प्रस, वीरगंज, १७ मङ्सिर/

नेकपा एमाले पर्साको सचिवालय बैठक शनिवार पार्टी कार्यालय मनमोहननगर रामगढवामा सम्पन्न भयो । बैठकले सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा गर्दै कमिटीका सचिव तथा जनप्रतिनिधि लगायत ४० जनालाई कारबाई गरेको छ ।

पार्टीले खडा गरेको उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनीहरूमाथि कारबाई भएको हो । सोमध्ये १४ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनिश्चितकालको लागि कारबाई गरिएको र २६ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले, पर्साले जनाएको छ । यसभन्दा पहिले सचेत गराउँदै स्पष्टीकरण सोधिएकोमा जवाफ नदिएका र व्यवहार सुधारसमेत नगरेकाहरूलाई सङ्गठनको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्दै पार्टीको साधारण सदस्यबाट हटाइएको जनाइएको छ ।

यसरी कारबाईमा पर्नेहरूमा एमाले पर्साका सचिव तथा छिपहरमाई गाउँपालिकाका जननिर्वाचित अध्यक्ष मनोज गुप्ता, जिल्ला सचिवालय कमिटी सदस्य तथा सखुवाप्रसौनी गाउँपालिकाका निर्वाचित अध्यक्ष यशवन्त यादव, छिपहरमाई–५ का अध्यक्ष तथा जिल्ला कमिटी सदस्य मौजीलाल साह कानू, सखुवाप्रसौनी–१ का अध्यक्ष तथा गाउँपालिका कमिटीका अध्यक्ष वासुदेव महतो थारू, जिल्ला कमिटी सदस्यहरू पूर्व जिल्ला कमिटी सदस्य मुस्तकिम अन्सारी, अमानत अन्सारी, ताजुद्दीन अन्सारी, इमरान हुसेन, नविजान मियाँ, मञ्जुर आलम, रामप्रीत महतो थारू, सुभाष साह कानू, वीरेन्द्र साह कानू, पवन तिवारी रहेका छन् ।

बैठकले २६ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसरी स्पष्टीकरण सोधिनेहरूमा जिल्ला कमिटीका सदस्य छजना र बाँकी मातहतका कमिटीका पदाधिकारी तथा सदस्यहरू रहेका छन् । स्पष्टीकरण सोधिनेमा ठोरी गाउँपालिका कमिटी पनि परेको छ । 

त्यसैगरी, जिल्लाभन्दा उपल्लो कमिटीका दुईजना नेतालाई कारबाईका निम्ति सम्बन्धित कमिटीले सिफारिश गर्ने निर्णय गरेको छ । यसरी कारबाईका लागि सिफारिशमा पर्ने नेताद्वयमा केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा र प्रदेश कमिटीका सदस्य बसरुद्दीन अन्सारी रहेका छन् ।

पार्टी तथा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका, अर्को पार्टीमा प्रवेश गरेका र स्वतन्त्र गतिविधिमा लागेका १३ जना नेता, कार्यकर्ताहरूलाई यसअघि नै एमालेको सम्बन्धित कमिटीले कारबाई गरिसकेको बैठकमा जानकारी गराइएको थियो । जिल्ला कमिटी अध्यक्ष जयप्रकाश थारूको अध्यक्षक्षमा भएको समीक्षा बैठक सो पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको मुख्य आतिथ्य थियो भने विशिष्ट अतिथिमा केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज एवं पर्सा क्षेत्र नं ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ता, केस अरविन्द सिंह, निर्मला देवकोटा, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य विजय सरावगीलगायत थिए ।

जिल्लास्थित प्रदेश कमिटीका अधिकांश सदस्यको सहभागिता रहेको उक्त बैठकमा यसअघि नै जिल्ला पदाधिकारी, उपल्लो कमिटी र उम्मेदवारहरूको सहभागितामा सम्पन्न बैठकको निचोड प्रस्तुत गरिएको थियो । सोही आधारमा कारबाई प्रक्रिया अगाडि बढेको अध्यक्ष थारूले बताए ।

स्पष्टीकरण सोधिएकाहरूले समयमा उचित जवाफ नदिए पार्टी विधान अनुसार कारबाई हुने उनले प्रस्ट्याएका छन् । जवाफको क्रममा सम्बन्धित सदस्यले आफू सम्बद्ध कमिटीको निर्णयसमेत संलग्न गर्न सकिने उनले बताएका छन् ।  

जिल्ला इन्चार्जको मत र पदाधिकारी बैठकको निर्णय बाझिएपछि केहीबेर विवाद भएको थियो । कारबाईको निम्ति तल्लो कमिटीदेखि समीक्षा हुँदै जिल्लामा आउनुपर्ने इन्चार्ज हजराको भनाइ छ । उनले आफूमाथि कारबाईको सिफारिश गरिनु प्रतिशोधपूर्ण र खुट्टा तान्ने तथा मानमर्दन गर्ने उद्देश्यले प्रेरित रहेको आरोप लगाए ।

त्यसैगरी, साधारण सदस्यबाट समेत हटाइएका जिल्ला कमिटी सदस्य तथा छिपहरमाई गाउँपालिकाका अध्यक्ष गुप्ताले आफूलाई प्रभु साहको समूहमा लागेको भनेर मिथ्या आरोप लगाइए त्यो मान्य नहुने चेतावनी दिए । बैठकमा नै उपस्थित गुप्ताले गाउँ पार्टी कमिटीका अध्यक्षसमेत रहेका आफ्नो हजुरबुबा प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवार बन्नुमा आफनो दोष नभएको बताए । उनले पार्टीकै जिम्मेवार नेताहरूका दाजुभाइ अलग–अलग पार्टीमा रहेर राजनीति गरिरहेको उदाहरण दिंदै आफ्नो दोष पुष्टि गर्न चुनौती दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here