प्रस, वीरगंज, १८ मङ्सिर/

हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मत खरीद–बिक्री गर्ने कार्यमा संलग्न बिचौलियाहरूको अहिले बिजोग भएको छ ।

उम्मेदवारलाई विजयी गराउन गाउँ–टोलका बिचौलियाहरूले उम्मेदवारहरूसँग रकम लिएको तर रकमबापत उपलब्ध गराउने मत नपरेपछि अहिले उनीहरूविरुद्ध उम्मेदवारहरू जाइलागेका छन् । जसले गर्दा बिचौलियाहरूको बिजोग भएको छ ।

यस्ता बिचौलियाहरूलाई उम्मेदवारहरूले रकम फिर्ता गर्न दबाब दिएपछि अधिकांश बिचौलियाले मोबाइल बन्द गरेका छन् भने केही बेपत्ता भएका छन् । पराजित उम्मेदवारहरूले अहिले बिचौलियाहरूको खोजी गरिरहेको र उनीहरू सम्पर्कविहीन छन् । जितेकाहरूमध्ये पनि थोरैले मात्र भने अनुसारको मत नपाएको भनेर बिचौलियाहरूको खोजी शुरू गरेकाले उनीहरूबीच भागाभागको अवस्था छ ।

बिचौलियाहरू भाग्नुको कारण उनीहरूले चुनावताका मतदाताहरूलाई रकम बाँडेको र मतदाताबाट रकम फिर्ता लिनसक्ने अवस्था नभएकोले उनीहरू भाग्ने, सम्पर्कविहीन हुने गरेका छन् । चुनावताका बिचौलियाहरूले रक्सी, मासु खुवाउने, नगद दिने जस्ता कार्य गरेर मतदाताहरूलाई आफूले भनेको उम्मेदवारलाई मतदान गर्न दबाब सिर्जना गरेका थिए । अहिले उनीहरू स्वयम् दबाबमा परेका छन् । उम्मेदवारहरूले बिचौलियाहरूलाई लिएको रकम फिर्ता गर्न दबाब शुरू गरेको स्रोतले जनाएको छ ।

कतिपय बिचौलियाहरूले दोहोरो–तेहोरो गरी उम्मेदवारहरूसँग रकम लिएका थिए । जसले गर्दा गाउँमा अशान्तिको अवस्था छ । अहिले प्रहरी चौकीमा उजूरी दिनेहरूको सङ्ख्या बढेको बताइन्छ । केही दिनअगाडि पटाका पड्काएको निहुँमा बहुदरमाई नगरपालिकामा दुई पक्षबीच भिडन्त हुँदा आधा दर्जन मानिस घाइते भएका थिए ।

दुवै पक्षलाई जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता गराउन दलीय दबाब बढेको एकजना प्रहरी अधिकृतले बताए । उनले चुनाव सकिएपछि गाउँटोलमा यस्तै खाले घटनाहरू भइरहेका र यसको मूल कारण चुनावमा रकम लिएर मत दिलाउन नसक्नु नै रहेको बताए । विभिन्न कारण देखाइ झगडा भइरहेको र त्यसको पञ्चायती जिल्ला प्रहरी कार्यालयमा गर्नुपर्ने अवस्था छ ।

देखावटीरूपमा झगडाका कारण भिन्न भएपनि त्यसको मूल कारण भने चुनावमा गरिएको घात, अन्तर्घात रहेको र रकमी चलखेलको विषय भएको ती प्रहरी अधिकृतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here