प्रस, वीरगंज, १७ मङ्सिर/

७१औं गीता जयन्ती महायज्ञको वैदिक विधिद्वारा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले शनिवार गीता मन्दिरमा एक कार्यक्रमका बीच हवन कुण्डमा अग्नि प्रज्वलित गरी पूर्वाङ्गका साथै पूजाआजा गरी शुभारम्भ गरे । उनले महायज्ञको शुभारम्भ गर्दै वीरगंजमा निरन्तर गीता जयन्तीको आयोजना भइरहेकोमा खुशी व्यक्त गरे ।

महायज्ञका यजमान वडाध्यक्ष जवाहरप्रसाद गुप्ताद्वारा गीता जयन्ती महायज्ञमा संलग्न आचार्य, उपाचार्य तथा ब्राह्मणहरूको वरण गराएका थिए । कथा प्रवचन गीता मन्दिरमा मोक्षदा एकादशी मङ्सिर १७ गतेदेखि शुरू भएको र महायज्ञ २७ गतेसम्म चल्ने मन्दिरका महासचिव सरोज राणाले बताइन् ।

महायज्ञ बिहान ९ देखि १२ बजेसम्म र दिउँसो २ देखि साँझ ५ बजेसम्म चल्ने महासचिव राणाले बताइन् । ७१ वर्षदेखि नेपालमा निरन्तर गीता जयन्तीको आयोजना भइरहेको स्वामी अजय भारतीले बताए । गीता अध्ययन मण्डलका संस्थापक ब्रह्मलीन १००८ स्वामी ईश्वरानन्दले गीता जयन्तीको सर्वप्रथम शुभारम्भ गरेका थिए ।

गीता मन्दिर सञ्चालक समितिका अध्यक्ष मदन गुप्ताले सहयोग गर्ने सम्पूर्ण दाता तथा भक्तजनहरूलाई महायज्ञमा सहभागी भई पुण्यको भागी बन्न आग्रह गरे ।

पूर्वाङ्ग समारोहमा मन्दिरका महन्त भारत, वाराणासीबाट आएका साधु समाजको ठूलो अखडा पञ्चायती अखडा महानिर्वाणी, शिवालयघाट वाराणासीका थानापति स्वामी अजय भारती, कथावाचक मुख्य आचार्य उमानाथ गजुरेल, उपाचार्य विनोद सापकोटा, गीता मन्दिरका पुजारी अञ्जनी चौबे, माईस्थान मन्दिर सञ्चालक समितिका महासचिव फूलचन्द अग्रवाल, रानी गुप्ता, डा प्रमोद सर्राफ, श्याम पोखरेललगायत भक्तजन, ब्राह्मणहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here