प्रस, सेढवा, २१ मङ्सिर/
विश्वकप फूटबलको भूत पर्साका ग्रामीण क्षेत्रमा पनि अहिले देख्न पाइन्छ ।
फूटबल खेलप्रति विशेष रुचि राख्ने जीराभवानी, ठोरी अनि पटेर्वासुगौली गाउँपालिकाका विभिन्न स्थानहरूमा प्रोजेक्टर राखेर अनि टिभीमा पनि सामूहिकरूपमा भेला भएर फूटबलप्रेमीहरू विश्वकप हेरिरहेका छन् । खासगरी युवा, बालबालिकाहरूको रुचि विश्वकप हेर्नमा बढी छ ।
यसपटकको विश्वकप शुरू भएदेखि अहिले प्रि–क्वार्टरफाइनलसम्मको यात्रा सकिंदासम्म यहाँका फूटबलप्रेमीहरू विश्वकपका सबै खेल रुचिका साथ हेर्दै आएका छन् ।
जीराभवानी गापाको सेढवाका दुई स्थानमा प्रोजेक्टर राखेर सामूहिकरूपमा विश्वकप हेरिंदै छ ।
यसैगरी, परसवा, सुपौलीमा प्रोजेक्टर राखेर तथा अन्य स्थानमा पनि टिभीमा सामूहिकरूपमा विश्वकप फूटबल हेर्दैछन् ।
यसअघिका विश्वकप फूटबलमा मानिसहरू सेमिफाइनलदेखि प्रोजेक्टर राखेर हेर्ने गर्दथे भने यसपटक समूह चरणको खेलदेखि नै प्रोजेक्टरको प्रयोग भएको छ ।
अहिले जाडोयाम भएको कारण अभिभावकहरू पनि आफ्ना नानीहरूलाई न्यानो कपडा लगाएर विश्वकप फूटबल हेरिरहेको पाइएको छ । एक्लै घरमा टिभीमा फूटबल हेर्नुभन्दा सामूहिकरूपमा हेर्दा यसको मजा नै पृथक हुने र होहल्लाले माहोल रमाइलो पार्ने भएकोले अधिकांश ठाउँमा सामूहिकरूपमा भेला भएर विश्वकप फूटबल हेर्ने गरिन्छ ।
परसवाका युवाहरूले प्रोजेक्टर मेशिन नभएको कारण साथीभाइ मिलेर रु २० हजारमा प्रोजेक्टर खरीद गरी विश्वकप फूटबल हेरिरहेका छन् ।