प्रस, वीरगंज, २८ मङ्सिर/
वीरगंजका युवा पत्रकार स्व नरेश सर्राफको १३औं दिनको पुण्यतिथिमा नेपाल पत्रकार महासङ्घ, पर्साले श्रद्धाञ्जलिसभा गरेको छ ।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्षमा आयोजित श्रद्धाञ्जलिसभामा सांसद प्रदीप यादवले महासङ्घले स्थापना गर्ने अक्षयकोषमा रु एक लाख सहयोग गर्ने घोषणा गरे । उनले स्व सर्राफको निधनले वीरगंजेली पत्रकारितामा क्षति भएको बताए । सांसद यादवले स्व सर्राफले निष्ठाको पत्रकारिता गरेको र समाजसेवा पनि गर्दै आएको बताए ।
श्रद्धाञ्जलिसभामा नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले कार्यसमिति सदस्य स्व सर्राफको सम्झनामा प्रत्येक वर्ष महासङ्घको स्थापना दिवसमा नरेश सर्राफ क्रियाशील युवा पत्रकारिता पुरस्कार प्रदान गरिने र यो पुरस्कार पत्रकारिता क्षेत्रमा १० वर्ष काम गरेका र ४० वर्षमुनिका युवालाई प्रदान गरिने बताए । उनले स्व सर्राफको सम्झनामा डेढ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।
महासङ्घले स्थापना गर्ने अक्षयकोषमा पूर्वसभापति अशोक तिवारीले रु २१ हजार, पूर्व केन्द्रीय उपाध्यक्ष्F महेश दासले १० हजार सहयोग गर्ने घोषणा गरे ।
श्रद्धाञ्जलिसभामा नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य राघव साह, प्रेस सङ्गठनका केन्द्रीय सदस्य नीरज पिठाकोठे मगर, वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष्F हरि गौतमलगायतले शोक मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शाखाका सचिव भूषण यादवले गरेका थिए ।