प्रस, वीरगंज, २७ मङ्सिर/
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग वीरगंज उद्योग वाणिज्य सङ्घले छलफल गरेको छ ।
सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले पर्सा/बारा क्षेत्रमा कायम रहेको शान्ति सुव्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिए । उनले सीमा सुरक्षासम्बन्धी बैठक नियमितरूपमा हुनुपर्ने माग गरे । अध्यक्ष गुप्ताले औद्योगिक सुरक्षा बलको पुनस्र्थापना, वीरगंजमा बस्ने बाहिरी व्यक्तिहरूको विवरण सङ्कलन गरी डाटाबेस तयार गर्नुपर्ने, वीरगंजमा सञ्चालित सिसिटिभी परियोजनाको लागि बजेट विनियोजन गर्नुपर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कार्यसम्पादनमा समन्वय हुनुपर्नेलगायतका सुझाव राखेका थिए ।
महानिरीक्षकद्वयले वीरगंज आर्थिक नगरी भएकोले यसको गम्भीरतालाई मध्यनजर गर्दै सोही अनुरूपको सुरक्षा व्यवस्था मिलाउने बताए । उनीहरूले व्यावहारिक कठिनाइहरूलाई निरूपण गर्न आआफ्ना मातहतका अधिकृतहरूलाई निर्देशन दिएको बताए ।
कार्यक्रममा वीउवासङ्घका पूर्वअध्यक्ष प्रदीप केडिया, निवर्तमान अध्यक्ष गोपाल केडिया, कासस हरि पन्तले सिसिटिभी परियोजनाको विस्तार र पर्यटन प्रहरीका लागि आवश्यक सवारीसाधन उपलब्ध गराउनुपर्ने माग गरे ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक मसाउद आलम खाँ, सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगर, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्की, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, ट्राफिक प्रहरी उपरीक्षक नान्तीराज गुरुङ, प्रहरी अधिकृतहरू, महासचिव मनोजकुमार दास, सचिव आशिष् लाठ, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष हरि गौतमले दिएका थिए ।