न्यूयोर्क, १३ मङ्सिर/एएनआई
मानव अधिकार वाच (एचआरडब्ल्यू)ले शान्तिपूर्ण विरोध गर्ने जनताको अधिकारको सम्मान गर्न चीन सरकारसमक्ष अनुरोध गरेको छ ।
चिनियाँ सरकारको कठोर ‘शून्य कोभिड’ नीति तथा त्यस निम्ति जारी प्रतिबन्धात्मक आदेशको शान्तिपूर्ण ढङ्गले गरिएको विरोध प्रदर्शनका क्रममा जनसाधारण पक्राउ परेकामा चिन्ता व्यक्त गर्दै एचआरडब्ल्यूले जनाधिकारको सम्मान गर्न आग्रह गरेको हो ।
शान्तिपूर्णरूपमा विरोध प्रदर्शन गर्न पाउने स्वतन्त्रता, मानव अधिकारको रक्षा तथा जनताको मौलिक अधिकारको सम्मान गर्न चीन सरकारलाई अनुरोध गर्दै उक्त संस्थाले हिरासतमा राखिएका सबै प्रदर्शनकारीलाई तत्काल रिहा गर्न र विरोध प्रदर्शनसँग सम्बन्धित सूचना एवं समाचार सम्प्रेषण गर्ने अनलाइन पोर्टलको सेन्सरशिप बन्द गर्न आह्वान गरेको छ ।
अघिल्लो साताको मध्यतिर चीनको सबैभन्दा ठूलो शहर एवं वित्तीय केन्द्र साङघाई, राजधानी बेइजिङलगायत ठूला चिनियाँ शहरमा कोभिड–१९ लाई फैलिन नदिन सरकारले जारी गरेका कठोर नियमविरुद्ध विभिन्न विश्वविद्यालयका विद्यार्थी र सर्वसाधारण सडकमा उत्रिएका थिए ।
यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पनि चिनियाँ जनताको शान्तिपूर्णरूपमा विरोध प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित हुन नदिन राष्ट्रपति सी जिनपिङ नेतृत्वको सरकारसँग अनुरोध गरेका छन् ।
महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले सोमवार यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा नागरिक अधिकार एवं स्वतन्त्रताको प्रत्याभूतिका निम्ति महासचिवले जोड दिएको बताए । रासस