प्रस, वीरगंज, १५ मङ्सिर/
वीरगंजका युवा पत्रकार नरेश सर्राफको बिहीवार बिहान हृदयघातबाट निधन भएको छ ।
आज बिहान ७ बजे वीरगंज–१६ नगवास्थित घरमा शारीरिक व्यायामपछि उनलाई हृदयघात भएको र अस्पताल नपुग्दै बाटोमैं निधन भएको थियो ।
नारायणी अस्पतालका चिकित्सक डा दीपक चौरसियाले अस्पताल ल्याउनुअघि नै पत्रकार सर्राफको मृत्यु भइसकेको बताए ।
३८ वर्षीय सर्राफ सगरमाथा टेलिभिजनको वीरगंजका संवाददाता र नेपाल पत्रकार महासङ्घ, पर्साको कार्यसमिति सदस्य थिए । उनको आठ वर्षीय एक छोरी छ ।
मृतक सर्राफको आज पुस्तौनी घर वीरगंज–२ छपकैयाबाट शवयात्रा निकाली अशोकवाटिकास्थित श्मशानघाटमा अन्तिम संस्कार गरिएको थियो । मृतक सर्राफको पार्थिव शरीरमा नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले महासङ्घको झन्डा ओढाएर सम्मान गरेका थिए ।
यसैगरी, सचिव भूषण यादव र प्रदेश महासचिव श्याम बन्जाराले आज शोक विज्ञप्ति प्रकाशित गर्दै सर्राफको निधनप्रति दुःख व्यक्त गरेका छन् ।