प्रस, वीरगंज, १३ पुस/

विद्यार्थीलाई अपहरण गरी हत्या गरेको कसूरमा संलग्न दुईजना शिक्षकलाई जिल्ला प्रहरी कार्यालय, पर्साले पत्रकार सम्मेलनमार्फत बुधवार सार्वजनिक गरेको छ ।

जिप्रका, पर्साले पत्रकार सम्मेलन गरी वीरगंज महानगर–२५, खाल्वाटोला श्रीसिया बस्ने श्रीराम पासवानका १४ वर्षीय छोरा नीरज पासवानको अपहरणपछि हत्या गरेको कसूरमा मृतक पासवान अध्ययनरत गुरुकुल पन्ना मेमोरियल इङ्ग्लिश बोर्डिङ स्कूल, अलौंका शिक्षकद्वय दिलीपकुमार पटेल र कृष्णा भन्ने श्यामप्रसाद यादवलाई सार्वजनिक गरेको हो ।

धोबिनी गाउँपालिका–१ घोडदौडपिप्रा निवासी ३० वर्षीय शिक्षक पटेल सोही विद्यालयमा अध्यापन गराउने र मृतक पासवानलाई घरमा ट्युशन पढाउने गर्थे । यसैगरी, अर्का शिक्षक वीरगंज महानगर–१७ अलौं निवासी २४ वर्षीय यादवले अपहरण, फिरौती माग र हत्यामा सहयोगी भूमिका खेलेको प्रहरीको आरोप छ ।

यो अपहरण, फिरौती माग र हत्यामा तीनजना संलग्न रहेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको र दुईजनालाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक कोमल शाहले बताए ।

उनले अपहरण गरिएको दिन मङ्सिर ५ गते नै बालक पासवानको हत्या गरिएको बताए । अपहरण गरेर हात, खुट्टा र मुख बाँधेर राखिएको तर बालकले सबै कुरा खोलेर भाग्न खोज्दा पहिचान सार्वजनिक हुने भयले बालकको हत्या गरिएको प्रउ शाहले जानकारी गराए । उनले बालक अपहरणबारेमा प्रहरीलाई एक दिनपछि घरपरिवारले सूचना गरेको बताए ।

यसैगरी, घटनाको १२ दिनपछि अपहरणकर्ताले मोबाइलबाट पचास लाख फिरौती माग गरेको र सोबारेमा पनि परिवारले एक सातापछि मात्र प्रहरीलाई सूचना दिएको बताए । घटनाकै दिन हत्या गरिएको र सोको लामो समयपछि बालकका पिता श्रीराम महरा दुसादसँग फिरौती माग गरिएकोमा प्रहरीले आफ्नो संयन्त्र परिचालन गरी घटनाको वास्तविकता पत्ता लगाएको, बालकको शव बरामद गरेको र अभियुक्त तीनजनामध्ये दुईजनालाई पक्राउ गर्न सफल भएको बताए ।

उनले अभियुक्तहरूबाट बालकको हत्या भएको स्वीकारसहित शव गाडिएको स्थानको पहिचान भएको र पुस १० गते साँझ ५ बजे बालक अध्ययनरत विद्यालयको पुरानो भवननजीकैको सेप्टिक ट्याङ्कबाट शव बरामद भएको बताए ।

प्रउ शाहले अभियुक्तद्वयविरुद्ध अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा चलाइएको र अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको बताए । घटनामा संलग्न थप एकजनाको खोजतलाश भइरहेको उनले बताए ।

विद्यार्थी र अभिभावकहरूमा सन्त्रास

१४ वर्षीय बालक नीरज पासवानको अपहरणपछि हत्याको घटना सार्वजनिक भएपछि विद्यार्थी र अभिभावकहरूमा त्रासको वातावरण सिर्जना भएको छ । मृतक बालक अध्ययनरत विद्यालयमा र  ट्युशन पनि पढाउने शिक्षकले नै घटना घटाएको कुरा बाहिरिएसँगै शिक्षकहरूसँग विद्यार्थीहरू डराउन थालेका छन् भने अभिभावकहरू आफ्नो बालबालिकाको सुरक्षालाई लिएर चिन्तित भएका छन् ।

अहिले यो घटनापछि अभिभावकहरू बालबालिकाहरूलाई विद्यालय छाड्ने र लिएर आउने कुरामा बढी सजगता अपनाउन थालेको एकजना अभिभावकले बताए । विद्यालयको मात्र भर पर्दा बालबालिकाको सुरक्षामाथि खतरा उत्पन्न हुन सक्ने देखेर अभिभावकहरू सचेत भएका हुन् । यसैगरी, घरमा ट्युशन पढाउने शिक्षकहरूमाथि पनि अहिले शङ्काको वातावरण बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here