प्रस, सिम्रौनगढ, ९ पुस/
बाराको सिम्रौनगढमा कर्मचारीहरूले पुनः आन्दोलन शुरू गरेका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत नगरका पदाधिकारीहरूलाई ज्ञापनपत्र बुझाइएको छ । करार, अस्थायी, ज्यालादारी कर्मचारी सङ्घ सिम्रौनगढले शनिवार ज्ञापनपत्र बुझाएको छ ।
सङ्घ बाराका अध्यक्ष नितेशप्रसाद यादव नेतृत्वको कर्मचारी अगुवा टोलीले नगरप्रमुख किशोरीप्रसाद कलवार, उपप्रमुख नजमु शेहर र सुशासन समिति अध्यक्ष रामएकबालप्रसाद यादवलाई उनीहरूको निवासमैं भेटेर ज्ञापनपत्र बुझाएको छ ।
करार र ज्यालादारीका कर्मचारीहरूको नीतिगत निर्णय गरी म्याद थप गर्नलाई ज्ञापनपत्र बुझाएको सङ्घका जिल्ला अध्यक्ष नितेश प्रसादले बताए । यसअघि नगरपालिका अध्यक्ष यादवले पालिकाको निर्णयविना नै सूचना जारी गरी अघिल्लो कार्यकालमा भर्ना भएका करार र ज्यालादार कर्मचारीहरू हटाइएको जानकारी दिएका थिए ।
उक्त निर्णय व्यक्तिगत, स्वच्छचारी, हुकुमी शैली र कार्यपालिकाको भावना विपरीत रहेकाले फिर्ता लिन सङ्घले माग गरेको छ ।
यसरी बर्खास्त हुनेमा साबिक गाविस, नगरपालिका र नेपाल सरकारका अन्य निकायबाट विभिन्न पदमा नियुक्त भई आएका र नगरपालिकाबाट तोकिएको जिम्मेवारी पुरा गरिरहेका कर्मचारीहरू पनि छन् । उनीहरूलाई बितेको असोज महीनासम्मको तलब भुक्तानी गरी नगरप्रमुखले कामबाट हटाएको सूचना जारी गरिएको थियो ।
यसरी सूचना जारी भएपछि पनि कर्मचारीहरू आफ्नो क्षेत्रमा काम गरिरहेका छन् । कात्तिक १ गतेदेखि करार, अस्थायी, ज्यालादार कर्मचारीहरूको म्याद थप भएको छैन । उक्त सूचनापछि कर्मचारी सङ्ंघले नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेको थियो । लगातार २३ औ दिनसम्म तालाबन्दी रहेपछि जिल्ला प्रशासन कार्यालय बाराको रोहबरमा बसेको बैठकले समस्या समाधानका लागि सुशासन समिति गठन गरेको थियो । उक्त समितिले १५ दिन भित्रमा नगरपालिमा प्रतिवेदन पेश गर्ने र सोही आधारमा कर्मचारीबारे निर्णय गरिने सहमति भएपछि ताला खुलेको थियो ।
समिति गठन भएको २० दिन बितिसक्दा पनि कुनै निर्णय नभएपछि कर्मचारीहरू पुनः आन्दोलित भएका हुन् ।