प्रस, वीरगंज, १ पुस/

नेपाल पत्रकार महासङ्घ, पर्साको २५औं वार्षिक साधारणसभा शुक्रवार महासङ्घको सभाहलमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहानले साधारणसभाको उद्घाटन गरेका थिए ।

उनले पछिल्लो चरणमा पत्रकारिताको विकास भएसँगै विकृति पनि मौलाएको भन्दै मर्यादित पत्रकारिताको लागि सबैको पहल आवश्यक हुने बताए । वीरगंजको पत्रकारिता शुरूदेखि बदनाम गरिएको तर आशाप्रदरूपमा यसमा सुधार भएपनि अहिले पनि केही विकृतिहरू रहेकाले त्यसको सुधारमा सबैको पहल हुनुपर्ने सुझाव दिए । उनले वीरगंजमा एकथरी पत्रकारले मेहनत गर्ने र अर्कोथरी पत्रकारले त्यसको हूबहू गरेर पत्रकारिताको मानमर्दन गरेको बताए ।

समाचार स्रोत खोलेर मात्र समाचार प्रकाशन गर्न उनले आग्रह गरे । मेहनत गर्ने र गुणी पत्रकारहरू ओझेलमा परेका र हूबहू गर्नेहरूको हालीमुहाली भएकाले त्यस्ता कार्य गर्नेविरुद्ध महासङ्घले निगरानी गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछानेले सङ्ख्यात्मकरूपमा पत्रकारको सङ्ख्या बढे पनि गुणात्मकरूपमा बढ्न नसकेको भनी चिन्ता जाहेर गरे ।

महासङ्घका मधेस प्रदेश महासचिव श्याम बन्जाराले मूल्यनिष्ठ पत्रकारिता गर्नुपर्ने सुझाव दिए । पत्रकारिता क्षेत्रमा भएका अवगुणहरूलाई हटाउने, नयाँ सिराबाट पत्रकारिताको विकास गर्नुपर्ने र यसका लागि युवाहरूको सक्रिय सहभागिता आवश्यक हुने बताए । वीरगंजको पत्रकारितामा देखिएका विकृतिहरूलाई क्रमशः सुधार गर्दै जानुपर्ने उनले बताए ।

महासङ्घका पूर्व मध्यमाञ्चल संयोजक महेश दासले पत्रकारिताको आकर्षण बढेसरह पत्रकारहरूको सोही अनुरूपको सहभागिता आवश्यक हुने बताए । अहिलेको प्रविधिको युगमा पत्रकारहरू पनि प्रविधिमैत्री हुनुपर्ने र समाचार सोही अनुरूपको पस्केर पाठकहरूको मन जित्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ, मधेस प्रदेशकी सदस्य लक्ष्मी खरेलले महिला पत्रकारहरूलाई समानरूपमा अवसर दिनुपर्ने बताइन् । उनले महिला पत्रकारहरूको वृत्ति विकास, तालीमलगायत उनीहरूलाई अवसर प्रदान गर्नुपर्ने र यस कार्यमा कञ्जुस्याइँ हुँदै आएको भनी गुनासो पोखिन् ।

महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पूर्वअध्यक्ष अशोक तिवारी,  डा विश्वम्भर शर्मा, निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, पत्रकारहरू राघव साह, नीरज पिठाकोठे मगर, विजय चौहान, विजय भण्डारीलगायतले साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव भूषण यादवले गरेका थिए ।

साधारणसभा उद्घाटनपछि बन्दसत्र सम्पन्न भएको थियो । बन्दसत्रमा सचिव भूषण यादवले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सञ्जीव मिश्रले आर्थिक प्रतिवेदन पेश गरेकामा परिमार्जनसहित पास भएको थियो । बन्दसत्रमा पत्रकार महासङ्घले गर्नुपर्ने दायित्वका कार्यहरू इमानदारीपूर्वक गर्नुपर्ने, सदस्यता वितरण पूर्वाग्रहरहित हुनुपर्ने, तालीम प्रशिक्षणहरूमा समान सहभागिता गराउनुपर्ने जस्ता कुराहरू सहभागी पत्रकारहरूले उठाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here