• विश्वराज अधिकारी

भोजन व्यवस्था

अमेरिकीहरू माछामासु बढी खान्छन् र तरकारी तथा हरियो सागपात खाँदैनन् भन्ने धेरै व्यक्तिमा ठूलो भ्रम छ । तर त्यस्तो होइन रहेछ । अमेरिकीहरू एशियालीभन्दा माछामासु बढी खान्छन्, त्यो सत्य हो र उनीहरूको प्रायः हरेक खानामा मासुको केही अंश हुन्छ नै । पिज्जा होस्, सेन्डविच, बर्गर वा अन्य प्रायः हरेक खानामा मासुको सानो ठूलो अंश अवश्य हुन्छ । तर अमेरिकीहरू सागपात पनि उत्तिकै खान्छन् । माछामासु खाए जत्तिकै सागपात पनि खान्छन् । मासुको तुलनामा माछा भने कम खान्छन् । मासुमा बढी बिफ, पोर्क, चिकेन र टर्की खान्छन् । नेपालीहरूले दशैंमा खसीको मासु खाएझैं अमेरिकीहरूले थैंक्सगिभिङमा अनिवार्य किसिमले टर्कीको मासु खान्छन् । दशैं नेपालीहरूको ठूलो चाड भएझै थैंक्सगिभिङ अमेरिकीहरूको ठूलो चाड हो ।

अमेरिकीहरूको सागपात खाने तरीका भने पृथक छ । सागपात र तरकारी पकाएर खाँदैनन् । अमेरिकीहरू सागपात नपकाएर, हरियो अवस्थामा, काँचै खान्छन् । काउली, ब्रोकाउली, गाजर, बन्दाकोभी, सलगम, लेटस, सेलेरी आदि सागपात एवं तरकारी नपकाएरै खान्छन् । दक्षिण एशियालीहरू सागपात वा तरकारी काँचै नखाएर, पकाएर खाएझैं अमेरिकीहरूले गर्दैनन् । दक्षिण एशियामा केवल फलफूल मात्र काँच्चै खाने, अन्य सागपात एवं तरकारी पकाएर खाने चलन छ । दक्षिण एशियाको सन्दर्भमा सागपात एवं तरकारी पकाएर खाने चलन स्वास्थ्यको लागि कत्तिको उपयोगी हुने हो यो चिकित्सकहरूलाई थाहा होला ।

सागपात वा तरकारी पकाएर खाने हो भने सागपातको पौष्टिक शक्ति नष्ट हुन्छ । हरियो वा काँचै अवस्थामा सागपात खाएमा सागपातमा पाइने लाभकारी तत्व प्राप्त गर्न सकिन्छ । शरीर स्वस्थ राख्नमा काँचो सागपातले सहयोग पु¥याउँछ । यो विश्वासले गर्दा अमेरिकीहरू सागपात काँच्चै खान्छन् । सागपात एवं तरकारी पकाएर खाँदैनन् ।

अमेरिकीहरू प्रायः हरेक खानामा काँचो सागपात मिसाएर खान्छन् । ज्यादै प्रचलित अमेरिकी खाना ‘सेन्डविच’ मा अनिवार्यरूपमा हरियो सागपात मिसाइएको हुन्छ । हरेक खानामा प्रायः प्रत्यक्ष वा अप्रत्यक्ष सागको उपस्थिति हुन्छ नै ।

अमेरिकीहरू सागपातको तुलनामा माछामासु बढी खान्छन् तर माछामासु बढी खाएर सागपात कम खाएको सन्तुलन मिलाउन फलफूल धेरै खान्छन् । सुन्तला, स्याउ, भुइँकटहर, एभोकाडो, गोलभेंडा, अङ्गुर, क्रेनबेरी, ब्लेकबेरी, स्ट्रबेरी, केरा, वाटरमेलनजस्ता फलफूल बढी मात्रामा खान्छन् । कागती, निबुआ र गोलभेंडालाई फलफूल मानेर खान्छन् ।

सागपात र तरकारी नपकाएर काँच्चै खाने अमेरिकी खानपान–परम्परा आफैंमा रोचक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here