- राजेश मिश्र
“माई रे, धुन घेरले बा, बडी जाड लागता, हम ना नाहाएम, हो दादा ।” भुइँ खुट्टा बजार्दै बालक कराइरहेको थियो । आमा भने छोरालाई पछ्याइरहेकी थिइन् । बच्चाको क्रन्दन, भूकम्पको परकम्पभन्दा कम थिएन । उसको क्रन्दन छरछिमेकसम्म प्रतिध्वनित भइरहेको थियो । आमाको मुखबाट नुहाउनैपर्ने कुरा सुनेपछि त्रसित बालक मानौं धर्ती नै हल्लाइदिने गरी कराइरहेको थियो । ठूलो आवाजमा रुनुबाहेक ऊसँग छुटकारा पाउने विकल्प थिएन । ठूलो स्वरमा क्रन्दन गरेर आमालाई रिझाए नुहाउनबाट बच्न सकिन्छ भन्ने कुरा बालमस्तिष्कमा अङ्कुरित हुनु अस्वाभाविक थिएन ।
उसले रोदन–क्रन्दनसँगै आँखा मिचेर आँसु चुहाउने प्रयत्न पनि कम गरेन । बालकहरूले मोेतीरूपी आँसु चुहाएर आमालाई रिझाउनु सबभन्दा सरल उपाय ठान्छन् । यद्यपि जति प्रयत्न गरे तापनि बनावटी रुवाइले आँखामा आँसु प्रकट हुने कुरै भएन । छोराको नाटक हेरेर मनमनै हाँसिरहेकी आमालाई जबरजस्ती गरे बालमनोविज्ञान झन् उत्तेजित हुने कुरा थाहा थियो । त्यस कारण उनी बच्चालाई सक्दो फकाउने प्रयत्न गर्दै थिइन् ।
काखमा राखेर कपडा फुकाल्न लागेको बेला छोरो उम्कन सफल भयो । केही पर गएर हातखुट्टा चलाउँदै ननुहाउने विलाप गरिरह्यो । बच्चाको विलापको असर आमाको ह्दयमा परिरहेको थिएन भन्ने होइन । यद्यपि सधैं बच्चाको भलो देख्ने आमा त केवल असर नपरेझैं अभिनय गर्न बाध्य थिइन् । किनभने छठपछि छोराले नुहाएकै थिएन । जुम्राले कपाल र कपडा भरिएको थियो । परजीवीहरूको टोकाइले ऊ टाउको र जीउ कन्याइरहन्थ्यो । दुर्गन्धले उसको शरीर भरिएको थियो । आज जसरी पनि नुहाइदिने अडानमा आमा थिइन् । आमा समात्ने र छोरो माछाजस्तो फुत्कने क्रम चलिरहेको थियो ।
आमाले एक बाल्टी पानी तताएर नुहाउने ठाउँमा राखिसकेकी थिइन् । घरको भित्तामा अडेस लागेको बालक रातो आँखा पारेर पानीलाई शत्रुझैं हेरिरहेको थियो । गाउँघरमा प्रायः जादूको खेल हेरिरहने उसले ‘जादू सिकेको भए आज पानी गायब पारिदिने उसको सोच थियो’– शायद बाल मस्तिष्कमा यतिबेला यहीं कुरा खेलिरहेको थियो । जाडोयाममा पानीसँग ऊ तर्सेको मात्र थिएन, अपितु असाध्यै रिसाएको पनि थियो ।
छिमेकी बूढी आमाले बच्चाप्रति माया दर्शाउँदै आमासँग भनिन्– “काहे लइका के परेशान कइले बाडु हो, पतोह । आज छोड द बडा ठण्ठा बा, मत नहवाव लइका के ।” त्यति बेलै एकजना वयस्क त्यहाँ आइपुगे । उनले बच्चातर्फ हेरेर उसकी आमालाई इङ्गित गर्दै भने–“हो भौजी, कल पर काहे नहवावतारू ? रह हम एकरा के पकड के ले जातानी पोखरा में नहवावे ।” र ठहाका लगाउँदै हाँस्न थाले । यो कुरा सुनेपछि बच्चा जोडजोडले रुँदै र कराउँदै भन्यो, “बुझाता ताहरा बिखिन–बिखिन के गारी सुने के मन बा ।” त्यसपछि ‘ऊँऊँ’ गर्दै उच्च आवाजमा रुन–कराउन थाल्यो ।
जो आउँथ्यो, कोही पोखरीमा, कोही खोलामा त कोही इनारमा नुहाइदिन भन्दै बच्चालाई जिस्काउँथ्यो । बाल मस्तिष्कलाई उनीहरूको कुरा साँचो लाग्थ्यो र ऊ धर्तीमा खुट्टा ठोक्दै पुनः रुन–कराउन थाल्थ्यो । आमाले भनिन्–“मत रोव हमर बाच्चा, नहाएला पानी गरम कर देले बानी ।” आमाले पानी तातो गर्नुभन्दा अघि ‘पगाड’ (सुकेको उखुको पात) को प्रबन्ध गरिसकेकी थिइन् । घुर बाल्ने स्थान देखाउँदै आमाले स्नेहपूर्वक छोरासँग भनिन्–“आव हमर बाबु, नाहाल, नहालेब नु तब हई पगाड के आगी बारदेम, ताप लिह । जाड भाग जाई ।”
बच्चाले पुनः ननुहाउने कुरा चिच्याई–कराई भन्न थाल्यो । बच्चालाई तब झट्का लाग्यो, जब पछाडिबाट एक वयस्कले उसलाई समाते । बच्चाले हातखुट्टा चलाउँदै छोडाउने प्रयत्न गरिइरह्यो । तर वयस्कको पञ्जाबाट फुत्कने उसको प्रयास सफल हुने कुरै थिएन ।
अहिले ऊ पुनः आमाको काखमा थियो । आमाले बच्चाको शिर सुम्सुम्याउँन थालिन् । उनले छोराको गालामा म्वाइँ खाँदै भनिन्–“नाहाल हमर बाबु, देख त तहर देह केतना फुहर भइल बा । केतना मइल बैठल बा, महकता । मुडी में ढील आ कपडा में केतना चिलर परल बाडसन ।” धेरैबेरदेखि चीसो सहन गरिरहेको बच्चा आमाको काखमा न्यानो पाएसँगै सुस्त हुन थाल्यो । कारुणिक स्वरमा बच्चाले भन्यो–“माई, मत नहवाव ना, हम ना नाहाएम ।” बच्चाको अनुनय आमाको मुटु नछुने कुरै थिएन । उनी भावविह्वल भइन् । नुहाउने वा ननुहाउनेबारे उनी द्विविधामा परिन् ।
आमाको मनमा उत्पन्न क्षणिक कठोरपन अन्ततः करुणाको सागरमा विलीन हुन बेर लागेन । बच्चासँग आमाहरूको अकाट्य स्नेह मात्र हुँदैन, अपितु बच्चाको हरेक दुःखसुखसँग तारतम्य अतुलनीय हुन्छ । आमाले छोरासँग भनिन्–“बिहान नहा लिह हमर बाबु, ठीक बा नु ?” निद्राको झपकी लिइरहेको बच्चाको घरी आँखा खुल्ने र घरी झ्याप्प हुने क्रम चलिरहेको थियो । यद्यपि उसले शिर हल्लाउँदै–“होइ माई” सङ्केत गर्यो र निद्रामग्न भयो । आमाले छोरालाई परालको ओछ्यानमा सुताएर गुदरा ओढाइदिइन् ।
साँझ परिसकेको थियो । आमा भान्साको कामकाजमा व्यस्त भइन् । घरपरिवारले रातिको खाना खाए । उता वयस्कजन घुर ताप्दै गफगाफ गर्न लागे । रातिको नौ बज्यो । आमाले छोरालाई उठाउन थालिन्–“उठ हमर बाबु, खाना खा ल ।” बच्चा बिउँझियो । यताउति हेर्न थाल्यो । जाडोयामको कुहिरोमय उज्यालोमा दिउँसो निदाएको ऊ दियोको मधुर प्रकाश देखेर बिहानको हो कि राति, ठम्याउन सकेन । आँखा मिच्दै उसले आमासँग प्रश्न ग¥यो–“माई, बिहान हो गइल का ?” आमाले मुटुमा टाँसेर भनिन्–“ना हमर लाल, भल त रात भइल ह ।” आमाले बच्चाको आँखा सफा गरिन् र त्यसपछि खाना खुवाइदिइन् ।
पुस महीनाको चीसो रातमा केवल स्याल, कुकुर र झिंगुरको आवाज गुञ्जायमान थियो । सरेहमा स्यालहरूको ‘हुँवा–हुँवा’को गुञ्ज उठेसँगै गाउँमा कुकुरहरूकोे ‘भों–भों’ शुरू हुन्थ्यो । यसरी स्याल र कुकुरबीच पौंठेजोरी चलिरहेको थियो । मस्त निद्रामा सुतिरहेका बालकको बुबाले मध्यरातमा अचानक कराउँदै भने–“जियान कर देखल ।” पतिको आवाजबाट बिउँझेकी पत्नीले हाई गर्दै प्रतिप्रश्न गरिन्–“का भइल ह ?” पतिले भने–“का भइल ह पुछतारु ? हेतना महकता त नइखे बुझात का ? तोहर लाल, बिछौना पर हगमुत के किचाहिन कर देलख ।”
“उहुँउहुँ…छिया रे छिया !” गर्दै पति पुनः कराउँदै भने, “लाइट (टर्च) ना बार हो, देह–हाथ सब भिंज गइल ।” नाक थिंचेर “बाँप रे बाँप” भन्दै पति चापाकलतर्फ लागे । निद्रामा अचेत बालकलाई बुबाको क्रन्दनसँग मतलब हुने कुरै भएन । ऊ त घोडा बेचेर सुतेझैं मस्त निद्रामा थियो । आमाले लालटिनको प्रकाशमा छोराको मलमूत्र सफा गरिन् । त्यसपछि ओछ्यानबाट भिंजेको गुदरा हटाएर अर्को गुदरा परिवर्तन गरिदिइन् । बच्चालाई काखमा लिएर ओछ्यानमा पल्टेकी उनी कतिखेर निदाइन् पत्तै भएन ।
चराचुरुङ्गीहरूको चिरबिरसँगै बिस्तारै उज्यालो हुन थालेको थियो । बिहानको दश बजिसक्दा पनि भर्खर बिहान भए जस्तै मौसम थियो । बाक्लो कुहिरो लागेकोले सूर्यको प्रकाश ओझेल थियो । छोराले ओछ्यानमा सधैझैं “माई आँख से नइखे लउकत” भन्दै कराइरहेको थियो । उसको आँखा चिप्राले टाँसिसकेको थियो । आज पनि आमाले तातो पानीले छोराको आँखा सफा गरिदिइन् ।
बिहानको झन्डै एघार बजेपछि सूर्यको मधूरो प्रकाश दृश्यमान भयो । आमाले पानी तातो गरिन् । छोरालाई स्नान गराइरहँदा बाख्रीको ‘मेंमें’ गुञ्जित भयो । बालक र बाख्रीको आँखा जुध्यो । बालकलाई बाख्रीले आफूलाई जिस्काइरहेको भान पर्यो । छोराले आमासँग गुनासो गर्दै भन्यो–“माई ! हमर नाहाइल देख के बकरिया चिंडावतिया ।” आमाले बाख्रीतर्फ हेर्दै भनिन्–“चिंडावतिया ? रह आजु बकरी के ठण्डा पानी से नहाव देतानी”–आमाले बच्चालाई सान्त्वना दिंदै भनिन् । बाल मन औधी खुशी भयो ।
छोराले हिजो जस्तै आज हर्कत गरिरहेको थिएन । छोरालाई आमाले तातो पानीले नुहाइदिइन् । कपडा, स्वेटर पहिर्याएर शिरमा गाँती बाँधिदिइन् । त्यसपछि कपालमा तोरीको तेल र आँखामा काजल लगाइदिइन् । मुस्कुराउँदै आमाले “हे भगवान् र हमर लाल, हमर राजा के केहु के नजर ना लागो” भन्दै म्वाइँ खाइन् । बच्चा द्वारमा खेल्न थाल्यो । छोरालाई हेर्दै आज आमा निकै हर्षित थिइन् ।