दिनेश मिश्र, वीरगंज, १४ पुस/
जगरनाथपुर गाउँपालिका–३ स्थित बाबा बैधनाथ आधारभूत विद्यालय, गोधैयामा भौतिक संरचनाको अभाव रहेकोले पठनपाठनमा समस्या हुने गरेको छ ।
बालविकासदेखि कक्षा ६ सम्मको अध्ययन हुने यो विद्यालयमा जम्मा चारवटा कोठा छन् । चारवटा कोठामा सातवटा कक्षा र कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ । विद्यार्थी सङ्ख्याको कुरा गर्दा यो विद्यालयमा ३२० जना छन् तर सोको अनुपातमा शिक्षकहरू भने छैनन् ।
साधारणतर्फ एकजना प्रधानाध्यापकसहित तीनजना, राहत शिक्षक दुईजना र एकजना कार्यालय सहायक छन् ।
बालविकास कक्षा सञ्चालनमा रहे पनि उनीहरूलाई अध्यापन गराउँदै आएकी एकजना शिक्षिकालाई अन्यत्र सरुवा गरिएको र उनको ठाउँमा अर्को शिक्षक नपठाइएकोले समस्या भएको प्रअ बादशाह साहले बताए । उनले बालविकास कक्षा सञ्चालनमा रहेको आफ्नो विद्यालयबाट बाल शिक्षिकको सरुवा गरिएको र निजको स्थानमा अर्को शिक्षिकलाई दरबन्दीमा नपठाउँदा समस्या भएको बताए । उनले कक्षाकोठाको पनि अभाव भएको बताए । चारवटा कोठा मात्र छन् तर बालविकासमेत गरी सातवटा कक्षा सञ्चालनसहित कार्यालय सञ्चालन गर्दा समस्या भइरहेको उनले बताए ।
कक्षाकोठाको अभावमा घाम लागेको बखत र सामान्य मौसममा तीनवटा कक्षा बाहिर सञ्चालन हुँदै आएको र अन्य समयमा भने चारवटा कोठामा नै सबै कक्षा र कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रअ साहले बताए । उनले विद्यालयमा उपलब्ध जनशक्तिको आधारमा गुणस्तरीय शिक्षा दिने विषयमा सबैजना इमानदार रहेको पनि उनले बताए । समयमा आउने र समयमा जाने परम्परा आफ्नो विद्यालयमा विद्यमान रहेको उनले दाबी गरे । स्थानीय अभिभावकहरूले पनि विद्यालयको शैक्षिक गतिविधि सुधारोन्मुख र सन्तोषजनक भएको तर भवन र जनशक्ति अभाव रहेको बताए ।
अहिले यो विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४० लाख रुपैयाँको लागतमा चारवटा कोठा थप हुने बताए । उनले यो योजना अन्तर्गत कार्य भइरहेको तर निर्माण कार्य पूरा भइनसकेको बताए ।
गापा अध्यक्ष श्रीकान्त यादवले आफू निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि सो विद्यालयको भौतिक संरचना सुधारका लागि संवेदनशील रहेको बताए । उनले गापाको तर्फबाट थप कोठा, पर्खाललगायतका निर्माण कार्यका लागि २० लाख बजेट विनियोजन गरिएको बताए । उनले हाल कक्षा ६ सम्म सञ्चालित उक्त विद्यालयमा क्षमता वृद्धि गर्दै कक्षा १० सम्म पु¥याउने योजना अनुसार कार्य गरिरहेको बताए ।