प्रस, वीरगंज, २ पुस/

ज्येष्ठ नागरिक सङ्घ, पर्साले हिजो शुक्रवारका दिन ज्येष्ठ नागरिक पार्क, लक्ष्मणवामा ‘मधुमेह ः नियन्त्रणको उपाय’ विषयक स्वास्थ्य परामर्श गोष्ठी गरेको छ ।

वीरगंजका लोकप्रिय डाक्टर श्यामसुन्दर दासले उपस्थित ज्येष्ठ नागरिकहरूलाई मधुमेहबारे जानकारी दिंदै बडो रोचक ढङ्गले व्यावहारिक भाषामा रोगबारे जानकारी गराएका थिए । उनले मधुमेह लाग्ने विभिन्न कारणहरूमध्ये अस्वाभाविक आहार पनि एक हो भन्दै भगवान्ले मानिसलाई उसको दुवै काँधमा दुईवटा झोला दिएको बताए । एउटा झोलामा आहार र अर्को झोलामा रोग । आहारको झोला जसैजसै रित्तिंदै जान्छ, अर्को झोलाका रोगहरू सल्बलाउन थाल्छन्, त्यसैले हामीले आहार नियन्त्रित रूपमा गर्नुपर्छ । ठुसेर खानुहुँदैन । धेरैपटक तर थोरैथोरै खानुपर्छ भनी बताएका थिए ।

श्रोताहरूले राम्ररी बुभूmन् भनेर उनले मधुमेहलाई स्थानीय रूटमा चल्ने बसको कन्डक्टरसँग तुलना गर्दै, जसरी स्थानीय कन्डक्टरले बस खाँदाखाँद हुँदा पनि यात्रुलाई चढाइराख्छ, त्यसैगरी मधुमेहलाई नियन्त्रणमा राख्न सकिएन भने यसले आँखाको रोग, मुटुको रोग, रक्तचाप, मिर्गौला तमाम रोगहरूलाई शरीरमा प्रवेश गराउँछ भनेका थिए ।

ज्येष्ठ नागरिक सङ्घ, पर्साले विभिन्न अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसहरूबाहेक प्रत्येक महीनाको पहिलो शुक्रवार यस्ता स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गर्नुका साथै आफ्ना सदस्यहरूलाई पौष्टिक आहारसमेत वितरण गर्ने गरेको छ ।

यस कार्यमा सङ्घलाई अहिलेसम्म वीरगंज महानगरपालिकाले सघाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here