- डा शिवशङ्कर यादव
मासुमाछासँग को परिचित छैन होला ? चोकचोकमा मासुपसल पाइन्छ । किन्न र खान तँछाड–मछाड हुन्छ । मासु स्वादिष्ट त हुन्छ नै, यसमा पाइने प्रोटिन प्रथम श्रेणीको मात्र हुँदैन, शरीरले बनाउन नसक्ने सबै अनिवार्य एमिनोएसीड पनि पाइन्छ । कुनै पनि जनावरले आफ्नो खाना बनाउन सक्दैन, पचाउन मात्र सक्छ । त्यसैले मानिस वा जनावर बोटबिरुवा र अन्य जनावरमाथि निर्भर हुन्छन् । हाम्रो शरीरमा केही प्रक्रिया छ, जसले बोटबिरुवाबाट प्राप्त तत्वबाट आफ्नो लागि मांस, मज्जा, हाड, रगत सबै बनाउँछ । यसरी अन्य जनावरलाई मारेर हामी तयार खाना प्राप्त गर्छौं । रूख, बिरुवा माटो, पानी र सूर्यबाट खाना बनाउँछन् । यस अर्थमा मानिस रूख–बिरुवाभन्दा धेरै पछाडि छ । आजभोलि प्रयोगशालामा कृत्रिम मासु बन्न थालेको समाचार छ । खैर मेरो यस लेखको उद्देश्य त्यस्तो मासुको विवेचन गर्नु होइन, वरन् मांसपेशीको रचना, बनावट, सजावट र क्रियाविज्ञान वर्णन गर्नु हो ।
कुनै पनि, हाडसँग टाँसिएको मांसपेशीमा निम्नलिखित तत्व पाइन्छ : पानी ७५ प्रतिशत र ठोस २५ प्रतिशत । ठोसमा अरू सरह अर्गेनिक र इनअर्गेनिक पदार्थ हुन्छ । अर्गेनिकमा : प्रोटिन कित्तामा मायोसिन, एक्टिन, ट्रोपोमाइसिन, एक्टिनिन, डेस्मिन, नेबुलिन, टाइटिन र मायोग्लोबिनस कार्बोहाइड्रेटमा : ग्लाइकोजेन र हेक्सोफस्फेटस लिपिडमा : न्युट्रल फैट, कोलेस्टरोल, लेसिथिन र स्टेरोवायड र नाइट्रोजीनस तत्वमा : एटिपी, एडिनिलिइक एसिड, कैमोसिन र कार्मिटिन्युरिया, क्रिएटिन र फस्फोक्रिएटिन, युरिया र युरिकएसिड तथा जैन्थिन र हाइपोजैन्थिन हुन्छन् । त्यस्तै नै इनअर्गेनिक तत्वमा : पोटिसियम, सोडियम, कैल्सियम, मैग्नेसियम, क्लोराइड, फस्फेट, सल्फेट हुन्छ । मासुको रातो रङ्ग यसमा उपस्थित मायोग्लोबिनले गर्दा हुन्छ । चराको मासुमा यो मायोग्लोबिन कम हुन्छ, त्यस कारण त्यसलाई ह्वाइट–मिट भनिन्छ । रेड मिटभन्दा ह्वाइटमा बोसो र कोलेस्टरोल कम हुन्छ र यस कारण रेड मिटभन्दा यो राम्रो मानिन्छ । पोटाशियम चाहिं मासुको मुख्य मिनरल हो ।
हाडमा मासु र छाला थपियो भने मात्र हाम्रो पहिचान निश्चित हुन्छ । मांसपेशी हाडसँग यति बलियोगरी टाँसियेको हुन्छ कि शरीरका सारा गतिविधि जसरी हिंड्नु, रोकिनु, दगुर्नु हाँस्नु, रुनु, उदास हुनु, सामान उठाउनु, ढुवानी गर्नु, आदि सबै मासु र हाडको समन्वयले मात्र सम्भव छ । यसको अलावा मासु भएन भने श्वास लिन, मुटु धड्कनु र खाना पच्नु असम्भव हुन्छ ।
नाङ्गो आँखाले हेर्दा मासु २–३ सेमि देखि ६०० सेमिसम्म लामो हुन्छ । हाम्रो शरीरमा ६०० मांसपेशी छ जसको नाम हाडमा जोडिए अनुसार र अन्य तरीकाले पनि गरिन्छ । सबैको नाम उल्लेख गर्न यहाँ जरूरी छैन र फाइदा पनि छैन । यति मात्र बुझे पुग्छ कि सबैभन्दा लामो मांसपेशी सार्टोरियस हो जो तिघ्रामा पाइन्छ । यसलाई हनिमुन मांसपेशी पनि भनिन्छ किनभने तिघ्रा फैलाउने र खुम्च्याउने पेशी यही हो । सबैभन्दा बलियो हो, मैसेटर जुन बङ्गारामा पाइन्छ । यसले ५५ पौंड फोर्स इनसाइजर र २०० पौंड फोर्स मोलर टिथ साइडमा लगाउन सक्छ । महिलामा सबैभन्दा बलियो मांसपेशी हो, गर्भाशय– जसले बच्चा जन्मिंदा ७ केजीको फोर्स लगाउन सक्छ । तर मुटुको मांसपेशी पनि कम छैन किनभने मुटु दिनहुँ एक लाखचोटि सम्म धड्केर ३६०० गैलन रगत ७५००० माइल लामो रगत नलीमा पु¥याउँछ । यस अर्थमा मुटुको स्थान पहिलो हो । सबैभन्दा सानो स्टेपेडियस हो जुन कानमा पाइन्छ । त्यस्तै, हाँस्ने पेशी हो जाइगोमेटिकस मेजर तथा रुने र उदास गराउने पेशी हो कोरुगेटर र डिप्रेसर एंगुलाई, डराउने र होरर मांशपेशी हो फ्रोन्टलिस र मेन्टलिस । सबैभन्दा तेज आँखाको पेशी आर्बिकुलरीस ओकुलाई नामक मांसपेशी हो । पाखुरामा जुन सुई दिइन्छ, त्यो ढेल्टवायड तथा फिलोमा ग्लुटियस मैक्सिमस नामक मांसपेशीमा दिइन्छ । हामी पाखुरा फुलाएर जुन शेखी बघार्छौं त्यसको नाम बाइसेप्स मांसपेशी हो । महिलाको ब्रेस्ट पेक्टोरलिस नामक मांसपेशीमाथि स्थित हुन्छ ।
मांसपेशी तीन प्रकारको हुन्छ :
१. स्केलेटल–हाडसँग टाँसिएर विभिन्न प्रकारको काम, जस्तै हिंड्नु र हातले गर्ने काम गरिन्छ । यसलाई स्ट्रिप्ड, स्ट्रायेटेड वा भोलन्टरी मांशपेशी पनि भनिन्छ । स्ट्रिप्ड मतलब कमीजमा देखिने लामालामा धारी, स्ट्राएटेडको मतलब ग्रुभ जस्तो हुनु हो । भोलन्टरीको मतलब हामी जे चाहन्छांैं त्यही काम सम्बन्धित मांसपेशीबाट लिन सक्छौं । २. स्मुथ : यो स्ट्रिप्ड हुँदैन, त्यसकारण यसलाई स्मुथ मांसपेशी भनिन्छ । यो आन्द्रा, मूत्रप्रणाली, रक्तनलिका आदिमा हुन्छ । यसको एकपछि अर्को सङ्कुचन र फैलावले खाना आदि अगाडि बढ्छ । स्केलेटल र यी दुवै मांसपेशी धेरै काम गरेपछि थाक्छ । तर ३. कार्डियेक मांशपेशी कहिल्यै थाक्दैन । यो मुटुको भित्तामा पाइन्छ । यसका स्ट्रिप वा स्ट्रायेशन धेरै कमजोर अथवा फीका हुन्छ । यो पनि हाम्रो कन्ट्रोलमा नभएर स्वचालित हुन्छ ।
प्रत्येक स्केलेटल मांसपेशीका दुईटा मुख हुन्छ : एउटालाई ओरिजिन र अर्कोलाई इन्सर्सन भनिन्छ । ओरिजिन एउटा बोनमा र इन्सर्सन अर्को बोनमा हुन्छ । ओरिजिन हुने बोन एक्शनको बेला स्थिर रहन्छ र इन्सर्सन भएको बोन एक्शनमा आउँछ । जसरी हामी खुट्टा खुम्चाउँछौं तब पेल्भिक बोनबाट ओरिजिन मांशपेशी खुम्चन्छ, पेटेलामा इन्सर्सन भएकोले घुँडा चल्छ, तर पेल्भिकबोन स्थिर रहन्छ । ओरिजिन र इन्सर्सन दुवै रबरको डोरीजस्तो हुन्छ । ओरिजिनको डोरी सानो तर इन्सर्सनको डोरी ठूलो हुन्छ । यस डोरीलाई टेन्डन भनिन्छ । हेर्दा मांसपेशी नै पातलो भएर बनेको जस्तो लाग्छ । तर यो मांसपेशीको भाग नभएर अलग्गै संरचना हो । यसरी घुँडा माथि ल्याउने क्रियालाई फ्लेक्शन र फेरि पहिलेजस्तो अवस्थामा ल्याउने प्रक्रियालाई एक्सटेन्शन भनिन्छ । यसरी नै अरू रोटेशन, एडक्शन, एब्डक्शन आदि मुभमेन्टका प्रकार छन् । एडक्शन दुवै खुट्टा टसाउनु र एब्डक्शन मतलब खुट्टा फैलाउनु हो ।
मांसपेशीको चार चरित्र हुन्छ : १. एक्साइटेबिलिटी अर्थात् कुनै कुराले यसलाई उत्तेजित पार्न सकिन्छ । जसरी चिमोट्यो वा आगोमा हात पर्न गयो भने तुरुन्त मांसपेशी काम गर्नको लागि उत्तेजित हुन्छ र हामी हात हटाउँछौं । २. कन्ट्रेक्लिटी अर्थात् मांसपेशीमा खुम्चन सक्ने क्षमता हुन्छ । ३. एक्सटेन्सिबिलिटी अर्थात् मांसपेशीलाई लम¥याउनु वा स्ट्रेच गर्न सकिन्छ र ४. इलास्टिसिटी ः अर्थात् लम¥याउन छोडेपछि मांसपेशी फेरि पूर्व अवस्थामा फर्कन्छ । टेन्डनमा केवल यही मात्र गुण हुन्छ । त्यसैले मांसपेशीसँग एटैच भएपनि टेन्डन मांसपेशी होइन । नाङ्गो आँखाले लाश चिरफार गरेर के देखिन्छ भने मांसपेशी एउटा कभरभित्र हुन्छ जसलाई फासालाटा भनिन्छ । यसरी केवल नाङ्गो आँखाले गर्ने निरीक्षणलाई ग्रौस एनाटोमी भनिन्छ, जसको पिता हिप्पोक्रेटस हुन् र सम्पूर्ण एनाटोमीको पिता हीरोेफिलिस हुन् । मांसपेशीलाई वेसालियसले मसल नाम दिए । लैटिनमा मस माने माउस हुन्छ । त्यसैबाट उनले मसल नाम दिये । आधुनिक युगमा १९२४ देखि जग हक्सले र एन्ड्रयु हक्सलेले मांसपेशीको सिलसिलेवार अध्ययन गरे ।
मांसपेशीको आकार कैयौं प्रकारको हुन्छ जसरी : सिलिन्ड्रिकल अर्थात् बेलना आकारको, स्पिन्डल अर्थात् सियोजस्तो, फ्युजिफर्म अर्थात् दुवैतिर चुच्चो भएको । यसैगरी मासुका फाइबरहरू समानान्तर : स्मुथ मसल बेल्टजस्तो हुन्छ जसमा लम्बवत समानान्तर फाइबर हुन्छ । कार्डियेक मांसपेशीमा दुवै प्रकारका फिलामेन्ट पाइन्छ । सर्कुलर : यसमा फिलामेन्ट मिलेर एउटा वृत्त बनाउँछ र यो मलद्वार वा मूत्रद्वारमा पाइन्छ । यसबाहेक चराको प्वाँख सरह बीचमा एउटा डाँठ हुन्छ र दुवैतिर मांसपेशीका फिलामेन्ट हुन्छन् । जब डाँठको एकातिर मात्र फिलामेन्ट हुन्छ तब त्यसलाई युनिपिनेट, दुवैतिर भए बाइपिनेट र यसरी नै मल्टिपिनेट पनि हुन्छ । यस्ता मांसपेशी पञ्जा र गोडामा पाइन्छ । यो भयो मांसपेशीको सजावट ।
माइक्रोस्कोपिक बनावट : मांसपेशीको सिंगलसेललाई मायोफिब्रिल भनिन्छ । फाइबरको अर्थ धागो हुन्छ । मांसपेशी स्वयं एक सेल हो जसको सेलमेम्ब्रेनलाई सार्कोलिमा र साइटोप्लास्मलाई सार्कोप्लाज्म भनिन्छ । यसको सेलभित्र एक वा एकभन्दा बढी न्युक्लियसको साथै सेलमा पाइने सबै संरचना– जस्तै गोल्जीबडी, माइटोकौंड्रिया आदि पनि साइटोप्लास्ममा पाइन्छ । यो त भयो एउटा फाइबर, जसको बाहिर एउटा कभरिङ हुन्छ, जसलाई इन्डोमाइसिन भनिन्छ । यस्ता अनेकौं फाइबर एक साथ हुन्छ, जसलाई फेसाइकल भनिन्छ । यस फेसाइकलमाथि पनि एउटा कभरिङ हुन्छ, जसलाई पेरिमाइसियम भनिन्छ । अब यो फेसाइकल पनि एक्लै होइन, अनेकौं एकसाथ मिलेर बसेका हुन्छन् जसलाई बन्डल भनिन्छ । यो पनि एउटा कभरिंगले ढाकिएको हुन्छ, जसलाई इपिमाइसियम भनिन्छ । मतलब फिब्रिलको समूह फेसिकल हो र फेसिकलको समूह हो बन्डल । एउटा फिब्रिल ३ देखि १२ सेमी लामो हुन्छ र यसरी पूरै पेशीको लम्बाइमा सजाइएको हुन्छ । यसलाई अझ स्पष्टरूपले यसरी बुझ्न सकिन्छः
एउटा पातलो छडी लिनुस् र त्यसलाई प्लास्टिकले बेर्नुस् । यहाँ छडी मायोफिब्रिल वा फिलामेन्ट हो र प्लास्टिक हो इन्डोमाइसियम । अब यस्ता १०० वटा छडी लिएर सबैलाई एउटा अर्को प्लास्टिकले बेर्नुस् । यी १०० वटा छडी एउटा फेसाइकल हो र प्लास्टिक हो पेरिमाइसियम । अब फेरि हजारवटा यस्ता फेसाइकल लिनुस् र त्यसलाई पनि एउटा प्लास्टिकले बेर्नुस् । यही हजार वटा फेसाइकलहरू बन्डल हो र कभरिंग हो इपिमाइसियम ।
लाइटमाइक्रोस्कोपले हेर्दा यसभन्दा पनि विचित्र दृश्य देखिन्छ । त्यो के भने प्रत्येक फिब्रिल एक्टिन र मायोसिन नामक प्रोटिनले बनेको हुन्छ । यसमा दुई तत्व हुन्छ, जसमा एउटालाई डार्कबैन्ड र अर्कोलाई लाइट बैन्ड भनिन्छ । प्रकाश जुन बैन्डमा पर्छ र भित्र रिफ्रेक्ट हुन्छ त्यसलाई डार्क र जसमा प्रकाश रिफ्रेक्ट हुँदैन त्यसलाई लाइटबैन्ड भनिन्छ । यसलाई ए र आई बैन्ड पनि भनिन्छ । यी दुवै प्रोटिन एउटा रेखामा हुन्छ तर आपसमा टाँसिएको हुँदैन । बीचमा स्पेस हुन्छ र पर्पेन्डिकुलर धर्को हुन्छ जसलाई एम लाइन भनिन्छ । यो त भयो ए र आई बैन्डको बीचको धर्को । दुई आइबैन्डको वीचमा पनि एउटा धर्को हुन्छ, जसलाई जेडलाइन भनिन्छ । यिनै एक्टिन र मायोसिन तत्व मांसपेशीको कन्ट्रेक्टाइल तत्व हुन् । अर्थात् यसैको कारणले नै मांसपेशी खुच्निन र फैलन सक्छ ।
भनिन्छ बूढी औंलाको मांसपेशीको सम्बन्ध ब्रेन, इन्डेक्स फिंगरको लिभर, मिडिलको मुटु, रिंग फिंगरको हार्मोन र लिटिल फिंगरको सम्बन्ध पाचनसित हुन्छ । यो एक्युप्रेसरको सम्बन्धमा महत्वपूर्ण छ । मसलले लगाउने फोर्स २० देखि ३० न्युटन प्रतिवर्गसेमी हुन्छ । पुरुषभन्दा महिलाको फोर्स ३३ प्रतिशत कम अथवा ६७ प्रतिशत मात्र हुन्छ ।
मांसपेशी बनाउन प्रोटिन खानु निकै आवश्यक छ । प्रोटिनले हार्मोन र इम्युनसेल पनि बनाउँछ । तर मांसपेशी बन्नु केवल प्रोटिनमा निर्भर हुँदैन । व्यायाम गरिएन भने खाएको खेर जान्छ । व्यायामले नै नयाँनयाँ मांसपेशीको निर्माण भइरहन्छ । यो कुरा कति महत्वपूर्ण छ भने यदि कुनै अङ्गलाई काममा लगाइएन भने त्यो नाकाम भएर जान्छ, जसलाई ननयुज वा डिसयुज एटुरोफी भनिन्छ । एट्रोफीको मतलब सुखेर जानु हो । जसरी मिनोपोजपछि बच्चा जन्माउने काम हुँदैन र पाठेघर सुखेर जान्छ । यसरी डिसयुज वा ननयुज एट्रोफीका धेरै उदाहरण हुन सक्छ । त्यस कारण हामीले आफ्नो अङ्गप्रत्यङ्गबाट सधैं काम लिइराख्नुपर्छ । मेरो विचारमा यति वर्णन हाम्रो लागि पर्याप्त छ । यद्यपि जति वर्णन गरे पनि धेरै बाँकी रहने कुरा पनि सत्य हो । अस्तु !