प्रस, परवानीपुर, २७ मङ्सिर/
नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंजका कार्यालय प्रमुख मनोरञ्जन सिंह कार्यालयमा बस्ने नगरेको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
प्रसून मिश्रले अवकाश लिएपछि उनको ठाउँमा सिंचाइ विभागले सप्तरी घर भएका मनोरञ्जन सिंहलाई कार्यालय प्रमुखको जिम्मेवारी तोकी कार्यालयमा पठाएको थियो । सिंहको पछिल्लो समय काठमाडौंमा घर निर्माण भइसकेको र परिवार, छोराछोरी काठमाडौंमा बस्ने भएकाले उनी केही दिन कार्यालयमा आएर हाजिर गर्ने गरेको र फेरि काठमाडौं जाने गरेको कार्यालयका कर्मचारी स्रोतको भनाइ छ ।
कार्यालय प्रमुख नियमित नबस्दा कार्यालयका दैनिक गतिविधि तथा वार्षिका कार्यक्रमहरू पनि प्रभावित भइरहेको बताइएको छ । चालू आवको पाँच महीना बित्न लाग्दा पनि अहिलेसम्म कुनै काम र योजना अघि नबढेको उपभोक्ता समितिका पदाधिकारीहरूको आरोप छ ।
वार्षिक झन्डै १८ करोडभन्दा बढीको बजेट खर्च गर्ने कार्यालयले अन्य हाकिम हुँदा यतिबेलासम्म भौतिक पूर्वाधार निर्माणसम्बन्धी योजनाका लागत स्टिमेट, टेन्डर आह्वानलगायतका काम गरे पनि उनको कार्यकालमा कार्यालयले केही उपलब्धि हासिल नगरेको स्रोतको दाबी छ ।
कर्मचारी स्रोतका अनुसार कार्यालय प्रमुख सिंह प्रायःजसो पूजापाठलगायत आध्यात्मिक सोचको भएकाले कार्यालयको काम प्रभावित भइरहेको बताइएको छ । कार्यालयमा हुँदा पनि उनी क्वार्टर र कार्यालयमा आध्यात्मिक किसिमले नै बस्न रुचाउँछन्, कामप्रति त्यति रुचि राख्दैनन् भन्ने कर्मचारीनिकट स्रोतको दाबी छ ।
यस विषयमा उनीसँग कुरा गर्दा उनले अहिले विभागमा कामविशेषले गर्दा काठमाडौं आउनुपरेको बताए । उनले एक साताअघि काठमाडौं आएको र दुई/तीन दिनपछि फर्कने चर्चा गर्दै एक हप्ताअगाडि आफू एक महीना कार्यालय बसेर आएको भनी स्पष्टीकरण दिए । साथै उनले आचारसंहिताको कारण बजेट खर्च गर्ने योजना अघि नबढेको र अब ती कामहरूलाई अगाडि बढाउने बताए ।