नयाँ दिल्ली, १८ मङ्सिर/सिन्ह्वा
भारतको पश्चिम बङ्गालमा शनिवार राति बम विस्फोट गराएर कम्तीमा पनि तीनजनाको ज्यान लिइएको समाचारमा जनाइएको छ । यसरी ज्यान जानेमा यहाँको एक राजनीतिक दल त्रिणमूल कङ्ग्रेसका नेता पनि परेका छन् । उनको घरमा नै बम विस्फोट गराइएको थियो । भारतीय राज्य पश्चिम बङ्गालको मणिपुर जिल्लास्थित भूपतिनगरमा रहेको त्रिणमूल कङ्ग्रेसका नेता राजकुमार मन्नाको घरमा शनिवार राति बम विस्फोट भएको थियो । सो विस्फोटमा परेर उनको पनि निधन भएको छ ।
सो विस्फोटमा परेर उनीबाहेक अरू दुर्ईजनाको पनि ज्यान गएको बताइएको छ । मारिएका अरू दुईजनामध्ये एकजना मन्नाका भाइ र अर्का एकजना सो दलका कार्यकर्ता रहेको बताइएको छ ।
सो घटना भएपछि राति नै प्रहरी घटनास्थलमा पुगेको थियो । बम विस्फोटबाट सो घर जलेर पूर्णरूपमा ध्वस्त भएको पनि प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको जनाएको छ । प्रहरीले यसको अनुसन्धान शुरू भइसकेको तर उक्त विस्फोट र हत्याको कारण अहिले नै स्पष्ट नभएको जनाएको छ । तर भारतीय जनता पार्टीको पश्चिम बङ्गालका नेताले भने मन्नाको घरमा नै बम बनाइएको र बम बनाउने क्रममा विस्फोट भएर सो दुर्घटना भएको जनाएका छन् । उनले उक्त घटनाको अनुसन्धान गर्न पनि माग गरेका छन् । रासस