संयुक्त राष्ट्रसङ्घ, पुस १३/सिन्ह्वा

तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरूलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रूपमा विरोध भइरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अफगानिस्तानको तालिबान सरकारले गरेको यो निर्णय तुरून्त सच्याउनुपर्ने र उसका कारण महिलाले अधिकार नपाउने अवस्था तत्काल अन्त्य हुनुपर्ने बताएको छ ।

शिक्षामा महिलाको पनि समान अधिकार रहेकोले त्यसको सबैले सम्मान गर्नुपर्ने भन्दै सो परिषद्ले विज्ञप्ति प्रकाशन गरेर तालिबान सरकारले गरेका ती सबै निर्णयहरू फिर्ता गर्न भनेको छ ।

दुई हप्ता मात्र अघि तालिबान सरकारका शिक्षामन्त्रीले तालिबान सरकारले सो निर्णय गरेको बताएका थिए । उनले अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जान नपाउने निर्णय सरकारले गरेको जानकारी दिएका थिए ।

अफगानिस्तानको तालिबान सरकारले महिलालाई शिक्ष्Fाबाट प्रतिबन्धित गरेको घटनाको सबैतिर विरोध भएको छ ।  गत हप्तामात्र अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले विज्ञप्ति प्रकाशन गरेर यसको विरोध गरेका छन् ।

सुरक्षा परिषद्को मङ्गलवारको विज्ञप्तिमा यस्तो निर्णय अफगानिस्तान देशको हितमा पनि नभएको र अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु भनेको निकै दुःखद भएकोले ती निर्णय सच्याएर नारी अधिकारको सम्मान गर्ने अवस्था बनाउन आग्रह गरिएको छ ।

मङ्गलवार संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले प्रकाशन गरेको विज्ञप्तिमा महिलाका लागि बन्द गरिएका भनिएका सबै विद्यालय, विश्वविद्यालय खोल्न र नारी अधिकारका पक्षमा काम गर्न आग्रह गरिएको छ ।

दुई वर्ष अघि अफगानिस्तानमा तालिबानी शासन शुरू भएपछि यहाँका महिलाको अधिकार खोसिएको छ । उनीहरूलाई धेरै सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध लगाइएको छ र अहिले पछिल्लो समयमा उनीहरू विश्वविद्यालय पनि जान नपाउनेगरी प्रतिबन्ध लगाइएको बताइएको छ ।

अफगानिस्तानको विकासका लागि त्यहाँका महिलाको पनि ठूलो योगदान रहेकोले यस्तो निर्णय तत्कालै सच्याएर सबै नागरिकले उचित र न्यायपूर्ण शिक्षा लिन पाउने अधिकारको रक्षा गर्न संयुक्त राष्ट्रसङ्घका विभिन्न पदाधिकारी तथा निकायले आग्रह गरिरहेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here