देश अहिले विभिन्न रोगहरूको प्रकोपले आक्रान्त छ । अति भयावह भनेर जनमानसको सातो लिएका यताका वर्षमा देखिएका एचआइभी/एड्स, कोरोना, वर्ड फ्लु, सार्सजस्ता सङ्क्रामक रोगका साथै नसर्ने– हृदयघात, रक्तचाप, मधुमेह, क्यान्सर, मिर्गौलाजस्ता असाध्य रोग त नेपालीका लागि सामान्यजस्तै भइसकेका छन् । त्यसैमा तराईको लागि सदाबहार रोग बनेर लामखुट्टेजन्य मलेरिया, फलेरिया, डेङ्गु, चिकनगुनिया देखापर्दछ । रोग प्रकृतिद्वारा मानव जातिलाई सतर्क गराइराख्ने एउटा चेतावनी हो । मानिसले आफ्नो कुन गतिविधिले गर्दा रोग फैलन्छ, त्यस्तो गतिविधिमा विराम लगाओस् भन्ने प्राकृतिक निर्देश हो । तर मानिस आफैं सतर्क हुँदैन, प्राकृतिक निर्देशको पालना गर्दैन भने भोग्ने त उसैले हो । सर्ने रोग होस् वा नसर्ने, सबै मानिसकै लापरवाहीले फैलिने हो । आज मानिसको खानपानमा प्रदूषण छ, रहनसहन प्रकृतिमैत्री छैन, आहारविहारले स्वच्छन्दताको पराकाष्ठा छोएको छ । यस्तोमा मानिस रोगको चपेटमा पर्नु आश्चर्यको कुरा होइन । लामखुट्टे जन्मन्छ फोहरमा, मानिसले वातावरण फोहरैफोहरले भरिदिएको छ । फोहर आफूले गर्छ र सफाइ अरूले गरिदेओस् भन्ने चाहन्छ ।
लामखुट्टेजन्य रोगहरूको निस्तारका लागि लामखुट्टे उन्मूलन पहिलो शर्त हो । तर हाम्रो सोच उन्मूलनमा होइन, मार्नमा केन्द्रित रहन्छ, त्यसैले चाहेर पनि लामखुट्टे समाप्त हुँदैन । हरेक हप्ता जन्मिने लामखुट्टेलाई मारेर साध्य पनि हुँदैन । लामखुट्टे नै नहोस् भनेर हामीमा अहिलेसम्म सोच पलाउनै सकेको छैन । त्यसैले हामीले लामखुट्टे जन्मने ठाउँ नरहोस् भन्ने कुराको हेक्का राख्न सकेका छैनौं । पानी जम्ने दुर्गन्धित नाला, जताततै फोहर, मुख्य सडक, गलीलाई रछ्यान बनाउनु, खाली ठाउँ देख्यो कि मलमूत्र त्याग र फोहर फाल्न हामी आफूलाई रोक्नै सक्दैनौं । यसै फोहरमा लामखुट्टे जन्मन्छ । र लामखुट्टेले रोगहरूका कीटाणु बोकेर हिंडेको हुन्छ । लामखुट्टे केही रोगको संवाहक भएजस्तै हामीले बेहोर्ने सबै रोगको केही न केही बाह्य कारण अवश्य हुन्छ । रोग शरीरमा हुँदैन, बाहिरबाट शरीरमा प्रवेश गर्छ । सरुवा रोगमात्र होइन, नसर्ने रक्तचाप, मधुमेह, हृदयघातको पनि अधिकांश जिम्मेवार बाह्य परिस्थिति नै हो । तर हामी यस कुरामा अलिकति पनि संवेदनशील छैनौंस केही नजानेर र केही बानीले लाचार भएर । हुनत रोग भनेपछि अहिले हाम्रो देशमा योभन्दा पनि भयावह भएर देखिन थालेको छ–मानसिक रोग । यद्यपि मानसिक रोग आन्तरिक अवस्था खलबलिएपछि लाग्छ, तर आन्तरिक अवस्था खलबल्याउन पनि बाह्य परिवेश नै जिम्मेवार हुन्छ ।
सर्ने रोगका लागि विभिन्न औषधि उपलब्ध छ, उपचार उपलब्ध छ, चिकित्सकहरू उपलब्ध छन् । नसर्ने रोग पनि अब असाध्य मानिंदैन । रोग देखिन पाएको हुँदैन, तत्काल औषधि आविष्कार भइहाल्छ । तर मानसिक रोगको स्थिति फरक हुन्छ । दैहिक रोग देखिन्छ, महसूस हुन्छ र सरोकार राखिन्छ । तर मानसिक रोग अदृश्य हुन्छ, देखिंदैनस त्यसैले वास्ता पनि गरिंदैन । मानिसको अहम्, स्वार्थपरता, सङ्कीर्ण सोच पनि यस्तै रोगहरू हुन्, जुन देखिंदैन र महसूस पनि हुँदैन । एक अर्थमा यसका रोगी नै रोगका संवाहक हुन् । के लामखुट्टेले आफू रोगको संवाहक हुँ भने आफूलाई मार्छ ? लामखुट्टेले धेरै दुःख दियो भने मेयरलाई भनेर औषधि छर्न लगाएर केही दिन भए पनि त्राण पाउन सकिएला, तर जो स्वयं रोग छ उसले किन आफ्नो उपचार गर्छ ?