• सञ्जय साह मित्र

निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष मानिएको छ । अहिलेको अवस्था हेर्ने हो भने केही महीनाको अन्तरालमा देशमा तीन तहको सरकारको लागि निर्वाचन सम्पन्न भइसकेको छ । स्थानीय तहको निर्वाचन गत वैशाखमा भएको थियो भने मङ्सिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयो । निर्वाचनलाई नेपालको परिवेशमा धेरै खर्चिलो र केही हदसम्म बोझिलो मान्ने गरिएको छ । निर्वाचनको समयमा निर्वाचनभन्दा महत्वपूर्ण खास केही हुँदैन देशको लागि । सबै नागरिकको मनोविज्ञान पनि निर्वाचन केन्द्रित नै बनेको हुन्छ । निर्वाचनले, पाँच वर्षसम्म शासनको अधिकार दिने भएकोले, देशको सबै पक्ष र आम नागरिकको ध्यान तान्न सकेको हुन्छ । देशका अधिकांश सरकारी कार्यालय वा निकायको पनि ध्यानाकर्षण चुनावतर्फ नै हुन्छ । यस्तो अनुभूति हुन्छ कि देशका सम्पूर्ण नागरिकको मूल कर्तव्य नै निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गराउनुमा रहेको छ ।

हो, सरकार र सरकारी निकायको कर्तव्य एकातिर हुन्छ भने नागरिकको कर्तव्य पनि हुन्छ चुनाव सम्पन्न गराउनको लागि । नागरिकले धेरै किसिमले चुनाव सम्पन्न गराउन सहयोग गरेको हुन्छ । नागरिक स्वयं मतदाता भएकोले र चुनावलाई सम्पन्न गराउन गाउँ–समाजमा मुख्य भूमिका खेल्ने भएकोले उसको भूमिका महत्वपूर्ण हुन्छ । चुनावपछि पनि नागरिकको भूमिका कम हुँदैन । नेपालजस्तो देशमा चुनाव सम्पन्न भइसकेपछि पनि चुनावको सन्दर्भ लिएर भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

चुनाव शान्तिपूर्ण सम्पन्न भएको हो । यसपटक खासै गडबडी भएको खबर कतैबाट आएन । यसमा नेपाली नागरिकको ठूलो भूमिका छ । नागरिकले चुनावमा खेलेको भूमिकाका लागि धन्यवाद दिनैपर्छ । साथै अत्यन्त शान्तिपूर्ण तरीकाले नेपाली नागरिकले चुनाव सम्पन्न गरेर देखाउन सकेकोमा नेपाली नागरिकलाई बधाई पनि छ । सबैको प्रतीक्षाको र चासोको विषय रहेको चुनावको नतीजालाई सबैको साझा नतीजा बनाउन पनि नेपाली नागरिककै भूमिका महत्वपूर्ण छ । अब नेपालीहरू पनि शान्तिपूर्णरूपमा एकैसाथ देशभर निर्वाचन गराउन सक्छन्, निर्वाचनसित सम्बन्धित सम्पूर्ण सुरक्षामा नेपाली सक्षम छन् भन्ने देखाउन पनि सकेका छन् । शान्तिपूर्ण यस निर्वाचनका कारण नेपाल र नेपालीको गरिमा विश्वमा वृद्धि भएको छ । चुनावले विश्वमा नेपाल र नेपालीको शान्तिप्रियता पनि साबित गरेको छ ।

अझै संसद्को बैठक शुरू भइसकेको छैन । अझै सरकार गठन हुन बाँकी छ । जनप्रतिनिधिले काम शुरू गर्नुभन्दा पहिले सर्वसाधारणको घरमा पुगेर आफ्ना वाचाहरू पनि सम्झेका छन् । यो सकारात्मक पक्ष हो । चुनावमा गरेका वाचा सम्झनु वा चुनाव लड्दै गर्दा देखिएका समस्या पुनः समाधानका आँखाले देख्नु निकै राम्रो कुरो हो । पहिले त भोट माग्न जाँदा धेरैले समस्या सुनाउने आँटै गरेनन् होला, किनभने एकपछि अर्को उम्मेदवार आउँदा सबैलाई समस्या बताउनु उचित मानेनन् होला नागरिकले । मुख्य कार्यकर्ताबाट केही समस्या सुनिएको हुन सक्छ । तर जब प्रतिनिधि गाउँठाउँमा पुग्छन् , कार्यकर्ताले नभएर गाउँटोलका भद्रभलाद्मीले पनि मुख्य आवश्यकता, समस्या तथा समाधानको उपाय बताउँछन्, बताउँदै छन् । बधाई तथा शुभकामना दिंदा नै सर्वसाधारणले सामूहिक आवश्यकता तथा चाहना अघि सारेका छन् । पहिले समस्या राख्दा सुनाउने वा सुन्ने मात्र हुन्थ्यो, अहिले भने समाधान हुने दृष्टिले नै राखेका छन् । अब समस्याको समाधान हुने आशा राखेका छन् ।

उम्मेदवार बनाउन, चुनाव प्रचार गर्न, मतदातालाई प्रभावित पार्न, चुनाव जितेपछि फेरि समाजमा पु¥याउन भूमिका निर्वाह गर्ने सचेत नागरिकले भने चुनावपछि जनताको विश्वास कायम राख्न धेरै थोक गर्नुपर्ने हुन्छ । यही विश्वासको आधारमा आउँदो समयमा सक्रिय हुनुपर्छ । जति धेरै सक्रिय रहन सक्यो, उति धेरै विश्वास कायम रहन्छ । सर्वसाधारणको विश्वास कायम रहनु भनेको आगामी दिनमा अहिलेको भन्दा बढी सफलता प्राप्त गर्नु पनि हो ।

सचेत नागरिकले आफूप्रति जनता र नेता दुवैको विश्वास कायम राख्नुछ । दुवैबीचको पुलको काम गर्नुछ । दुवैतिर एक अर्काको कुरो पु¥याउने वास्तविक सञ्चारको काम गर्नुछ । तर सर्वसाधारणलाई यो महसूस नहोओस् कि यो नेताकै मानिस भइदियो । सर्वसाधारणलाई यही लागिरहोस् कि नेताले यसलाई विश्वास गरेको र सबैभन्दा बढी हामीले यसलाई विकास, निर्माण तथा कुनै समस्या पर्दा सहयोग माग्ने गरेको मानिस हो । सबैलाई समस्या पर्दा सहयोग गर्ने कमै विश्वासपात्र हुन्छन् र जनतालाई परेको बेला सहयोग गर्नेलाई जनताले बिर्संदैन भन्ने कुरो सबैले बुझेका छन्, सम्झेका छन् । विगतका चुनावहरूको तुलनामा यसपटक भएको चुनाव धेरै किसिमले फरक देखिएको कारण पनि जनताको विश्वास नै हो भन्ने कुरो सबैले बुझेका छन् ।

गत चुनावमा कतै यस्ता उम्मेदवार पनि थिए जसलाई करीब सबै दलको समर्थन थियो तर पनि चुनाव हारे । कतै यस्तो थियो कि पार्टीले टिकट नदिंदा विद्रोह गरेर चुनाव जिते । कतै पार्टीको टिकट त्याग गरेर एक्लै स्वतन्त्र उम्मेदवार हुँदा पनि चुनाव जिते । चुनावको समयमा यस्तो पनि भएको देखियो कि एउटाको खूब हल्ला छ तर भोट भने पाएन । चुनाव अघि जीतको लाइनमा रहेको ठान्नेले मतगणनामा खासै केही गर्न नसकेको यो चुनाव, फरक प्रकृतिको थियो र नागरिक धेरै हदसम्म सचेत भएको प्रमाण थियो । आखिरमा पैसाले मात्र चुनाव जित्न सकिंदैन, जति धेरै कार्यकर्ता भए पनि ती कार्यकर्ता यदि तत्काल आफूप्रति समर्पित नभई कुनै लोभ, मोह वा तत्काल लाभ प्राप्तिको आशा लिएर लागेका छन् भने यस्ता कार्यकर्ताले चुनाव जिताउन सक्दैनन् भन्ने धेरैले बुझेका छन् । हुनत यस प्रकारको चुनाव कतिपयको लागि आफ्नो लोकप्रियता जाँच्ने तराजु हो भन्ने देखिएको छ । धेरै लोकप्रिय ठान्ने तथा आफूलाई सबैभन्दा बलियो ठान्नेले चुनावको ऐनामा आफूलाई देख्न पाएका छन् ।

सचेत नागरिकले चुनावोपरान्त अझ सचेत भएर विकास र निर्माणको लागि निरन्तर खबरदारी गर्नुपरेको छ । प्रदेश वा केन्द्रमा सरकार गठन हुन्छ नै । अहिलेसम्म के देखिएको छ भने जो सक्रिय छ, उसले पाएको छ  । हामीले हाम्रा जनप्रतिनिधिलाई नीति निर्माण अर्थात् ऐन कानून निर्माण गर्न र विकास गर्न पठाएका छौं । हामीले आफ्नो समस्या सुनाउन छोड्यौं भने विकास नचाहेको हो भन्ने हुन जान्छ । हामीले समस्या सुनाउने तथा समाधानको सम्भावित उपाय पनि निरन्तर बताइरहनुपरेको छ । हुन सक्छ, हाम्रा कतिपय नेताले हाम्रो बोली सुन्न नचाहलान् वा सुनेर पनि काम गराउन नसक्लान् तर यसको अर्थ आफू रिसाइहाल्ने होइन । अब पाँच वर्ष हाम्रा निर्वाचित प्रतिनिधिबाटै हामीले काम लिनुछ । यस कारण काम लिइरहनको लागि केही सहनु पनि उचित हुन्छ । हरेक नेताले आफ्नो ठाउँको विकास गर्न चाहन्छ । चाहेर नसकेको अवस्था पनि हुन सक्छ । नसकेको अवस्थालाई हाम्रा नेताको कमजोरी नठानौं । विगतमा चुनिएका तर अहिले चुनिन नसकेका कतिपय नेताहरूको अनुहार देखेर नै नवनिर्वाचित प्रतिनिधिहरू सक्रिय रहने छन् भन्ने विश्वास लिउँ । सचेत नागरिकले विश्वास गरौं, किनभने हाम्रा प्रतिनिधिहरूले पनि विश्वासको आधार कायम गर्नुपरेको छ । हाम्रा प्रतिनिधिहरूलाई विकास, निर्माण तथा नीति निर्माणमा निरन्तर सहयोग गरौं ।

चुनावपछि सचेत नागरिकको काँधमाथि अर्को पनि दायित्व रहन्छ । कतिपय ठाउँमा आएको बजेट फिर्ता भएको तथा काम हुन नपाएर फ्रिज भएको देखिन्छ । यसलाई रोक्न सक्रिय हुनुपर्छ । गाउँघरमा मुख थुनेर खान दिएको भन्ने उखान छ । विकास निर्माणको चाहना राख्ने तर विकास निर्माणको लागि आएको बजेट कार्यान्वयनमा भूमिका नखेल्ने हो भने विकास निर्माण कहिल्यै पनि हुन सक्दैन । विकास निर्माणको वातावरण पनि बनाउनैपरेको छ र पर्छ नै । सचेत नागरिकले चुनावमा जे जति सहयोग गरेको वा जे जस्तो भूमिका निर्वाह गरेको किन नहोस्, त्यसको मूल लक्ष्य नै यही विकास  हुनु हो । अबको समयमा विकास निर्माणको लागि बजेट माग्ने तथा आएको बजेटको पूर्ण सदुपयोग गर्न सक्रिय रहेको देखाउनुपरेको छ । आएको बजेटले कार्यरूप धारण गर्न सक्यो भने धेरै हदसम्म सर्वसाधारणका अपेक्षा पूरा गर्न सकिन्छ । बजेटको कार्यान्वयनमा देखा पर्ने समस्या तथा विवाद साम्य गर्ने दायित्व पनि नागरिक समाजकै हो । बजेटदेखि विकासको सहजीकरणसम्म सफल हुनु भनेको जनताको विश्वास आर्जन गर्नु हो, जसबाट फेरि कसैलाई जनप्रतिनिधि बनाउन सजिलो हुन्छ वा कुनै चुनावमा आफू नै प्रस्तुत हुन पनि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here