जनकपुरधाम, १३ मङ्सिर/रासस

मधेस प्रदेशका सबै क्षेत्रको मतगणनाा सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भएपनि आज बिहान धनुषा ४ र धनुषा ४ (२)को अन्तिम नतीजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेस प्रदेश कार्यालयले जनाएको छ । मतगणना सकिएसँगै नेकपा एमाले प्रतिनिधिसभाका लागि नौ र प्रदेशसभाका लागि १५ स्थानमा विजयी भएर पहिलो दल बनेको छ ।

विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा धनुषा ४ र सर्लाही ३ मा सीमित भएको एमालेले योपटक ती दुवै स्थानलाई सुरक्षित राख्दै थप सात स्थानसहित नौ सिट जितेको हो । प्रतिनिधिसभाका लागि एमालेले सिराहा १, धनुषा ३, सर्लाही ३, बारा १, पर्सा ३, सिराहा ३, बारा ३ र महोत्तरी १ लगायत क्षेत्रमा जितेको छ । अघिल्लोपटक प्रदेशसभामा १४ सिट जितेको उक्त दलले एक सिट थप्दै सप्तरी १ (१), सिराहा १ (१), सिराहा २ (२), सिराहा ३ (१), धनुषा १ (१), धनुषा २ (१), धनुषा ३ (२), धनुषा ४ (२), रौतहट २ (१), बारा १ (१), बारा ३ (१), बारा ४ (१), बारा ३ (२), महोत्तरी १ (१) र महोत्तरी ४ (१) गरी १५ स्थानमा जितेको छ ।

नेपाली काङ्ग्रेस प्रतिनिधिसभामा सात र प्रदेशसभामा १३ स्थानमा विजयी भएर दोस्रो दल बनेको छ । उक्त दलले प्रतिनिधिसभातर्फ सप्तरी ३, धनुषा २, रौतहट ४, पर्सा २, पर्सा ४, सप्तरी ४ र महोत्तरी ४ मा जितेको छ । त्यसैगरी, प्रदेशसभामा काङ्ग्रेसले सप्तरी ३ (१), धनुषा ३ (१), धनुषा ४ (१), सर्लाही २ (१), सर्लाही २ (२), सर्लाही ४ (१), रौटहट १ (१), रौटहट १ (२), रौतहट ३ (२), पर्सा २ (१), पर्सा ३ (२), पर्सा ४ (१) र धनुषा १ (१)मा जितेको छ । अघिल्लोपटक काङ्ग्रेसले प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिट जितेको थियो ।

जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिट जितेर तेस्रो दल बनेको छ । उक्त दलले प्रतिनिधिसभामा सप्तरी १, सिराहा ४,पर्सा १, बारा २, सिराहा २ र धनुषा १ मा जितेको छ ।

त्यसैगरी, प्रदेशसभामा जसपाले धनुषा २ (२), पर्सा १ (२), पर्सा ४ (२), बारा १ (२), रौतहट ४ (२), सर्लाही ३(२), सिराहा १ (२), बारा २ (२) र महोत्तरी ४ (२)मा जितेको छ । विसं २०७४ को निर्वाचनमा सङ्घीय समाजवादी फोरमको रूपमा रहेको जसपाले प्रतिनिधिसभामा नौ र प्रदेशसभामा १९ सिट जितेको थियो ।

यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभामा तीन र प्रदेशसभामा सात स्थान जित्दै चौथो दल बनेको छ । प्रतिनिधिसभामा लोसपाले महोत्तरी २, सर्लाही १ र महोत्तरी ३ मा तथा प्रदेशसभामा पर्सा २ (२), महोत्तरी २ (१), महोत्तरी ३ (१), महोत्तरी ३ (२), सर्लाही १ (१), सिराहा ४ (२) र बारा ४ (२) मा जितेको छ ।

विसं २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) हुँदा लोसपाले प्रतिनिधिसभामा १० र प्रदेशसभामा १५ सिट जितेको थियो । पहिलोपटक चुनावी प्रतिस्पर्धामा गएको जनमत पार्टीले प्रतिनिधिसभामा एक र प्रदेशसभामा छ स्थान जितेको छ । प्रतिनिधिसभामा दलका अध्यक्ष डा सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी २ मा पराजित गरे । सो दलले प्रदेशसभामा सप्तरी १ (२), सप्तरी २ (१), सप्तरी २ (२), सप्तरी ३ (२), सिराहा ४ (१) र सिराहा २ (१)मा जितेको छ ।

त्यसैगरी, स्वतन्त्र उम्मेदवारले प्रतिनिधिसभामा तीन र प्रदेशसभा छ सिट जितेका छन् । प्रतिनिधिसभातर्फ सर्लाही ४, रौतहट २ र रौतहट ३ मा स्वतन्त्र उम्मेदवारले जितेका हुन् । यसैगरी, प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारले पर्सा ३ (१), बारा २ (१), महोत्तरी २ (२), रौतहट ३ (१), सर्लाही ३ (१) र सप्तरी ४ (२) मा जितेका हुन् ।  

नेकपा माओवादी केन्द्र भने २०७४ को तुलनामा कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा माओवादीले प्रतिनिधिसभामा पाँच सिट जितेकामा यसपटक एक र प्रदेशसभामा छ स्थान जितेकोमा यसपटक चार स्थानमा मात्रै चुनाव जितेको छ ।

प्रतिनिधिसभामा सर्लाही निर्वाचन क्षेत्र नं २ मा उक्त दलको चुनाव चिह्नबाट महेन्द्रराय यादव निर्वाचित भएका छन् । प्रदेशमा माओवादीले सर्लाही ४ (२), महोत्तरी १ (२), रौतहट ४ (१) र पर्सा १ (१) बाट मात्र जितेको छ । एमाले विभाजनपछि प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि पहिलोपटक चुनावमा गएको नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभाका लागि रौतहट १ र बाराबाट दुई सिट र प्रदेशसभामा रौतहट २ (२), सर्लाही १ (२), सिराहा ३ (२) र सप्तरी ४ (१) गरी चार सिट जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here