• सञ्जय साह मित्र

अहिले जाडो बढेको छ । गत वर्ष र त्यसभन्दा पहिलेको जाडोको मौसममा पनि कोरोनाको डर निकै थियो । गत वर्ष पनि करीब एक महीना विद्यालयहरू बन्द भएका थिए । कोरोनाको त्रास फैलिएको थियो तर हाम्रो सचेतना तथा धेरै मानिसले खोप लगाइसकेको कारण कोरोनाले त्यसभन्दा अघिल्लो वर्षको जति त्रास फैलाउन पाएन । बिस्तारै कोरोनाको प्रभाव कम हुँदै गयो र जनजीवन सामान्य बन्यो । साँच्ची केही महीनादेखि देशको कुनै पनि क्षेत्रमा जाँदा कोरोनाले असर गरेको देखिएन । यस अर्थमा कोरोनाको प्रभाव देखिएको थिएन कि यसको चर्चा नै कतै भइरहेको थिएन । कतै कोरोनाको डर थिएन । कोरोनाको केस मुश्किलले कतैकतै फेला परेको समाचार आउँथ्यो तर यसलाई सबैले सामान्यरूपमा लिएका थिए । यसबाट समाज कोरोनाका साथ बाँच्न सिक्यो भन्ने विश्लेषण पनि गरिन थालिएको थियो । अब कोरोनाले खासै प्रभाव पार्न सक्दैन भन्ने लाग्न थालिसकेको थियो । मानिसमा कोरोनाको डर कम हुन थालेको थियो तर पछिल्लो चरणमा फेरि कोरोनाले विश्वका कतिपय देशमा निकै प्रभाव पारिरहेका समाचारहरू आउन थालेका छन् ।

भारतीय मिडियाहरूले अहिले चीनमा निकै धेरै सङ्ख्यामा दैनिक मानिस बिरामी भइरहेका समाचार प्रसारण गरिरहेका छन् । समाचार प्रसारण मात्र नभएर विभिन्न भिडियो पनि देखाउँदा डरलाग्दो दृश्य देखिएका छन् । चीनका साथै अन्य केही देशमा पनि कोरोना महामारीको रूपमा विस्तार भइरहेको देखिएको छ । अहिले त विश्व स्वास्थ्य सङ्गठनले पनि चेतावनी दिइसकेको कुरो आइरहेको छ । पहिलोपटक चीनमैं कोरोना भाइरस देखिएको थियो भनिन्छ । अहिले फेरि चीनमैं यसले महामारीको रूप लिइरहेको छ । अहिलेको महामारी विगतको महामारीभन्दा पनि ठूलो रहेको बताइएको छ । चीनमा फैलिएको महामारी चीनमा मात्र सीमित नरही नयाँ भेरिएन्टको फैलाव अन्य देशमा पनि भइसकेको र बिस्तारै यसले भारतमा सङ्क्रमण देखाइसकेको छ । भारतका कतिपय शहरमा एक्कादुक्का नयाँ भेरिएन्टको सङ्क्रमण देखिन थालिसकेको अवस्थामा भारतले कोरोनाविरुद्ध सबैलाई सचेत रहन विभिन्न माध्यमले सन्देश जारी गरिरहेको छ । बिस्तारै सचेतनाका विभिन्न पाइला भारतले चालिरहेको छ । अस्पतालदेखि हवाई अड्डासम्म परीक्षणको कामलाई विस्तार गरिएको छ । कतिपय प्रदेशको सरकारले पनि कोरोनाविरुद्ध लड्न तयारी थालिसकेको छ । विभिन्न राज्यका स्वास्थ्यमन्त्रीहरूसित केन्द्र सरकारले निरन्तर संवाद गरिरहेको छ र स्वास्थ्य सचेतना तथा तयारीबारे विभिन्न  छलफल भइरहेको छ । हरेकजसो भारतीय सञ्चार माध्यमले कोरोना प्रतिकार गर्ने तयारीबारे विभिन्न कोणले समाचारहरू प्रकाशन र प्रसारण गरिरहँदा पाठक, दर्शक तथा श्रोताले यस विषयमा सचेतना पनि प्राप्त गरिरहेका छन् । कोरोनाको गम्भीर सङ्कटकालमा भोगेका पीडाहरू सम्झँदै अब फेरि त्यस्तो भोग्न नपरोस् भनेर सचेत हुन स्वप्रेरित हुनुपर्ने सन्देश पनि ग्रहण गरिरहेका छन् ।

अहिले नै डराउनुपर्ने बेला भइसकेको छैन । र डर फैलाउनुभन्दा बढी चेतना फैलाउनु राम्रो हुन्छ । डराउनुभन्दा सचेत हुनु राम्रो हो । अहिले नै छिमेकी बस्तीहरूमा पुग्दा भारतमा कुनै ठूलो त्रास छ वा धेरै सचेत भइसकेका छन् भन्ने लाग्दैन । ग्रामीण क्षेत्र वा बजारमा हामीजस्तै सामान्य गतिविधि नै रहेको छ तर राज्यले गर्नुपर्ने तयारी र मिडियाको कभरेज भने निकै ठूलो रहेको देखिन्छ । सबैले बुझेको कुरो हो मिडियाको निरन्तरको कभरेजले, मुख्य गरी शहरी क्षेत्र, बढी सचेत बन्ने रहेछ । जब शहरी क्षेत्र सचेत बन्दछ तब यसको अनुकरण ग्रामीण क्षेत्रमा पनि हुन्छ । यति हुँदाहुँदै पनि धेरैले लापरवाही गर्ने गरेको हामीले देखे वा बुझेका छौं । यस्तो अवस्थामा सरकारले बल प्रयोग गर्दछ । सरकारले बल प्रयोग गर्दछ भन्नुको अर्थ यो पनि हो कि लकडाउन लगाउँछ, स्थानीय स्तरमा पनि कडाइका अन्य उपाय अवलम्बन गर्छ । सामान्य जनसमेत आफ्नै अग्रसरतामा आफ्नो गाउँमा कोही प्रवेश नगरोस् भनेर गाउँका मुख्य बाटाहरू बन्दसम्म गर्न थाल्दछन् । यसकारण सरकारको निर्देशन पालन गर्नु निकै ठूलो कुरो रहेछ । सरकारले आम नागरिकलाई सुरक्षित राख्न धेरै किसिमका तयारीहरू गर्नुपर्ने हुन्छ र उपायहरू अवलम्बन गर्नुपर्ने हुन्छ । सबै असल काम आफूले गरेको र सबै नचाहिने काम सरकारले गरेको भन्ने हुँदैन । कतिपय अवस्थामा राज्यले दिएका निर्देशन पालन नगर्दा नागरिक नै बढी घाटामा पर्ने हुन्छन् ।

जसले जेसुकै भने पनि अहिलेसम्म अर्थतन्त्रमा भने कोरोनाको प्रभाव रहेकै छ । सामान्य व्यवसायी पनि कोरोनाको कारण व्यवसाय अझै फस्टाउन नसकेको बताउँछन् । होटलमा पनि यो कुरा सजिलै सुन्न पाइन्छ कि मानिस आजभोलि पहिलेजस्तो खान आउँदैनन्, पेयको माग पनि घटेको छ । लगानी बमोजिम व्यापार नहुँदा वास्तवमा घाटा भइरहेको छ । आज घाटामा छ तर भोलि नाफामा होला भन्दाभन्दै दुईतीन वर्ष भइसक्यो । आर्थिक क्षेत्रमा परेको प्रभावले गर्दा समाजमा पनि रकमको अभाव देखिएको छ । रकम अभावले गर्दा दैनिक व्यवहारमा पनि प्रभाव परेको छ । बिहेबारीमा पनि यसको प्रभाव देखिइरहेको छ । साहुले ऋण दिन मानिरहेको छैन तथा विभिन्न शर्तमा दिइरहेको अवस्था छ । कोही पनि साहु आफूसित पैसा भएको बताइरहेका छैनन् र यदि जेनतेन पैसा दिने मनसाय बनाउँदा पनि कस्तो चाहना राख्दछन् भने फिर्ता आउने दोहोरो ग्यारेन्टी होओस् । यसको लागि कमसेकम दुईजनालाई साक्षी राखी जति पैसा दिन्छन्, त्यत्ति बराबरभन्दा दोब्बर खेत नाउँमा पास गराउँछन् अर्थात् खेत किनबेचको सम्पूर्ण कागजी कानूनी प्रक्रिया पूरा गर्दछन् जसले गर्दा भोलिको दिनमा कुनै झमेला भएमा त्यही जमीन बेचेर पैसा फिर्ता लिन सकियोस् र जमीन बेच्नुपर्दा पनि आफ्नो घरको पैसा नलागोस् । यसरी जमीन पास गर्दा जसले ऋण लिएको हुन्छ, जमीन पास गर्दा लिने र दिने दुवैतिरको सम्पूर्ण कर उनैले बेहोर्नुपर्छ । विगत दुई वर्षमा कोरोनाले गरेको प्रहारबाट करीब सबै क्षेत्र प्रभावित भएको देखिएको छ ।

अहिले फेरि कोरोनाले चीनमा निकै तीव्र गतिमा प्रभाव पारेको विभिन्न मिडियाले जनाइरहँदा र भारतले कोरोनाबाट बच्न व्यापक स्तरमा तयारी गरिरहँदा यी दुई देशबीच रहेको नेपालका बुद्धिजीवीहरूले पनि यसबारे अब खुलेर सचेतनाका काम गर्नुपर्ने गरी अग्रसरता लिनुपरेको छ  । नेपालमा पनि सरकारले आन्तरिक तयारी गरिरहेको कुरो सार्वजनिक भइरहेको छ । गृह मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयबाट तयारीसम्बन्धी विज्ञप्तिहरू आइरहेका छन् । यो निकै सकारात्मक कुरो हो । अब आम नागरिकलाई पनि यसबाट सचेत पार्नु उचित हुन्छ । आम नागरिक जति सचेत हुन्छ, कोरोनाको प्रभाव त्यत्ति नै कम हुन्छ । सबैको सचेतनाले सबै क्षेत्रलाई चुस्त र दुरुस्त राख्छ । सबै बहाना आफ्नो ठाउँमा होला तर यदि कोरोनाको सङ्क्रमण फैलियो भने, फेरि देशको सबै क्षेत्रमा थप नकारात्मक प्रभाव देखिन बेर लाग्दैन । यसर्थ सबैभन्दा महŒवपूर्ण उपाय भनेकै सचेतना हो । सबै किसिमले सचेत भएर काम गर्नु जरूरी छ । अहिले हामी डराउनुपर्ने अवस्थामा छैनौं र सचेत भएर काम गर्दैगर्दा डराउनुपर्ने अवस्था नआउन पनि सक्छ । सचेतनाका सबै उपाय अवलम्बन गरिनु अहिलेको आवश्यकता देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here