प्रस, वीरगंज, २० पुस/
माउन्ट एडमन्ड माध्यमिक विद्यालयले ३९औं विद्यालय दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा मधेस प्रदेशसभाका सदस्य शङ्कर चौधरीले महानगरपालिकै पुराना संस्थागत विद्यालयहरूमध्ये एक यस विद्यालयबाट उत्पादित विद्यार्थीहरूले आफ्नो विशेष पहिचान बनाउन सफल भएकामा विद्यालयको टीमवर्क प्रभावशाली रहेको बताए ।
विद्यालयका निर्देशक फजिल मियाँ तेलीले विद्यालय विकासको लागि अभिभावकहरूसँग नियमित संवादको क्रमलाई निरन्तरता दिंदै यहाँका विद्यार्थीहरू अनुशासन, प्रतिस्पर्धा र गुणस्तरमा विशिष्ट रहेको दाबी गरे ।
प्रधानाध्यापक अनन्तकुमारलाल दासले विद्यालयको संक्षिप्त चिनारी प्रस्तुत गर्दै वर्तमान अवस्थामा सामाजिक तथा सांस्कृतिक विकृति र विसङ्गतिको चङ्गुलमा बालबालिकाहरू नराम्ररी फसेको चर्चा गर्दै उनीहरूलाई त्यसबाट जोगाउन विपश्यना ध्यान शिविरमा नियमित सामेल गराइ सोको अभ्यास नियमित कक्षागतरूपमा दिइरहेको भन्दै असल प्रयत्नलाई हौंस्याउँदै विद्यालय अगाडि बढेको बताए ।
कार्यक्रममा कक्षा ८ की रीजा श्रेष्ठ र कक्षा ९ की काजल चौधरीलाई सर्वोत्कृष्ट विद्यार्थी घोषित गर्नुका साथै उनीहरूका आमाबुबालाई उपहारसहित सम्मानित गरिएको थियो ।
अन्तर सदन खेलकूद प्रतियोगिताका विजयी खेलाडीहरूलाई विशिष्ट व्यक्तिहरूद्वारा प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण क्रमशः कक्षा १० की विपेक्षा सुवेदी, लिजा श्रेष्ठ, नैन्सी सर्राफ र कक्षा ९ की मोनिका गोलेले गरेका थिए । कार्यक्रममा पशुपति विक्रम शाह, जीतेन्द्रपुरुष ढकाल, ब्लड डोनर्स एशोसिएशनका सचिव अरविन्द सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
अन्तर सदन प्रतियोगितामा अङ्कको आधारमा प्रथम हुने अन्नपूर्ण सदनलाई नगद रु ३,५००, द्वितीय हुने कञ्चनजंघा सदनलाई रु २,५०० र तृतीय हुने सगरमाथा सदनलाई रु १,५०० ले सम्मानित गरिएको थियो ।
कार्यक्रममा छात्रछात्राहरूले देशका विभिन्न भागका संस्कृति झल्किने झिझिया, नेवारी, तामाङ, थारूलगायतका नृत्यहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अभिभावकहरूको तर्फबाट राजकुमार श्रेष्ठ र सङ्गीता चौधरीले मन्तव्य व्यक्त गर्दै मध्यम वर्गका लागि यो विद्यालय उत्कृष्ट रहेको र वर्तमान सन्दर्भमा छोराहरू बिग्रिंदै गएकाले उनीहरूमाथि विशेष ध्यान दिनुपर्ने कुरा औंल्याएका थिए ।
प्रमुख अतिथि प्रदेशसभा सदस्य चौधरीले केक काटी कार्यक्रमको शुभारम्भ गरेका थिए भने अर्का निर्देशक रमेश कुशवाहाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।