नेपाली काङ्ग्रेस सत्तामा पुग्न नसकेपछि सो पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवामाथि नैतिक सङ्कट आइपरेको छ । यतिबेला आफ्नै पार्टीका नेता, कार्यकर्ताहरूले देउवाविरुद्ध विषवमन गरिरहेका छन् । सङ्घीय संसद्मा नेकाका सांसद सङ्ख्या सबैभन्दा बढी र सो पार्टी नेतृत्वको गठबन्धनले झन्डै बहुमत ल्याउँदा सत्ताको तालाचाबी हात पर्नेमा केन्द्रीय नेतादेखि तल्लो तहका कार्यकर्तासमेत ढुक्क थिए । चुनाव जितेका नेताहरू धेरैजसोले मन्त्रीको सपना देखे भने राष्ट्रपति, सभामुख, मुख्यमन्त्री, प्रदेशप्रमुख बन्न चाहनेलगायत अरूले पनि आफ्नो पहुँच र क्षमता अनुसारका सपनाहरू बुन्दै थिए । ‘दहीवाली र कुखुराको चल्ला’ कथाझैं दही नै घोप्टिन पुगेपछि सबैका सपनाहरू चकनाचुर भएका छन् । दुर्घटनापछि तिल्मिलाएका नेता, कार्यकर्ताहरू यसको सारा दोष, पार्टीका चालक देउवा माथि खन्याइरहेका छन् । नेका यसै पनि गुट, उपगुट धेरै भएको पार्टी हो । ‘के निहुँ पाउँ र कनिका बुकाउँ’ भन्दै एक अर्काप्रति निसाना साँध्ने धेरै छन् । युवा पङ्क्तिका केही नेताले सभापति र संसदीय दलको नेताबाट समेत देउवाको राजीनामा माग गरेका छन् ।
तत्कालीन नेकपा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि काङ्ग्रेस सत्तामा जान हुने र नहुने कुरामा विवाद थियो । शुरूमा देउवाइत्तर पक्षले सरकारमा जान नहुने बताए पनि पछि सरकारमा जान देउवालाई सुझाएका थिए । त्यसमा देउवाको भने कुनै जिद्दी थिएन । त्यसैगरी, सङ्घीयसभा र प्रदेशसभाको चुनावमा गठबन्धन गरेर जाने कि एक्लै जाने भन्नेमा रस्साकस्सी चल्यो । यसमा एक मत हुन नसक्दा गठबन्धनबाटै जानुपर्ने प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको अडान रह्यो । सोही अडानका कारण माओवादी र नेकपा (एस)सहित पाँच दलीय गठबन्धन बोकेर काङ्ग्रेस चुनावमा होमियो । जेसुकै भएपनि मतपरिणाम हेर्दा देउवा नेतृत्वलाई सो पार्टीले ‘धन्यवाद’ भनेकै हो । हजारभन्दा कम अन्तरले चुनाव जितेका क्षेत्रहरूमा यदि गठबन्धन नरहेको भए काङ्ग्रेसको हातबाट गुम्ने रहेछ भन्ने लाग्यो । सोही बुझाइका कारण प्रतिनिधिसभा संसदीय दलको नेता चयन गर्दा देउवालाई अत्यधिक बहुमत प्राप्त भएको हो ।
अब अहिले आएर यी सारा कुराहरूको अर्थ उल्टो लगाउन थालिएका छन् । थोरै अवधिको लागि चुनावी सरकारमा जाँदा नेकाको लोकप्रियता घटेकोले चुनावमा अपेक्षित सिट प्राप्त नभएको, गठबन्धनको कारण समानुपातिक मतमा एमालेसँग पछि परेको, काङ्ग्रेसले जित्न सक्ने सिटहरूमा माओवादी र समाजवादीलाई जिताउनुपरेको, नेकाको मतदाता रिसाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई फाइदा पुगेको, चुनावी गठबन्धन नेकाको लागि घातक साबित भएको भन्दै यसको दोष देउवामाथि लगाइएका छन् । त्यसैगरी, सरकार गठनमा देउवाको पद लोलुपताका कारण हातमा आएको अवसर गुमेको आरोप छ । होइन भन्ने ठाउँ छैन । घटनाक्रमले त्यही पुष्टि हुँदैछ । यतिबेला देउवा पक्षका केही नेताहरूसमेत विपक्षमा उभिएकाले उनलाई अप्ठ्यारो देखिन्छ । तर यो वैधानिक वा कानूनी सङ्कट नभई नैतिक सङ्कट हो । पार्टी पङ्क्ति यतिधेरै निराश हुनुमा नैतिक जिम्मेवारी देउवाले लिनै पर्छ । राष्ट्रिय राजनीतिक वृत्तमा के भइरहेको छ भन्नेसमेत उनले भेउ पाउन सकेनन् । यसको मतलब उनको मात्रै दोष चाहिं होइन । गठबन्धनबाटै प्रचण्ड प्रधानमन्त्री बन्दा पद विभाजनको क्रममा आफ्नो फाइदा देख्ने नेताहरूको पनि दोष कम छैन ।