प्रस, वीरगंज, २० पुस/
वीरगंज महानगरपालिका कार्यालयले बुधवार महानगरमा रहेका २३८ वटा विद्यालयका ३१८ जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरेको छ ।
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले आज आयोजित कार्यक्रममा कसैलाई काखापाखा नगरीकन छात्रवृत्ति वितरण गरिएको बताए । उनले छात्रवृत्ति समिति बनाएको र परीक्षामा उत्तीर्ण भएका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको दाबी गरे । छात्रवृत्ति वितरणमा पनि आफूलाई चिनेजानेका साथीभाइहरूबाट सिफारिशका लागि दबाब आएको र कतिपय साथीका छोराछोरी छात्रवृत्तिबाट वञ्चित भएपछि उनीहरू रिसाएका हुन सक्ने बताए । गरीब जेहेन्दार विद्यार्थीहरूले निश्शुल्क अध्ययन गर्न पाऊन् भनेर महानगरले छात्रवृत्ति सञ्चालनमा ल्याएको बताए ।
महानगरका शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले ९० वटा संस्थागत र १४८ वटा सामुदायिक विद्यालयका ३१८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बताए । उनले छात्रवृत्ति वितरणमा समावेशी सिद्धान्तको पालना गरिएको दाबी गरे । उनले कक्षा ९ मा १५१ जनाको आवेदन परेको तर ११९ जना मात्र परीक्षामा सहभागी भएकामा ९९ जना उत्तीर्ण भएको बताए ।
यसैगरी, कक्षा १२ बाट एक हजार २६८ जनाको आवेदन परेकामा परीक्षामा एक हजार १३६ जना सहभागी भएका र २१९ जना उत्तीर्ण भएको बताए । छात्रवृत्तिको लागि आवेदनमा विद्यालयमा ८० प्रतिशत उपस्थिति जनाएका विद्यार्थीहरूलाई सामेल गरिएको उनले बताए । बालविवाह गरेका र परीक्षामा अनुतीर्ण हुनेहरूलाई छात्रवृत्तिमा सामेल नगरिएको उनले प्रस्ट्याए ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले प्रतिस्पर्धाका आधारमा छात्रवृत्ति वितरण गरिएको र छात्रवृत्ति पाएका विद्यार्थीहरूलाई राम्रोसँग अध्ययन गर्न र यसपटक असफल भएकाहरूलाई अर्काे छात्रवृत्तिका लागि राम्रोसँग तयारी गर्न सुझाए ।
कार्यक्रममा वडाध्यक्ष जगतसाह कानू, शिक्षक नरेन्द्रलाल कर्ण, विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिकाहरूको सहभागिता थियो ।