श्रीसिया नदी प्रदूषणको शिकार भएको तीन दशकभन्दा बढी नै भइसकेको छ । श्रीसिया नदीको पहिलाको स्वरूप स्मरण गर्ने हो भने सो नदीबाट वीरगंजवासीको दिनचर्या शुरू हुन्थ्यो । तत्कालीन अवस्थामा चापाकल र खानेपानीको समुचित व्यवस्था नभएकोले आसपासका मानिसहरू सोही नदीमा खानेपानी, नुहाउने, लुगाधुने, भाँडा माझ्ने कार्य गर्थे । र चाडपर्वमा नदीछेउमा पूजाआजा गर्दै आएका थिए । यसका साथै वस्तुहरूको लागि पनि पिउने पानी र नुहाउने कार्य सोही नदीमा हुन्थ्यो । जनै पूर्णिमामा पुरुषहरू अनि स्वस्थानी वर्त, तीज र पञ्चमीमा महिलाहरूको लागि पनि सोही नदी उपयुक्त हुन्थ्यो । श्रीसियाको सङ्गलो पानीमा जलचरहरूको पनि बाँस थियो । तर अहिले यी सबै कुरा श्रीसिया नदीको हकमा एकादेशको कथा बनिसकेको छ । बारा र पर्सामा खुलेका उद्योगहरूले श्रीसिया नदीको अस्तित्वलाई समाप्त पारेकोमा दुई मत छैन । उद्योगका प्रदूषित पानी नदीमा नबगाउन अहिलेसम्म विभिन्न आन्दोलन, विरोधका कार्यक्रम नभएका होइनन् । सीमापारि भारत, रक्सौलका जनताको पनि यसमा निरन्तर सहभागिता रहँदै आएको छ । तर पनि श्रीसिया नदी भने प्रदूषणमुक्त हुन सकेको छैन । अहिले वीरगंज महानगरपालिकाले श्रीसिया नदि प्रदुषण नियन्त्रण अभियान शुरु गरेको छ । यसअघि प्रत्येक वर्ष छठपुजाको अवसरमा मात्र यो नदिको सफाई गर्ने, यसको प्रदुषण विरोधी गतिविधी तेज हुने कार्य हुँदै आएका थिए । तर अहिले भने महानगरपालिकाले छठपछि यो अभियानलाई शुरु गरेकोले नदिको स्वरुप परिवर्तन हुने कुरामा केहि आशा पलाएको छ ।
श्रीसिया नदी प्रदूषणमुक्त राख्नका लागि सरकारले प्रदूषित पानी बगाउने उद्योगहरूलाई पानी प्रशोधन केन्द्र स्थापना गरेर प्रशोधित पानी मात्र नदीमा फाल्नका लागि बेलाबखत निर्देशित गर्दै आएको थियो । नदीसँग जोडिएका उद्योगहरूले पानी प्रशोधन केन्द्र स्थापना गर्ने र प्रशोधित पानी नदीमा बगाउने सरकारको नीतिलाई उद्योगहरूले थाङ्नामा सुताएर आफू अनुकूल कार्य गर्दै आएका थिए । सरोकारवाला सरकारी कर्मचारीहरूले यस विषयमा निरन्तर कारबाई नगर्दा अहिलेसम्म पानी प्रशोधन केन्द्र प्रयोगमा नल्याइएको हो । प्रायः उद्योगहरूको प्रदूषित पानी सीधा नदीमा बगाइन्छ, जसले गर्दा श्रीसिया नदीको मौलिकता समाप्त प्रायः भएको थियो । त्यसैले यो नदी विशुद्धरूपमा उद्योगहरूको प्रदूषित पानी बग्ने नदीमा परिणत भएको छ । अहिले श्रीसिया नदी प्रदूषणमुक्त होस् भन्ने चाहना राखेर महानगरले श्रीसिया नदि प्रदुषण नियन्त्रण अभियान शुरु गरेको छ ।
महानगरले यसबारेमा चासो राखी सरोकारवालाहरुको बैठक बसाएर एकमहिनाको समयसीमा दिएको छ । उद्योगीहरुले पनि श्रीसिया प्रदुषण मुक्त होस् भन्ने चाहना राखेको प्रतिक्रिया दिनु र यसका लागि पानी प्रशोधन केन्द्र बनाउनका लागि समय माग गरेका छन । यसलाई सकारात्मक नै लिनुपर्छ । उद्योगले वातावरण रिर्पाेट पेश गर्दा पानी प्रशोधन गरेर श्रीसियामा फाल्ने बताएपनि धेरै जसोले त्यस्तो नगरेको पाइएको छ । पानी प्रशोधन केन्द्र नभएकाहरुले स्थापना गर्ने र भएकाहरुले उद्योगबाट निस्कने फोहर पानीलाई प्रशोधन गरेर मात्र फाल्ने कार्य अबका दिनमा शुरु मात्र गरेको खण्डमा केही वर्षमा श्रीसिया नदिले पुर्नजीवन पाउने कुरामा दुई मत छैन । उद्योगहरुको हेपाहा प्रवृति र सरोकारवाला निकायको लापरवाहीको परिणाम श्रीसिया नदि प्रदुषित भएको हो । अबका दिनमा यी कुराहरु नदोहरियोस् ।