प्रस, पर्सागढी, ३ पुस/
पर्सागढी नगरपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बर्वाछोटैलीमा सहयोग शुल्कको नाममा अतिरिक्त रकम माग गरिएको भनेर विद्यार्थीहरूले विरोध जनाएका छन् ।
कक्षा ९–१२ का विद्यार्थीहरूले आइतवार वडाध्यक्ष शेख खुर्सेदलाई भेटेर विद्यालयले सहयोग शुल्क लिएको भनेर आक्रोश व्यक्त गरे । उनीहरूले प्रधानाध्यापक रामबहादुर चौधरीको निर्देशनमा कक्षा ९–१२ का विद्यार्थीहरूसँग सहयोग शुल्क लिने कार्य भएको बताए ।
सरकारले सामुदायिक विद्यालयमा शिक्षा निश्शुल्क गरेको तर विद्यालयमा भने सहयोग शुल्कको नाममा रकम उठाउने कार्य भइरहेको भन्दै वडाध्यक्षको ध्यानाकर्षण गराएका थिए ।
विद्यार्थीहरूले विद्यालयको नाममा जग्गा रहेको र केही जग्गामा पोखरी खनिएको र आर्थिक स्रोतको बाटो बनाइएको भएपनि विद्यार्थीहरूसँग सहयोग शुल्क उठाउने कार्य राम्रो नभएको गुनासो पोखेका थिए । उनीहरूले लेखापाल इर्शाद अन्सारीसँग यसबारे सोधनी गर्दा उनले प्रअको निर्देशनमा सहयोग शुल्क लिएको जानकारी गराएको बताए । आफूलाई यसबारेमा केही थाहा नभएको र आदेश पालना मात्र गरेको लेखापालले बताएको विद्यार्थीहरूले वडाध्यक्षलाई जानकारी गराए ।
वडाध्यक्ष अन्सारीले प्रअ चौधरीसँग यसबारेमा बुझेर जवाफ दिने बताए । यसबारेमा प्रअ चौधरीसँग बुझ्दा उनले विद्यालयमा निजी स्रोतका शिक्षकहरू रहेको र उनीहरूलाई तलब दिनका लागि सहयोग शुल्क लिएको बताए । उनले जिल्लाभरिका सामुदायिक विद्यालयहरूमा यस प्रकारबाट सहयोग शुल्क लिइरहेको बताउँदै आफ्नो विद्यालयमा विद्यार्थीहरूबाट थोरै शुल्क लिएको बताए । उनले कक्षा ११ र १२ का लागि पनि दरबन्दीवाला शिक्षक नभएको र निजी स्रोतबाट केही शिक्षकहरू नियुक्त गरिएकाले सोही प्रयोजनका लागि मात्र विद्यार्थीहरूसँग सहयोग शुल्क लिनुपरेको बताए ।