प्रस, वीरगंज, १३ पुस/
नेपाल राष्ट्र बैंकको चालू पूँजी कर्जा निर्देशिका तथा बैंकहरूको चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत वीरगंज उद्योग वाणिज्य सङ्घको आह्वानमा बुधवार नेपाल राष्ट्र बैंक, वीरगंज शाखाअगाडि उद्योगी–व्यापारीहरूले धर्ना दिएर विरोध जनाएका छन् ।
नेपाल राष्ट्र बैंकको गलत आर्थिक नीतिले बजार, व्यवसाय तहसनहस भएको आरोप लगाउँदै सङ्घको अगुवाइमा आज आन्दोलनको चौथो दिन नेपाल राष्ट्र बैंकअगाडि उद्योगी–व्यवसायीहरूले धर्ना दिएका हुन् ।
चालू पूँजी कर्जा निर्देशिकाको विरोधमा नेपाल राष्ट्र बैंकअगाडि धर्ना दिएका उद्योगी–व्यापारीहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएको उपाध्यक्ष हरिप्रसाद गौतमले बताए ।
वीरगंज उद्योग वाणिज्य सङ्घबाट निकालिएको विरोध ¥याली नगरपरिक्रमापछि राष्ट्र बैंकअगाडि पुगेर धर्नामा परिणत भएको थियो ।
धर्ना कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेश अध्यक्ष गणेश लाठले राष्ट्र बैंकको गलत मौद्रिक नीति र फितलो अनुगमनको कारण वाणिज्य बैंकहरूले बजारमा तरलताको अभाव देखाएर मनोमानी किसिमले ब्याजदरमा वृद्धि गरेको बताए । उनले विभिन्न नीतिगत जटिलताका विरोधमा आन्दोलन गर्नुपर्ने बाध्यता आएको प्रस्ट्याए ।
धर्ना कार्यक्रममा वीउवासङ्घका पूर्वअध्यक्ष अशोककुमार टेमानी, सचिव आशिष लाठ, होटल व्यवसायी सङ्घका अध्यक्ष हरि पन्त, लुब्रिकेन्ट व्यवसायी सङ्घ, पर्साका अध्यक्ष विकाश ठाकुर, नेपाल औषधि व्यवसायी सङ्घ, पर्साका अध्यक्ष ताजुद्दीन अन्सारी, किराना व्यवसायी सङ्घका अध्यक्ष शङ्कर कुशवाहालगायतले शीघ्र चर्को ब्याजदर चालू पूँजी कर्जा निर्देशिकाको अव्यावहारिक र निजीक्षेत्रमैत्री नरहेका प्रावधान हटाउन माग गरे ।
उनीहरूले शान्तिपूर्ण विरोधलाई प्राथमिकताका साथ लिएर बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर र राष्ट्र बैंकको अव्यावहारिक निर्देशिका तत्काल संशोधन गरेर उद्योग–व्यापारलाई राहत दिन माग गरे ।
शान्तिपूर्ण आन्दोलनको अवज्ञा गरिए सशक्त आन्दोलनमा जानुपर्ने बाध्यता आइपर्ने भन्दै सो अवस्था नआउन दिन पनि सचेत गरे । कार्यक्रमको सहजीकरण वीउवासङ्घका अधिकृत मनोज उपाध्यायले गरेका थिए ।