बैंकक, ४ पुस/एएफपी

थाइल्यान्डको दक्षिणपूर्वी तटमा सोमवार डुङ्गा डुब्दा कम्तीमा ३१ जना नाविक बेपत्ता भएको नौसैनिकका प्रवक्ताले बताएका छन् ।

एचटिएमएस सुखोथाईले थाइल्यान्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारबाट करीब २० नटिकल माइल टाढा जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि उद्धार अभियान शुरू गरिएको थियो ।

नौसेनाले सार्वजनिक गरेका तस्वीरहरूमा जहाजले कडा छाल पार गर्ने क्रममा नाटकीयरूपमा एक छेउबाट डुब्न ढल्किरहेको देखाइएको छ ।

नौसेनाका प्रवक्ता एडमिरल पोग्क्रोङ मोन्ट्राडपालिनले बेपत्ता सैनिकको खोजी भइरहेको बताए । उनले भने, “हामी अझै पनि हराइरहेका ३१ जनाको खोजी गरिरहेका छौं ।”

जहाजको ‘अपरेटिङ सिस्टम’ले काम गर्न छोडेपछि जहाजले नियन्त्रण गुमाएको थियो,” उनले सोमवार बिहान बताए ।

जहाजमा रहेका १०६ जनामध्ये ७५ जनालाई दुईवटा हेलिकप्टर, दुईवटा फ्रिगेट र एउटा पानीजहाजको सहयोगमा उद्धार गरिएको छ ।

बिहान ७ बजेदेखि शुरू भएको खोजी तथा उद्धार कार्य जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।

करीब ११ जना नौसैनिकको बाङ सफान अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४० जनालाई सुरक्षित आश्रयस्थलमा राखिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here