प्रस, परवानीपुर, १० पुस/
एक महीना पाँच दिन पहिले पर्सा जिल्लामा अपहरण गरी हत्या गरिएको एकजना बालकको शव बरामद भएको छ । वीरगंज महानगरपालिका–२५ श्रीसियाबाट सोही वडा खल्वा टोला श्रीसिया टोल बस्ने श्रीराम पासवानका १४ वर्षीय छोरा नीरज पासवानको शव बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।
फिरौतीको लोभमा बालकलाई अपहरण गरिएको र केही दिनपछि हत्या गरी सेप्टिक ट्याङ्कीमा शव लुकाइएको थियो । अपहरणकारीहरूले फिरौतीको रूपमा ५० लाख रुपियाँ माग गरेको र एक साताअगाडि ५० लाख रुपियाँ रातिको समयमा शिवम् एग्रो राइस मिल अलौंनजीक रहेको छगछियाबाट रातिको समयमा झोला उठाएर भाग्दै गरेको अवस्थामा पर्सा प्रहरीको क्राइम शाखाले दुईजना अपहरणकारीलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि घटना प्रकाशमा आएको हो । प्रहरीले केरकार गर्दा विद्यार्थी नीरज पासवान पढ्ने वीरगंज–१७ अलौंको गुरुकुल पारा मेमोरियल स्कूलका प्रिन्सिपल दिलीप पटेल र वीरगंज–२५ श्रीसिया टोल बस्ने किसान यादवले घटनाबारेमा खुलस्त पारेपछि प्रहरीले एक्साभेटर लगाएर खनेको ठाउँमा लाश भेटिएको थियो ।
लाशपूर्णरूपमा गलिसकेको र बच्चाको कपडाबाट परिवारजनले नीरजकै शव भएको पहिचान गरेका छन् । दिलीप पटेल अपहरित बालक नीरज पढ्ने विद्यालयकै प्रिन्सिपल भएको र उनी डेरा गरी बस्ने ठाउँनजीकबाट उक्त लाश बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रनाउ दीपक गिरीले बताए ।
लाश बरामद भएको ठाउँ मानव सेवा आश्रम श्रीसियासँगै टाँसिएको छ । यस विषयमा जिप्रका, पर्साका प्रवक्ता गिरीसँग कुरा गर्दा घटनामा अन्य केही व्यक्तिको संलग्नता रहेको र उनीहरूको छानबीन भइरहेको बताए । घटनाबारे धेरै कुरा बोल्न नमिल्ने उनले बताए । उनका अनुसार शिक्षकद्वारा नै योजना बनाएर यस्तो घटना घटाइएकोेले निकै दुःख लागेको बताए । मृतक बालकका परिवारजनले घटनामा प्रहरी प्रशासनले लापरवाही गर्दा यस्तो घटना भएको आरोप लगाएका छन् ।