अहिले वीरगंज महानगरपालिका शहरको सौन्दर्यीकरणको बाधक नालाजाम, फूटपाथ कब्जा, निर्माण सामग्रीबाट ठसाठस भरिएको सडक–गल्लीजस्ता अनियमितता हटाउने अभियानमा लागेको छ । वीरगंजको सन्दर्भमा यो अभियान ‘हिंड्दै छ, पाइला मेट्दै छ’ भन्ने उखानमा परिणत हुने सम्भावना चाहिं ज्यूँदो छ । किनकि यस्ता अभियान वीरगंजमा झन्डै प्रत्येक पाँच वर्षमा कसै नकसैले चलाएको देखिएको छ । खासमा यस अनियमितताप्रति जन चासो सदा उदासीन रहेको छ । जुन ठाउँमा अतिक्रमण हुन्छ, जहाँ फोहर हुन्छ, त्यहाँको बासिन्दा (टोलवासी) जबसम्म जागरुक हुँदैन, यी समस्या नगरपालिका मात्रले गरेर समाधान हुँदैन । यस अर्थमा महानगरपालिकालाई दोष दिन मिल्दैन, तर महानगरपालिकासँग एउटा प्रश्न सोध्न सकिन्छ–दोषीलाई कसले र कसरी सुधार्ने ? एकपटक अतिक्रमणमुक्त गरिसकेपछि फेरि त्यहीं ठाउँमा अतिक्रमण गर्ने दुस्साहस कसैले किन गर्छ ? यसमा थोरै दोष त्यस ठाउँ–टोलका बासिन्दाको र धेरै महानगरपालिकाकै हो ।
महानगरपालिका प्रशासनिक एकाइ हो । अब त सङ्घीय कानून अनुसार सरकार नै बनिसकेको छ । सरकारले गर्ने अन्यान्य कार्यहरुमध्ये यस्ता प्रवृत्ति सुधार्न महानगरपालिकाले दण्ड र पुरस्कारको व्यवस्था गर्न नसक्नु सबैभन्दा ठूलो त्रुटि हो । अवसर हेरेर अनियमितता गर्ने, केही लोभानीपापानी गरिहाल्ने, बदलामा सजाय नपाउने हो भने यस्तो प्रवृत्तिको कहिले पनि दमन गर्न सकिंदैन । त्यसैगरी जुन ठाउँमा यस्ता क्रियाकलापको जनस्तरमा नै विरोध भएर शहरलाई शहर बनाउन टोलवासी खटेका छन्, आफ्नो स्वप्रेरणाले काम गरिरहेका छन्, त्यस्तालाई महानगररुपी सरकारले वास्ता नगर्दा स्वतः उनीहरुमा हतोत्साह उत्पन्न हुन्छ । आज वीरगंज रैथाने मानिसहरुको शहर रहेन । आज कुनै पनि टोलमा एक परिवार रैथाने र पाँच परिवार आगन्तुकहरुको छ । यस्तोमा सामाजिक घनिष्ठता रहँदैन, कसैले कसैको वास्ता गर्दैन, त्यसैमा कोही जबरदस्त प¥यो भने उसले एउटा कुहिएको प्याजले बोरोभरिको प्याजलाई बिगार्छ भन्ने उक्ति लागू हुन्छ । किनकि त्यहाँ सामाजिक वा नैतिक दबाब रहन्न । त्यहाँ त सशक्त र अचुक दण्ड–प्रावधानले मात्र काम गर्छ ।
यहाँ बेला–बेला केही सामाजिक अभियन्ता–मानसिकता भएका हाकिमहरु आएका छन् । तिनले यस्ता कैयौं अभियान चलाए । आज जुन इनरबाइपासमा अभियान चलाइँदै छ, त्यहाँ एकजना हाकिमले आफ्नो स्रोत–साधन लगाएर सफाइ अभियान चलाएका थिए । हास्यास्पद दृश्य कस्तो थियो भने बाहिरका मानिसहरु आएर हिलो र फोहर सफा गरिरहेका थिए, त्यहींका बासिन्दा भने छतमाथि वा बार्दलीमा बसेर रमिता हेरिरहेका थिए । मनमा यो गुन्दै कि तिमी कति सफा गर्छौ, हामी त फोहर गरिहाल्छौं । यस्तो कति दिन चल्छ ? र के यो चालाले शहर सफा बनाउन सकिन्छ ? यो श्मशान वैराग्यजस्तै हो । कसैमा कुनै लहड चल्यो, झाडू, कोदालो उठायो, केही समाजसेवीहरुलाई भेला ग¥यो र सफाइ अभियान चलायो ? अभियानको अर्थ हुन्छ, जे नचाहिने हो त्यसको प्रतिकार यस ढङ्गले गरियोस् कि त्यो पुनः देखा नपरोस् । यसका लागि दण्डविधानजति प्रभावकारी केही हुन सक्दैन । समस्या यही आएर अडकिन्छ । हाम्रा जनप्रतिनिधिहरु दण्ड प्रावधानप्रति अति संवेदनशील छन् । उनीहरु यस प्रावधानले आफ्नो लोकप्रियता गुम्ने, भोलि निर्वाचन जित्न नसक्ने ठान्छन् । अनि चलाऊ जति अभियान, विकृति त फेरि जन्मिहाल्छ । हिंड्दै छ, विकासका पाइलाहरु मेट्दैछ ।