प्रस, वीरगंज, २ पुस/
तराई अस्पताल वीरगंजमा तीन महीने बालकको मृत्यु भएको छ । तीन दिनदेखि अस्पतालमा अक्सिजनको कमी भएर अस्पताल भर्ना गरिएको तीन महीने बालकको शनिवार उपचारको क्रममा मृत्यु भएको हो ।
सखुवा परसौनी गाउँपालिका–६ लखनपुर निवासी कामोदिन मियाँका छोरा असगर मियाँको आज दिउँसो करीब १ बजे मृत्यु भएको बताइएको छ ।
परिवारजनका अनुसार बालकलाई अक्सिजनको कमी भएर तीन दिन अघि अस्पताल ल्याइएको थियो । बिहान ११ बजे आमाले दूध ख्वाएको बालकको अवस्था सामान्य रहेको तर अस्पतालका चिकित्सकले दिउँसो करीब १२ बजे बालकको नाकमा पाइप लगाएपछि रगत निस्केर मृत्यु भएको मुस्तफा अंसारीले बताए ।
अस्पतालका डा. अजय साहले भने बच्चालाई तीन दिन अघि आइसियुमा अक्सिजन कमी तथा झाडा पखालाको बिरामी भएर भर्ना गरिएको बताए । शुक्रवार बिहान बालकमा सुधार भएपछि आइसियुबाट वार्डमा सारिएको र केही घण्टापछि बालक अचेत भएपछि पुनः आइसियु भर्ना गरिएकोमा आज उपचारको क्रममा मृत्यु भएको डा. साहले बताए ।