब निमुखाहरूलाई न्यानो लुगा वितरण गरेको तथा पोषिलो खानेकुराहरूको व्यवस्था गरेको देखिंदैन । वास्तवमा शीतलहरबाट जोगिनको लागि सबैभन्दा ध्यान दिनुपर्ने कुरा नै दुर्ईवटा हो । पहिलो पोषणयुक्त खाना र दोस्रो न्यानो लुगा । यी दुवै कुराको अभाव बहुसङ्ख्यक नागरिकले वर्षाैंदेखि झेल्दै आएका छन् । यसतर्फ सरकारको कुनै ध्यान गएको छैन । एकातिर नेपाली गरीब, दीनदुःखीहरूको नियति नै वर्षात्मा बाढीले बगाएर तथा पहिरोले पुरिएर साथै हिउँदमा शीतलहरमा कठ्याङ्ग्रिएर मर्नु जस्तै हुन पुगेको छ । अर्काेतिर हुनेखानेहरू मध्यमवर्गीयहरूको जाडो छल्ने क्रममा भएको सामान्य हेलचेक्र्याइँले धेरैको ज्यान गएको छ । कोठा न्यानो बनाउन ब्रिकेट, कोइला, दाउरा, भुस बाल्दा वा हिटर चलाउँदा गन्ध र रङरहित कार्बनडाइअक्साइड, कार्बन मोनोअक्साइडलगायतका ग्याँस निस्कने कुरामा धेरैको ध्यान पुग्दैैन । न्यानोको आसमा त्यसरी सुतेकाहरू थाहै नपाई मृत्युको मुखमा पुग्छन् । सास लिंदा शरीरभित्र जाने धूवाँले रगतमा अक्सिजन घटाउँछ । सामान्यतः मानिसको रगतमा अक्सिजनको मात्रा ९० प्रतिशत हुनुपर्छ । निकासविनाको कोठामा धूवाँ हुँदा अक्सिजनको मात्रा घट्छ । त्यस्तो कोठामा सुतेको मानिसको रगतमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशत भएपछि लट्ठिन थाल्छ र ७० प्रतिशतमा बेहोश हुन्छ । अक्सिजन त्यसभन्दा पनि घट्दै गएपछि मुटुको धड्कन धेरै धड्किएर बन्द भई थाहै नपाई मृत्यु हुन पुग्छ । चीसो मौसममा टम्म न्यानो लुगा लगाउने, खुला स्थानमा धेरै नबस्ने, तातोपानी र झोलिलो खानेकुराहरू धेरै खानुपर्छ । गाउँँघरमा पाइने गुन्द्रुक, लसुन, अदुवा, भटमास जाडोमा बढी गुणकारी भएपनि स्वास्थ्य चेतनाको अभावले ती कुराहरूको नियमित सेवन गर्दैनन्, बरु उल्टो पानी वा झोलिलो पदार्थ बढी खाएमा दिसापिसाब गर्न बढी जानुपर्ने हुन्छ भन्दै गर्मी मौसममा भन्दा कम तरल पदार्थ सेवन गर्छन् ।
जेहोस्, शीतलहरबाट जोगिनको लागि निम्नलिखित कुराहरूमा ध्यान पु¥याउन जरुरी छः–
१) शरीरका सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाऔं ।
२) कोठा न्यानो पारौं र पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था गरौं ।
३) बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीहरूलाई चीसोबाट बचाऔं ।
४) आमाको दूध खाने बच्चालाई नियमितरूपमा स्तनपान गराऔं ।
५) तातो तथा पोषिलो झोल पदार्थहरू प्रशस्त मात्रामा सेवन गरौं ।
६) धुम्रपान तथा मध्यपान नगरौं ।
७) स्वास्थ्यसम्बन्धी कुनै समस्या जस्तैः ज्वरो, झाडापखाला, दम, खोकी लागेमा, सास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौं ।
८) सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला, ब्रिकेट आदि बाली झ्याल ढोका बन्द गरेर कहिल्यै नसुतौं । त्यसो गरेमा निसास्सिएर मृत्युसमेत हुन सक्छ ।
९) आगो बालेको ठाउँमा बच्चाहरूलाई एक्लै नछोडौं ।
१०) बिहान घाम नलागेसम्म बाहिर खुला सडकमा वा मैदानमा मर्निङवाक नगरौं ।
शीतलहर हामी रोक्न सक्दैनौं तर माथिका उपायहरू अवलम्बन गरेर यसको प्रकोपबाट हामी जोगिन अवश्य सक्छौं ।