- सञ्जय साह मित्र
अन्यथा अर्थ नलागोस्, नैसर्गिकको अर्थ प्राकृतिक, जन्मजात वा स्वाभाविक भएसँगै स्वभावसिद्ध पनि हो । वर्तमान पुस्तामा कतिपय चेतना स्वाभाविक रूपमा आइरहेको छ जुन निकै मिहिनेतका साथ दोस्रो पुस्ताले प्राप्त गरेको थियो । अहिलेको समाज परिवर्तनशील बनेको छ र परिवर्तन यति छिटोछिटो भइरहेको छ कि पुराना पुस्ताले बुझ्न सकिरहेको छैन । यसैमा नयाँ पुस्ताको महŒव पनि रहेको छ । नयाँ पुस्ताले नयाँ कुराको जानकारी लिंदै अगाडि बढ्नु छ भने पुरानो पुस्ताले त सिक्ने भनेको नयाँ पुस्ताबाटै हो । पुराना कुराहरू त अब काम नलाग्ने हुँदै गएका छन् । यद्यपि परिमार्जित ज्ञान भने पुराना पुस्ताबाट नयाँ पुस्तालाई चाहिएको छ ।
करीब तीन दशकपहिले एचआइभी एड्सको नाम सुन्नासाथ मानिस तर्सन्थे । युवा वर्गमा एउटा आतङ्कको पर्याय नै बनेको थियो एचआइभी एड्स । त्यति बेला पत्रपत्रिकाहरूले पनि यसलाई सचेतनाका साथै अन्य पक्षलाई निकै प्रकाशित गरिरहेका हुन्थे । यो भनिन्थ्यो कि यस रोगको कुनै उपचार छैन । यसको एकमात्र उपाय एचआइभी जीवाणु शरीरमा प्रवेश हुन नदिनु हो । यो कुरा आजसम्म पनि सत्य नै र सबैतिर यही भनिन्छ कि एचआइभी जीवाणुलाई शरीरमा कुनै पनि माध्यमले प्रवेश गर्न दिनुहुँदैन । शरीरमा प्रवेश गरेको खण्डमा सितिमिति उपचार सम्भव छैन ।
पहिले एचआइभी एड्सबाट बच्नको लागि विभिन्न तालीम तथा गोष्ठी चलाइने गरिन्थ्यो । पत्रपत्रिका तथा रेडियोहरूमा पनि सचेतनाका विज्ञापनहरू बजिरहन्थे । कतै कसैले रगत लिनुपर्दा वा दिनुपर्दा पनि धेरै सावधानी आवश्यक ठानिन्थ्यो वा यस्ता कार्य गर्नदेखि नै डराउँथे । गाउँदेखि शहरसम्म यस कुराले निकै चर्चा पाइरहन्थ्यो । कसैको शङ्कास्पद गतिविधि हुनासाथ एउटै कुरा सल्लाह दिने गरिन्थ्यो–होश गर्नू है, एड्स लाग्ला । यो लागेपछि जीवन बर्बाद हुन्छ, घरपरिवारको बेहाल होला । जति हुन सक्छ सावधान बन । व्यक्ति, समूह वा साथीभाइमा सचेतनाको कुरो एकपटक अवश्य चलेको हुन्थ्यो । यस किसिमको चेतना फैलाउने क्रमले वर्षौंवर्ष निरन्तरता पायो, दशकौं चलिरह्यो । एक पुस्ताबाट अर्को पुस्तामा गयो । यसबाट यो यति सामान्य हुन गयो कि सबै मानिसको लागि यो सचेतना स्वाभाविक बन्न गयो ।
अहिले गाउँले मानिस पनि हात धोएर खाना खान थालेका छन् । खाना खानु अघि हात धुनुपर्छ भन्ने चेतना विस्तारमा पनि एनजिओ र आइएनजिओको धेरै हात रहेको छ । यद्यपि सबै मानिस खाना खानु अघि साबुन पानीले हात धुन्छन् भन्ने होइन, तर अब सक्षम हुनेले कम्तीमा खाना खानु अघि अवश्य पनि साबुन पानीले हात धुने गर्छ । यो नैसर्गिक बानीमा परिणत भइसकेको छ । वास्तवमा एचआइभी एड्सको सम्बन्धमा पनि यस्तै भएको छ । अब एड्ससम्बन्धी चेतना तथा सर्वसाधारणले गर्ने व्यवहारमा धेरै परिवर्तन आइसकेको छ । चेतनाले व्यवहारमा परिवर्तन आएको छ । वास्तवमा अन्य किसिमको चेतना र एचआइभी एड्सबारे समाजले पाएको चेतनामा यति नै कुराको भिन्नता रहेको छ कि समाजले यस चेतनाको व्यावहारिक प्रयोग गरिरहेको छ । जे जति चेतना समाजले पाएको छ एड्स सम्बन्धमा, शायदै कोही कसैले कहिल्यै लापरवाही गरेको होला । लापरवाही गर्नु भनेको आफ्नो जीवनलाई खतरामा पार्नु हो साथै समाजमा पनि अलिकति नराम्रो प्रभाव पर्नु हो । अहिलेसम्मको समाज यति धेरै उदार हुन सकेको छैन कि कसैलाई एचआइभी एड्स लागेको छ भने उसप्रति सहानुभूति छाडेर सामान्य दृष्टिले हेरोस् ।
अन्य रोगको विषयमा मानिसलाई उति धेरै अप्ठ्यारो पर्दैन तर यसमा यौन सम्पर्कले होस्, रगत लिएर वा कुनै त्यस्तो प्रभावित औजारले काटिएर लागेको किन नहोस्, समाजले अनैतिक सम्बन्धबाटै एड्स लागेको आशङ्का गर्दछ र अझै पनि यदि कसैलाई यो रोग लागेको समाचार कतैबाट आउँछ भने निस्सन्देह उसप्रति समाजले गर्ने व्यवहार सामान्य हुँदैन । मानिस सचेत हुन खोज्छ यस प्रकारको समस्या भएका मानिसबाट । यसलाई अस्वाभाविक मान्न सकिंदैन तर समाज जति सहिष्णु हुनुपर्ने हो त्यति हुन सकेको छैन भन्ने हो । समाजले अझै पनि अछूतकै व्यवहार गर्छ भन्दा पनि हुन्छ जबकि समाजमा चेतनाको विकास यति धेरै भइसकेको छ ।
अहिले पनि एचआइभी एड्स लागेका मानिसहरू समाज छन् तर यही डरले यस तथ्यलाई व्यक्तिगत गोपनीयता मानेर खासै बाहिर ल्याउने काम हुँदैन । अपहेलनाको शिकार हुने र रोगीलाई मनोवैज्ञानिक दबाब भइरहने डर हुन्छ । एड्स रोग लागेपछि कुनै ठूलो पाप गरेको ठान्ने प्रवृत्ति अझै कायम छ । यो जुनसुकै कारणले पनि लाग्न सक्छ तर रोगीसित सामान्य व्यवहारले सर्दैन भन्ने बुझेकाहरू पनि अनावश्यक बढी सतर्क भइदिन्छन् । सतर्कताको यो तह झन्डै परम्परागत समाजको छुवाछूत प्रथाभन्दा बढी हुन पुग्दछ । यस्तो किसिमको व्यवहार गर्दा एचआइभी एड्स लागेको मानिसको मनोविज्ञानमा कस्तो असर पर्ला भनेर विचार पनि गरिंदैन ।
कुनै जमाना थियो – कुष्ठरोग लागेको मानिस हो भन्ने थाहा पाउनेबित्तिकै गाउँ–निकाला गरिन्थ्यो । बिस्तारै यो पनि एउटा रोग हो र औषधि सेवन गर्दै जाँदा निको हुन्छ भन्ने चेतनाको विकास भयो । कुष्ठरोग लागिसकेका धेरै मानिस सरकारले निश्शुल्क उपलब्ध गराउने औषधि सेवन गरेर निको भए पनि । रोग लागेको मानिसले मात्र वा उसको घरपरिवारले मात्र थाहा पायो फलानो रोग थियो भनेर । अरूले थाहै पाउन सकेनन् किनभने समयमैं सचेत भए । समयमैं सचेत हुँदा कुष्ठरोगले कुनै क्षति पु¥याउन नपाई सम्पूर्ण निको हुनेहरू सचेतताका अब्बल उदाहरण हुन् । कुष्ठरोगविरुद्ध चेतनाबाट यो सिक्न सकिन्छ कि एचआइभी एड्सविरुद्ध सचेतनाले पनि ठूलो सफलता पाइन्छ । यद्यपि अहिलेसम्म धेरै हदसम्म समाज सफल रहेको छ तर एचआइभी एड्सको फरक प्रवृत्तिका कारण रोग लागेमा लामो समय औषधि खाइरहनुपर्छ ।
के भनिन्छ भने एचआइभी एड्स लागिसकेपछि यसको उपचार छैन । अब त यसलाई निको पार्ने औषधि पनि आइसकेको हुनुपर्छ । यो लागेको केही वर्षपछि मात्र थाहा हुन्छ । यसबाट यस रोगले बिस्तारै ग्रसित पार्दै लगेपछि मात्र कतिपयले जँचाउने काम गर्दछन् । जबसम्म मानिसले थाहा पाउँछ तबसम्म ढिलो भइसक्छ । तर अब बिस्तारै मानिसमा इम्युनिटी बढाउने औषधिहरू आइसकेका छन् । अब त यस्तो औषधि आइसकेको छ कि रोग लागेको जति हो, त्योभन्दा बढ्न पाउँदैन, औषधि सेवन गरेपछि । पहिले त सबैबाट टाढा रहने तथा अछूतको जस्तो व्यवहार गरेर रोगीलाई मनोवैज्ञानिकरूपमा यति अपहेलित पारिन्थ्यो कि रोगले भन्दा अपहेलनाले बढी क्षति पु¥याउँथ्यो तर बिस्तारै यसविरुद्ध जुन चेतनाको विस्तार भएको छ, त्यसले रोग लागेको मानिसलाई पनि सामान्य मानिससरह व्यवहार गर्नुपर्छ भन्ने चेतना आइसकेको छ । यो रोग लागेको कतिपय घरपरिवारमा यस किसिमको सामान्य व्यवहार भइरहेको छ ।
वर्तमानमा एचआइभी र एड्सविरुद्ध सर्वसाधारणमा जुन किसिमको चेतनाको बिस्तार भइसकेको छ, त्यसले नैसर्गिक रूप धारण गरिसकेको छ । दुई वर्षको कोरोना महामारीले पनि यस किसिमको चेतना विस्तारमा अलिकति भूमिका खेलेको छ । समाज सचेत भइसकेको छ तर यस किसिमको सचेतनाको निरन्तर आवश्यकता छ र चेतनाको विस्तार पनि आवश्यक देखिएको छ । यस किसिमको चेतनाले निरन्तरता र विस्तार पाइरहँदा एकातिर अन्य रोगको नियन्त्रणमा पनि सहयोग पुग्ने देखिन्छ भने अर्कोतिर मानिसमाथि नराम्रो दृष्टिकोण पनि उब्जन दिंदैन । निरन्तरको सचेतनाले एड्सलाई अब डरमर्दो रहन दिएको छैन र सचेतनाको दियो निभ्न पनि दिएको छैन । सतर्कताले मानव समुदायलाई दिएको सुख यही हो भन्नुपर्छ ।