जीतलाल श्रेष्ठ, निजगढ, ३ पुस/

निजगढ नगरपालिका–१२ स्थित मञ्जुश्री आधारभूत विद्यालयको भौतिक संरचनामा सुधार आए पनि स्थायी शिक्षक/शिक्षिका छैनन् ।

विद्यालय स्थापनाताका बाँसको घेराबार, टायलको छाना अनि चीसो भुइँ र काठको मुढालाई टेबल, बेन्च मानेर सुरूशाती दिनहरूमा पढाइ हुँदै आए पनि विगतभन्दा अहिले यस्ता संरचनाहरूमा निकै सुधार आइसकेको छ । तर अहिलेसम्म पनि विद्यालयमा सरकारी दरबन्दीका शिक्षक/शिक्षिकाहरू छैनन् ।

तामाङ समुदायको अधिक बाहुल्य रहेको कारण विद्यालयमा पढ्न आउने बालबालिकाहरू आदिवासी, जनजाति तामाङ छन् । स्थानीय गाउँलेहरू मिलेर विद्यालय स्थापना गरेको १४ वर्ष हुन लागेको छ । विद्यालयमा दुईजना शिक्षक, तीनजना शिक्षिका र एकजना महिला कार्यालय सहयोगी छन् । एकजना बालविकास कोटामा पढाउने शिक्षिका र कार्यालय सहयोगीलाई निजगढ नगरपालिकाको स्रोतबाट तलब सुविधा उपलब्ध छ भने प्रधानाध्यपकसहित चारजना शिक्षक/शिक्षिकाको तलब, सुविधा विद्यालयको आन्तरिक र निजी स्रोतबाट जेनतेन जोहो हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनम सिंह गोलेले बताए ।

शैक्षिक सत्रमा कम्तीमा डेढ सयदेखि बढीमा दुईसयसम्म विद्यार्थी भर्ना हुने गर्छन् । तर आर्थिक अभाव र अन्य कारणले विद्यालयमा दैनिक ८० देखि ११० जनासम्म विद्यार्थी नियमित पढ्न आउने गरेको विद्यालयका एकजना शिक्षकले बताए ।

प्रत्येक वर्ष दशैं, तिहार मनाउँदा आर्थिक ऋणभार हुने गरेपछि बुबाआमाहरू आर्थिक जोहो गर्न काठमाडौंलगायतका स्थानमा मजदूरी गर्न जाने गरेपछि बालबालिकाहरू पनि अभिभावक पछ्याउँदै जाने गर्छन् । जसका कारण एकातिर विद्यालयमा उनीहरूको उपस्थिति कमजोर हुने गरेको छ । राज्यको नीति अनुसार स्थानीय तहले शिक्षा क्षेत्रमा वार्षिक करोडौं रकम लगानी गरे पनि फलदायी नतीजा हात पर्न अझै सकिएको छैन । यसको असर डेढ/दुई दशकपछि विकराल रूपमा देखिने शिक्षाप्रेमीहरू बताउँछन् ।

सो विद्यालयको भौतिक संरचनामा रू ५० लाखभन्दा बढी सङ्घ, प्रदेश, स्थानीय तहको लगानी लागेको निजगढ नपा १२ नं वडा कार्यालयका अध्यक्ष ज्ञानबहादुर गोलेले बताए । अहिले विद्यालयको भौतिक संरचना दुई/दुई कोठे दुईवटा पक्की भवन र जस्ताले छाएको एउटा भवन छ । विद्यालय परिसरलाई घेराबार गर्न नसक्दा विद्यालयमा पढ्न आउने बालबालिकाका लागि मनोरञ्जनात्मक खेल सामग्रीहरू र अन्य संरचनात्मक सामग्रीहरू राख्न नसकिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा छात्रछात्राका लागि पक्की शौचालय, खानेपानी टङ्की छ । तर चुरे फेदको बस्तीमा रहेको यस भावर क्षेत्रको विद्यालयमा पिउने पानीको चरम अभाव छ । विद्यालयनजीकै रहेको इनारमा तीन वर्षअघिदेखि पानी सुकेपछि विद्यालयसँगै यहाँ रहेका दुई सयभन्दा बढी घरधुरीमा पिउने पानीको समस्या छ । नजीकैको चुरेमा भएका मूल, मुहानबाट पाइपद्वारा पानी ल्याइए पनि पर्याप्त छैन । असार, साउनमा मूल, मुहान धमिलो हुने, चैत, वैशाख, जेठमा सुक्दा पानीको समस्या जटिल हुने वडाध्यक्ष गोलेले बताए । नियमितरूपमा विद्यार्थीहरू विद्यालय आऊन् भनेर निजगढ नपाले रू १५ को दरले दिवाखाजाका लागि रकम उपलब्ध गराउँदै आए पनि प्रभावकारी देखिएको छैन ।

पछिल्लोपटक निजगढ नगरभित्र विद्यालयका भौतिक संरचनाको तीव्र निर्माण हुँदै आए पनि शैक्षिक गुणस्तरमा भने अझै सुधार हुन नसकेको निजगढवासी बताउँछन् । सम्बन्धित निकायहरूबाट विद्यालयहरूको अनुगमन नहुँदा बाहिरबाट चिटिक्क परेको विद्यालयको शैक्षिक गुणस्तर भने कमजोर रहेको शिक्षाप्रेमीहरू बताउँछन् ।

सङ्घ, प्रदेशको शिक्षा ऐन र स्थानीय तहले तयार गरेको कार्यविधिलाई टेकेर शैक्षिक सुधारका लागि निर्देशन दिने र अनुगमन गर्दै आइरहेको निजगढ नगरपालिका शिक्षा शाखा प्रमुख उत्तम लामिछानेले बताए । शिक्षा सुधारमा जोड दिन निर्देशन दिंदै आइरहेको उनले बताए ।

सरकारले नयाँ दरबन्दी नखोल्दा वर्षौंदेखि एकैखाले समस्या दोहोरिने गरेको शिक्षाविद्हरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here