प्रस, वीरगंज, १४ पुस/
वीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखाले मातहतका स्वास्थ्य चौकीका लागि खरीद गरेको सामानमा अनियमितता गरेको समाचार छ ।
स्वास्थ्य महाशाखाले महानगरभित्र रहेका स्वास्थ्य केन्द्रहरूलाई खरीद गरी पठाएका सामानहरू स्थानीय बजारको दररेटभन्दा बढी मूल्यमा खरीद गर्नुका साथै फरक र गुणस्तरहीन रहेको पाइएको छ ।
महानगरको स्वास्थ्य महाशाखाका कर्मचारी र ठेकेदार मिलेमतो गरी रकम कुम्ल्याउने गरेको आरोप छ । महानगरले चौकीहरूमा पठाएका सामानका सूची तथा सामानका विवरण फरक देखिएको स्वास्थ्य कर्मचारीहरूले बताएका छन् । महानगरले पठाएको सूचीमा सामानको सङ्ख्या पनि फरक देखिएको एकजना स्वास्थ्य कर्मचारीले बताए ।
सानो डिटोल साबुन १२ थान रु २८५ मा खरीद गरिएको छ । ८० एमएमको ताल्चा हुनुपर्नेमा ६५ एमएमको ताल्चा किनेर पठाएको र त्यसको मूल्य रु ४५२ राखिएको छ । कपडा धुने साबुन १२ वटाको रु ४४६, तन्ना तीन थानको रु दुई हजार १५०, पानी तातो गर्ने भाँडाको बजार मूल्य रु ६ सय छ तर महानगरले खरीद गरेको सूचीमा रु ९०४ छ ।
त्यसैगरी, स्वास्थ्य महाशाखाले कलम, इन्डेक्स फाइल, पन्चिङ मेशिन, रेकर्ड फाइल, कपडा धुने साबुन, क्यालकुलेटर, मार्कर, हाइलाटर पेन, टिपेक्स, सर्फलगायतका सामानमा पनि मूल्य मिलेको छैन भने पठाइएका विवरणहरू पनि फरक प्रकृतिका छन् ।
स्वास्थ्य महाशाखा प्रमुख रितेश जैसवालले ठेकेदारको लापरवाही भएको बताए । उनले फरक सामानबारे ठेकेदारसँग सोधनी हुने बताए । उनले ठेकेदारबाट गलती भएको देखिएको स्वीकारेका छन् ।