नितेश कर्ण, वीरगंज, २२ मङ्सिर/

पर्सा जिल्लामा माछा उत्पादन आठ वर्षयता बढेको छ । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र, पर्साका मत्स्य अधिकृत राजेश्वर कुशवाहाले आव २०७१–७२ मा पर्सा जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा मत्स्यपालन भएकोमा चालू आव २०७९–८० मा ६०० हेक्टर क्षेत्रफलमा मत्स्यपालन भएको बताए ।

उनले २०७१–७२ मा ३८० हेक्टर क्षेत्रफलमा मत्स्यपोखरी रहेकोमा अहिले ७०० हेक्टर पुगिसकेको बताए । यसैगरी, सम्पूर्ण तालतलैया भने १५० हेक्टर क्षेत्रफल नै कायम रहेको बताए । गत आवमा पर्सा जिल्लामा १,४०० पोखरी थिए भने चालू आवमा सयवटा पोखरी थप भएर डेढ हजार पुगिसकेको बताए ।

यसैगरी माछा उत्पादन गर्ने कृषकहरूको सङ्ख्या पनि बर्सेनि बढ्दै गएको मत्स्य अधिकृत कुशवाहाले बताए । उनले गत वर्ष मत्स्य कृषकको सङ्ख्या १,२०० रहेकोमा यस वर्ष सयजना थप भएर १,३०० पुगेको बताए । पर्सा जिल्लामा मत्स्य नर्सरी र ह्याचरीको सङ्ख्या पनि बढिरहेको छ । २०७१–७२ मा दुईदुईवटा नर्सरी र ह्याचरी रहेकोमा अहिले नर्सरी र ह्याचरी सङ्ख्या आठ–आठवटा पुगेको छ ।

यसैगरी, माछा उत्पादन पनि बढ्दो छ । दुई हजार मेट्रिक टन माछा उत्पादन हुने गरेकोमा अहिले अढाई हजार मेटन माछा उत्पादन भइरहेको छ । प्रतिहेक्टर पहिले २.५ देखि ३.५ मेटनसम्म माछा उत्पादन हुन्थ्यो भने अहिले ४.२ देखि ६ मेटनसम्म माछा उत्पादन भइरहेको मत्स्य अधिकृत कुशवाहाले बताए । उनले माछा कृषकहरूलाई दिइने अनुदानमा पनि वृद्धि भएको बताए । सरकारले पहिले प्रतिकठ्ठा रु तीन हजारका दरले अनुदान सहयोग दिने गरेको थियो भने पछि बढाएर रु १० हजार गरेको थियो । अहिले प्रदेश सरकारले प्रतिकठ्ठा रु १५ हजार अनुदान सहयोग घोषणा गरेको छ र यसले प्रतिहेक्टर एकजना किसानलाई रु चार लाख ५० हजारसम्म अनुदान सहयोग पाउने वातावरण बनेको उनले बताए । तर प्रदेश सरकारले अनुदान सहयोग गरे पनि सो नपुग भएको उनले गुनासो गरे ।

प्रदेश सरकारबाट यस वर्ष रु ४५ लाख मात्र अनुदान सहयोग आएको तर लिनेको सङ्ख्या १० गुना बढी भएकोले दामासाही गरेर वितरण गर्नुपरेको उनले बताए । मत्स्य अधिकृत कुशवाहाले अन्य बालीको तुलना माछापालनमा सरकारी अनुदान न्यून रहेको र यसलाई बढाउनुपर्ने बताए । उनले अन्य कृषिकर्म छाडेर बढी नाफा देखेर माछापालनतर्फ किसानहरूको आकर्षण बढे पनि सो अनुरूप अनुदान सहयोग नपाइरहेको जानकारी दिए ।

उनले पर्सा जिल्लामा उत्पादित माछा १० प्रतिशतमात्र जिल्लामा खपत भइरहेको र ९० प्रतिशत माछा काठमाडौं, पोखरा, नारायणगढ र भारतका सीमावर्ती क्षेत्रलगायत बगाहासम्म जाने गरेको बताए । उनले पर्सामा मत्स्य उत्पादन बढेकोले भारतको आन्ध्र प्रदेशलगायत विभिन्न स्थानबाट आउने बरफको माछाको आयात परिमाण घटेको तथ्याङ्क रहेको बताए । उनले माछा उत्पादन बढेकोले वीरगंजलगायत पर्सा जिल्लाका बजारमा बरफको माछाको व्यापार सुकेको बताए ।

पर्सा जिल्लामा कमनक्राफ्ट, बिगहेड, सिल्भरक्राफ्ट, रहु, नैनी, ग्रासक्राफ्टलगायत सातजातका माछाको खेती विशेषरूपमा हुने गरेको उनले बताए ।

यसैबीच सखुवापरसौनी गाउँपालिका–२ जमुनिया निवासी रामबालक महतोले माछापालन व्यवसायमा समस्या बढिरहेको तर सरकारी अनुदान सहयोग कमजोर भएको बताए । उनले पछिल्लो समयमा माछाको दाना र भुरा महँगो भएको तर यस सम्बन्धमा सरकारले ध्यान नदिएको गुनासो गरे । उनले आफूले २२ कठ्ठामा माछापोखरी चलाइरहेको तर सरकारी अनुदान भने एक लाख ५४ हजारभन्दा बढी नपाएको बताए । उनले धानखेतीभन्दा माछाखेतीमा बढी मुनाफा भएकोले आकर्षित भएको र व्यवसायबाट सन्तुष्ट पनि रहेको बताए । सरकारी अनुदान दाना र भुरामा बढ्ने हो भने माछा व्यवसायीलाई प्रोत्साहन पुग्ने उनको भनाइ छ ।

उनले माछापालन व्यवसायमा अरू पनि समस्या रहेको बताए । खासगरी मानिस, चराचुरुङ्गी, जीवजन्तु आदिबाट माछालाई जोगाउनुपर्ने, हुर्काउनुपर्ने तर लागत अनुसार मूल्य नपाउने समस्यासँग किसानहरू जुधिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here