दिनेश मिश्र, वीरगंज, १ पुस/
धोबिनी गाउँपालिका–१ स्थित नेरामावि भिखमपुरमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन हुन्छ तर भौतिक पूर्वाधार र शिक्षक दरबन्दीको अभावमा विद्यार्थीहरूको पठनपाठन व्यवस्थितरूपमा हुन सकेको छैन ।
बालविकासदेखि कक्षा ३ सम्मका बालबालिकाहरूमा भाषा समस्या भएकोले उनीहरूलाई भोजपुरीमा पठनपाठन गराइन्छ । एकजना शिक्षिकाले बालबालिकाहरूमा भाषागत समस्या भएकोले उनीहरूको सहजताको लागि भोजपुरीमा अध्यापन गराउनुपरेको बताइन् ।
नेरामावि भिखमपुरमा बालविकासदेखि कक्षा १२ सम्म एक हजार ५३४ विद्यार्थी भर्ना भएको तथ्याङ्कले देखाउँछ । यो विद्यालयमा विद्यार्थी सङ्ख्या बढी भएकाले कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरू महीना दिनमा १५ दिन मात्रै अध्ययन गर्न पाउँछन् । यी तीनवटा कक्ष्Fामा ५३६ जना विद्यार्थी छन् । विद्यार्थी सङ्ख्या बढी भएको र सो अनुरूपको शिक्षक दरबन्दी नहुँदा विद्यार्थीहरूलाई आलोपालो गरी पढाउने गरेको प्रधानाध्यापक विनयकुमार कुर्मीले बताए ।
उनले भौतिक संरचनाको अभाव र दरबन्दी अनुसार शिक्षक नहुँदा आलोपालो गरी पढाउनुपरेको र यसले ती कक्षाका विद्यार्थीहरूको सिकाइ क्षमता प्रभावित भएको स्वीकारे । उनले शिक्षक दरबन्दीका लागि वडाध्यक्ष र गापा अध्यक्षको ध्यानाकर्षण गराउँदै आएको बताए । उनले पछिल्लो समयमा वडाध्यक्ष र गापाध्यक्षको पहलमा भौतिक पूर्वाधार र चारजना शिक्षकको दरबन्दीका लागि पहल भएको बताएका छन् । उनले विद्यालयमा कक्षाकोठाको अभाव भएको र २० जना मात्रै शिक्षक भएकाले थप १५ जना शिक्षक आवश्यक भएको बताए । प्रअ कुर्मीले विद्यालयमा दशवटा कक्ष कोठा र १५ जना शिक्षकको दरबन्दी बढाइएको खण्डमा सबै तहका कक्षाहरू समानरूपमा नियमित सञ्चालन हुन सक्ने बताए । उनले यथावस्थामा विद्यालय सञ्चालन गर्दा समस्याहरू देखिएको र नियमितरूपमा पठनपाठन गराउन नसकेको दुःखेसो पोखे ।
शिक्षक अभावमा अहिलेसम्म तीनवटा कक्षाको स्वास्थ्य विषय पढाइ नभएको एकजना छात्राले बताइन् ।
गापाध्यक्ष मदनप्रसाद चौहान र प्रमुख प्रशासकीय अधिकृत नवाज हुसेनले विद्यालयको अवस्थाबारेमा अवगत भएको र नगरपालिकाले भौतिक संरचना निर्माण र शिक्षक दरबन्दी बढाउनेतर्फ पहल गरिरहेको र यो समस्याको चाँडै समाधान गरिने आश्वासन दिए ।