प्रस, वीरगंज, १३ पुस/

वीरगंज महानगरपालिकाले परिवार नियोजनको अस्थायी साधन सायना प्रेस भोलि बिहीवारदेखि ३२ वटै वडामा रहेको स्वास्थ्य केन्द्रबाट सेवा शुरू गर्ने भएको छ ।

गर्भनिरोधक नयाँ साधन सायना प्रेसबारे बुधवार महानगरमा आयोजित कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूलाई नगरप्रमुख राजेशमान सिंहले सबै वडामा सायना प्रेस पुगिसकेको बताउँदै सो सेवा प्रभावकारी ढङ्गबाट सबैको पहुँचमा पुग्ने गरी लैजान निर्देशन दिए ।

महानगरको स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले सेवाग्राहीलाई सहजताका साथ प्रयोग गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे । उनले महिलाले प्रयोग गर्ने तीन महीने गर्भनिरोधक अस्थायी साधन सायना प्रेस महानगरका सबै स्वास्थ्य चौकी र केन्द्रबाट प्रदान गर्न सकिने बताए । यो सुई गर्भ नचाहनेहरूले एकपटक लगाएपछि तीन महीना गर्भ रोक्ने उनले बताए । यसको प्रभावकारिता स्वास्थ्य सङ्गठनहरूले ९९ प्रतिशत रहेको दाबी गरेको उनले जानकारी गराए ।

महानगरले यो सुईको प्रयोगबारेमा महानगरका स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य कार्यालयमार्फत प्रशिक्षण दिएर दक्ष बनाइ सञ्चालनमा ल्याएको स्वास्थ्य महाशाखाकी इन्दिरा लोहनीले बताइन् । उनले प्रशिक्षणमा ढिला भएको कारण यो सेवामा ढिला हुन गएको बताइन् । धेरै मुलुकमा सेवाग्राही स्वयंले परिवार नियोजनको यो सुईको प्रयोग गर्ने गरेको तर नेपालमा स्वास्थ्य मन्त्रालयले यसको अनुमति नदिएको कारण स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षित पारेर सेवा शुभारम्भ गरिएको उनले प्रस्ट्याइन् ।

नेपालमा यसअघि परिवार नियोजनको अस्थायी साधनको रूपमा गर्भनिरोधक सङ्गिनी सुई पनि प्रयोगमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here