- उमाशङ्कर द्विवेदी
तिम्रै हित गर्नको लागि इन्द्रले छल गरी उसलाई कवच र कुण्डलहीन गरिदिए । त्यसैको साटोमा इन्द्रले कर्णलाई त्यो अमोघ शक्ति प्रदान गरेका थिए । त्यसपछि कर्ण सदैव तिमीलाई मरेकै ठान्थ्यो । आज यद्यपि उसका यी सम्पूर्ण वस्तु ऊसित छैन तैपनि तिमीबाहेक अन्य कसैले पनि कर्णलाई मार्न सक्दैन । कर्ण ब्राह्मणभक्त, सत्यवादी, तपस्वी, व्रतधारी र शत्रुहरूमाथि दया गर्ने खालका योद्धा हुन् । सम्पूर्ण देउताले चारैतिरबाट कर्णमाथि बाणहरूको वर्षा गरून् र दैत्यहरूले उनीमाथि काँचो मासु र रगत फालेर पनि उनलाई जित्न सक्दैनन् । कवच, कुण्डलर इन्द्रले दिएको शक्तिबाट वञ्चित भएपछि आज कर्ण साधारण मनुष्यझैं भइसकेका छन्, तैपनि उनलाई मार्ने एउटै उपाय छ । उनको कुनै कमजोरी देखिए, उनी असावधान भए र रथको पाङ्ग्रा माटोमा गाडिएको बेला उनी सङ्कटमा परेको भए, यस्तो समयमा मेरो सङ्केत अनुसार सावधानीको साथ उनलाई मारिदिनु । तिम्रो हितको लागि नै मैले जरासन्ध–शिशुपाल आदिलाई एक/एक गरी मार्न लगाएको छु तथा हिडिम्ब, किर्मीर, बक, अलायुध आदि राक्षसहरूलाई पनि मैले नै मार्न लगाएको हँु । जरासन्ध र शिशुपाल पहिले नै नमारिएको भए यतिबेला भयङ्कर सिद्ध हुन्थे । दुर्योधन आफ्नो सहायता गर्नको लागि उनीहरूसित अवश्य नै प्रार्थना गर्ने थिए र उनीहरू हामीसित सदैव द्वेष गर्ने भएको हुनाले उनीहरूले कौरवहरूको अवश्य नै पक्ष लिने थिए । दुर्योधनको सहायता पाएर उनीहरूले सम्पूर्ण पृथ्वीलाई पनि जित्ने थिए । जुन उपायद्वारा मैले उनीहरूलाई नष्ट गरे, त्यसबारे सुन– युद्धमा रोहिणीनन्दन बलदेवजीले जरासन्धको तिरस्कार गरे । यसबाट क्रोधित भएर उसले हामीहरूलाई मार्नको लागि सर्वसंहारिणी गदाको प्रहार गर्यो । त्यस गदालाई आफूतिर आइरहेको हेरेर दाइ बलरामले त्यसको नाश गर्नको लागि स्थूणाकर्ण नामक अस्त्रको प्रयोग गरे । त्यस अस्त्रको वेगबाट प्रतिहत भएर त्यो गदा पृथ्वीमाथि झर्यो । झर्दैमा पृथ्वीमा चिरा पर्यो र धर्ती काम्यो । जुन स्थानमा गदा झरेको थियो, त्यहाँ जरा नाम गरेकी एउटी भयङ्कर राक्षसी बस्दथिई । गदाको आघातबाट ती राक्षसी र उसका पुत्र बान्धवसहित मारिए ।
जरासन्ध बेग्लाबेग्लै दुई टुक्रामा जन्मेको थियो, ती टुक्राहरूलाई यिनै जरा नाम भएकी राक्षसीले जोडेर जीवित पारेकी थिई, त्यसैले उसको नाम जरासन्ध परेको थियो । उसका दुई मात्र महान् सहारा थिए– गदा र जरा । यी दुवैबाट हीन भएको हुनाले नै भीमसेनले तिम्रोसामुमैं उसको वध गर्न सकेका थिए । यसै प्रकार तिम्रो हित गर्नको लागि नै एकलव्यबाट उसको बूढी औंला अलग पारेको थिएँ । चेदिराज शिशुपाललाई तिम्रोसामु नै आफ्नो हातबाट नै मारिदिएको थिएँ । उसलाई पनि देउता तथा असुरले सङ्ग्राममा मार्न सक्दैनथे । उसको तथा अन्य देवद्रोहीहरूको नाश गर्नको लागि नै मेरो अवतार भएको थियो । हिडिम्बासुर, किर्मीर र बक यी रावणकै समान बली र ब्राह्मण र यज्ञसित द्वेष राख्ने खालका थिए । लोककल्याणको लागि नै यिनीहरूलाई भीमसेनको हातबाट मार्न लगाएको थिएँ । यसै प्रकारले घटोत्कचको हातबाट अलायुधको नाश गराएँ र कर्णको हातबाट शक्ति प्रहार गर्न लगाएर घटोत्कचको पनि जीवन समाप्त गरें । यस महासमरमा यदि कर्णको हातबाट घटोत्कच नमरेको भए मैले उसको वध गर्नुपर्ने थियो । घटोत्कचबाट मैले तिमीहरूको कार्य गराउनु थियो, त्यसैले मैले पहिले नै घटोत्कचको वध गर्नुपरेन । घटोत्कच ब्राह्मणहरूको द्वेषी र यज्ञहरूको नाश गर्ने खालको थियो । यो पापात्माले धर्मको लोप गरिरहेको थियो, त्यसैले उसको यस प्रकारले नाश गराउनुप¥यो । जो धर्मको लाज गर्ने खालका छन्, ती जम्मै मेरा वध्य हुन् । मैले धर्म स्थापनाको लागि प्रतिज्ञा लिएको छु । जहाँ वेद, धर्म, सत्य, दम, पवित्रता, लज्जा, श्री, धैर्य र क्षमाको वास हुन्छ, त्यहाँ सदैव म क्रीडा गरिरहन्छु । अब तिमीले कर्णको नाश गर्ने विषयमा विषाद गर्नुपर्नेछैन । मैले त्यो उपाय बताउनेछु, जसबाट तिमीले कर्ण र भीमसेनले दुर्योधनलाई मार्न सक्नेछन् । यतिबेला त अर्कोतिर ध्यान गर्नुपर्ने आवश्यकता छ । तिम्रो सेना चारैतिर भागिरहेको छ र कौरवसेनाहरूले उधिनिउधिनी मारिरहेका छन् ।
धृतराष्ट्रले सोधे– सञ्जय, यदि कर्णको शक्ति एउटै वीरलाई मारेर निष्फल हुने खालको थियो भने कर्णले सबैलाई छाडेर अर्जुनमाथि नै प्रहार किन गरेन ? अर्जुन मारिएपछि त समस्त पाण्डव र सृञ्जय आफसेआफ नष्ट भइहाल्थे । यदि भन्छौ कि अर्जुन सूतपुत्रसित लडाइँ गर्न आएनन् भने कर्ण स्वयंले उसलाई खोज्नुपर्दथ्यो । अर्जुनको त यो प्रतिज्ञा छ कि युद्धमा कसैले हाँक दिन्छ भने उसको पाइला कहिले पनि पछि सर्दैन । क्रमशः…