प्रस, परवानीपुर ६ मङ्सिर/
सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि, वीरगंजले आगामी सोमवारदेखि पर्सा, बारा, रौतहटका किसानहरूको धान खरीद गर्ने भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको संयोजकत्वमा रहेको जिल्ला प्राथमिक खरीद समितिले यस वर्षको धान खरीद गर्नको लागि समर्थन मूल्य निर्धारण गरेपछि धान खरीद गर्ने बाटो खुलेको सो कार्यालयका प्रमुख विकाश कटुवालले बताए । गत पुस ५ गते बसेको प्राथमिक खरीद समितिको बैठकले चालू आवमा सोना मन्सुली धान प्रतिक्विटल रु तीन हजार १२८ र जीरा मसिनो प्रतिक्विन्टल रु तीन हजार २५० को दरमा खरीद गर्ने निर्णय गरेको छ ।
पोहोरभन्दा सोना मन्सुली रु २२६ प्रतिक्विन्टल र जीरा मसिनो रु ३५० दाम बढाएर मूल्य निर्धारण गरिएको छ । पोहोर सोना मन्सुली रु दुई हजार ९०२ र जीरा मसिनो दुई हजार ९१० प्रतिक्विन्टलको दरमा खरीद गरिएको थियो । पोहोर सोना मन्सुली १७ हजार क्विन्टल खरीद गरिएको थियो भने जीरा मसिनो धान किसानले बिक्री गर्न ल्याएनन् ।
यस वर्ष सरकारसँग सीमित स्रोतसाधन भएकाले विभिन्न मापदण्ड बनाइ सोना मन्सुली १० हजार क्विन्टल र जीरा मसिना दुई हजार क्विन्टल गरी कुल १२ हजार क्विन्टल धान खरीद गर्ने कार्यालयको लक्ष्य रहेको उनले जानकारी गराए ।
धान बिक्रीको लागि एकजना किसानले एउटा ट्याक्टरमा २५ देखि ६० क्विन्टलसम्म मात्र धान ल्याउन सक्छन् । सोको लागि नागरिकताको फोटोकपी, नागरिकता, लालपुर्जाको फोटोकपी, किसान प्रमाणित गरेको स्थानीय तहको पत्र आवश्यक पर्छ । एक कट्ठामा बढीमा दुई क्विन्टल धान उत्पादन हुने भएकोले बिचौलिया र गोलाभण्डारका साहुलाई रोक्न यस किसिमको मापदण्ड निर्धारण भएको छ । धान खरीदमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली परिचालन हुने भएकोले बिचौलियाहरूलाई धान खरीद प्रक्रियामा घुसपैठ नगर्न उनले आग्रह गरे ।