- उमाशङ्कर द्विवेदी
धृतराष्ट्रले सोधे– सञ्जय, अब अगाडिका कुरा बताऊ । घटोत्कच मारिएपछि कौरव र पाण्डवको बीचमा कुन प्रकारले युद्ध भयो ?
सञ्जयले भने– महाराज, कर्णद्वारा घटोत्कच राक्षस मारिएपछि तपाईंका सैनिकहरू बडो प्रसन्न भए । उनीहरूले उच्च स्वरमा गर्जना गर्दै बडो वेगले यताउति दगुर्न थाले । उता त्यस घोर अन्धकारमय रजनीमा पाण्डवसेनाको संहार भइरहेको थियो, जसको कारण राजा युधिष्ठिरको मन अमिलो भइसकेको थियो । उनले भीमसेनसित भने– महाबाहो, धृतराष्ट्रको सेनालाई रोक, म त घटोत्कचको मरणले निकै अतालिएको छु, मबाट केही पनि हुन सक्दैन । यति भनेर उनी आफ्नो रथमा गएर बसे । आँखाबाट आँसु बग्न थाल्यो । उच्छ्वास चल्न थाल्यो । त्यति बेला कर्णको पराक्रम हेरेर उनी निकै अधीर भइसकेका थिए ।
उनको यो दशालाई हेरेर भगवान् श्रीकृष्णले भने– कुन्तीनन्दन, तपाईंले खेद नगर्नुहोस् । तपाईंलाई यस्तो व्याकुलता सुहाइरहेको छैन । यस्तो त अज्ञानी पुरुषलाई मात्र सुहाउँछ । उठ्नुहोस् र युद्ध गर्नुहोस् । यस महासङ्ग्रामको गुरुत्तरभार सम्हाल्नुहोस् । तपाईं आत्तिएपछि विजय प्राप्तिमा सन्देह उत्पन्न हुनेछ । श्रीकृष्णको कुरा सुनेर युधिष्ठिरले आँखाको आँसु पुच्छदै भने– महाबाहो, मलाई धर्मको गतिबारे थाहा छ, जो मानिस कसैले गरेको उपकारलाई मान्दैन, त्यसलाई ब्रह्महत्याको पाप लाग्छ । जनार्दन, घटोत्कच अझै बालक नै थियो, तैपनि अर्जुन अस्त्रप्राप्तिको लागि तप गर्न गएको थाहा पाएर वनमा हामीहरूको बडो सहायता गरेको थियो । यसै प्रकार यस महासमरमा पनि उसले हाम्रोलागि बडो कठिन पराक्रम गरेको थियो । ऊ मेरो भक्त थियो, मसित माया गर्दथ्यो तथा मेरो पनि उसमाथि बडो स्नेह थियो । त्यसैले उसको मृत्युको कारणले म शोकसन्तप्त भइरहेको छु, घरीघरी मूर्छा लागिरहेको छ । भगवन्, हेर्नुहोस्, कौरव कुन प्रकारले हाम्रो सेनालाई लखेटिरहेका छन् तथा महारथी द्रोण र कर्ण कतिको सावधान देखिइरहेका छन्, कुन प्रकारले हर्षनाद गरिरहेका छन् ? जनार्दन, तपाईं र म जिउँदा जिउँदै घटोत्कच कर्णको हातबाट कसरी मारियो ? अर्जुनले हेर्दाहेर्दै ऊ कसरी मारियो ? वीरवर, अब म कर्णलाई स्वयंले नै मार्नको लागि जानेछु । यति भनेर उनी आफ्नो धनुषलाई टङ्कार्दै बडो उत्ताउलो पारामा हिंडे ।
यो हेरेर भगवान् श्रीकृष्णले अर्जुनसित भने– राजा युधिष्ठिर कर्णलाई मार्न भनेर जान लागेका छन् । यतिबेला यिनलाई एक्लो छाड्न ठीक हँुदैन । यति भनेर उनी बडो शीघ्रताको साथ घोडालाई हाँक्दै अलि टाढा पुगिसकेका राजालाई समाते । यत्तिकैमा भगवान् व्यासजी उनको समीपमा प्रकट भएर भने–कुन्तीनन्दन, यो बडो सौभाग्यको कुरा हो कि कर्णको साथ कैंयनपल्ट मुठभेट भएर पनि अर्जुन जीवित बाँचेका छन् । कर्णले अर्जुनलाई मार्नकै लागि इन्द्रले दिएको त्यो शक्तिलाई साँचिराखेका थिए । द्वैरथ युद्धमा अर्जुन नगएकै जाति भयो । यदि अर्जुन गएको भए कर्णले उनीमाथि नै शक्ति प्रहार गर्ने थिए, यस्तो स्थितिमा तिमी झन् भयङ्कर विपत्तिमा पर्ने थियौ । सूतपुत्रको हातबाट घटोत्कच मारिनु जाति नै भयो । कालले नै इन्द्रको शक्तिबाट उसको नाश गरेको हो–यस्तो सम्झेर तिमीले शोक र क्रोध गर्नुहुन्न । युधिष्ठिर, सबै प्राणीको एक दिन यही गति हुन्छ । त्यसैले तिमीले चिन्ता छाडेर आफ्ना सबै भाइको साथ कौरवहरूको सामना गर । आजभन्दा पाँच दिनपछि यस पृथ्वीमाथि तिम्रो अधिकार भइहाल्नेछ । सदैव धर्मको चिन्तन गरिराख । दया, तप, दान, क्षमा र सत्य आदि सद्गुणहरूको प्रसन्नतापूर्वक पालना गर । जता धर्म हुन्छ, त्यसै पक्षको विजय हुन्छ । यति भनेर व्यासजी त्यही अन्तर्धान भइहाले ।
सञ्जय भन्छन्– व्यासजीले यस प्रकार सम्झाइबुझाइ गरेपछि युधिष्ठिरले स्वयम् कर्णलाई मार्ने विचार त्यागे तर धृष्टद्युम्नसित भने– वीरवर, तिमीले द्रोणाचार्यको सामना गर, किनकि उनको विनाश गर्नको लागि नै तिमी धनुषबाण, कवच र तरबारको साथ अग्निबाट उत्पन्न भएका थियौ । पूर्ण उत्साहको साथ द्रोणमाथि धावा गर । तिमीले त उनीसित कुनै प्रकारले भयभीत हुनुहँुदैन । जन्मेजय, शिखण्डी, यशोधर, नकुल, सहदेव, द्रौपदीका पाँच पुत्र, प्रभद्रकगण, द्रुपद, विराट, सात्यकि, केकयकुमार र अर्जुन–यी सबैका सबै द्रोणलाई मारिहाल्नका लागि चारैतिरबाट आक्रमण गरून् । यसै प्रकार हाम्रा रथी, हात्तीसवार, घोडसवार र पैदल योद्धा पनि महारथी द्रोणलाई रथमा मारिखसाल्ने प्रयास गरून् । क्रमशः…।