नितेश कर्ण, वीरगंज, ७ पुस/

वीरगंजमा ईरिक्शा र टेम्पो सवारी मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएका छन् । यातायात व्यवस्था विभागले ईरिक्शा, टेम्पोलाई राजमार्गमा चलाउन निषेध गरेको छ । सो आशयको परिपत्र पठाएको निकै दिन भइसक्यो तर सम्बन्धित कार्यालयले कार्यान्वयन गर्न सकेको छैन ।

यातायात व्यवस्था कार्यालय, वीरगंज र जिल्ला ट्राफिक कार्यालय, पर्साले यस विषयमा कुनै चासो देखाएका छैनन् । जसले गर्दा परवानीपुरदेखि रक्सौलसम्म पृथ्वी राजमार्गमा ईरिक्शा, टेम्पो निर्बाधरूपमा सञ्चालनमा छन् ।

यसैगरी, वीरगंज महानगरपालिकाले ईरिक्शा सञ्चालनको लागि मापदण्ड तय गरेको छ । तर त्यो मापदण्डलाई पनि ईरिक्शा सञ्चालकले मानेका छैनन् । महानगरले ईरिक्शाको लागि दशवटा रूट निर्धारण गरेको छ तर ती रूटको पनि पालना गरिएको छैन ।

यसैगरी, ईरिक्शाहरूले जथाभावी रूट कायम गरेर भाडा लिने गरेका छन् । वीरगंज महानगरपालिकाले ईरिक्शा सञ्चालक पदाधिकारीहरूलाई दररेट निर्धारणको लागि बारम्बार ताकेता गर्दै आएको छ तर कसैले पनि दररेट तोकेका छैनन् । 

यसैगरी, वीरगंजमा ईरिक्शा भिœयाउने क्रममा महानगर, यातायात व्यवस्था कार्यालय, जिल्ला ट्राफिक कार्यालयबीच महानगरमा भएको सहमति अनुसार ६५० वटा ईरिक्शा भिœयाउने निर्णय भएको थियो तर अहिले जथाभावीरूपमा ईरिक्शाहरू सो सङ्ख्याभन्दा बढी सञ्चालनमा छन् । ईरिक्शा सञ्चालनमा रहे पनि सवारी चालक अनुमतिपत्र भने थोरैसँग मात्र  छ । यातायात व्यवस्था कार्यालय लाइसेन्सले दुईपटक ईरिक्शा चालकहरूको लागि फाराम आह्वान गरेको थियो तर तीन सयभन्दा बढीले सवारी चालक अनुमतिपत्र नलिएको सो कार्यालयबाट थाहा भएको छ ।

अहिले वीरगंजमा लाइसेन्स नलिएर ईरिक्शा सञ्चालन गर्नेहरूको सङ्ख्या बढी छ । पाका र काँचा उमेरका सबैले ईरिक्शा चलाएर जीविकोपार्जन गर्दै आएका छन् । महानगर, यातायात र ट्राफिक तीनवटै तहले ईरिक्शा सञ्चालनलाई सुधार गर्न सकेका छैनन् । जथाभावीरूपमा ईरिक्शा सञ्चालन भएकाले वीरगंजको ट्राफिक समस्या बढ्दो छ । तोकिएको मापदण्ड पूरा गरी रूटमा सञ्चालन नहुने र जथाभावी सडकमा यात्रीहरू चढाउने, ओराल्ने र तोकिएका मापदण्डबाहेक पार्किङ गर्ने समस्याले वीरगंजको ट्राफिक व्यवस्था अहिले ईरिक्शाका कारण गिजोलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here