प्रस, गरुडा, १२ मङ्सिर/
सोमवार एकाबिहानै प्रातः भ्रमणमा निस्केका गरुडाका एकजन व्यापारीको यातायात साधनको ठक्करले मृत्यु भएको छ । अज्ञात सवारीसाधनले ठक्कर दिई गरुडा नगरपालिका–४ का ४८ वर्षीय गल्ला व्यवसायी राजनारायणको मृत्यु भएको हो ।
सधैं एकाबिहानै प्रातः भ्रमणमा निस्कने साहलाई इलाका प्रहरी कार्यालय, गरुडादेखि उत्तरतिर सडकमा अज्ञात सवारीसाधनले ठक्कर दिएको थियो । बेहोश अवस्थामा प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल पु¥याउँदा चिकित्सकले व्यापारी साहलाई मृत घोषणा गरेका थिए ।
आफन्तलाई जानकारी नगराइ व्यापारी साहलाई गौर अस्पतालमा पु¥याएको तथा ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको भनी आफन्तहरूको सहभागितामा गरुडा बजार व्यवसायीहरूले बन्द गराएका थिए । बीच सडकलाई नै अवरुद्ध पारी स्थानीय सबै पसल पनि बन्द गराएका व्यवसायीहरूले ठक्कर दिने सवारीसाधन र चालकलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग राखेका थिए ।
गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद कलवारसमेतको रोहबरमा इप्रका, गरुडामा पीडित परिवारसँग छलफल भएपछि अवरुद्ध सडक र पसलहरू सञ्चालनमा आएका थिए ।
४८ घण्टाभित्र प्रहरीले ठक्कर दिने सवारीसाधन तथा सवारी चालकको बारेमा अनुसन्धान गरी कानूनी दायरामा ल्याउने सहमति भएको नगरप्रमुख कलवारले जानकारी गराएका छन् ।
सडक अवरुद्ध पारी स्थानीयवासी प्रदर्शनमा उत्रेपछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी व्यापक मात्रामा परिचालन गरिएको थियो ।
सोमवार साँझदेखि गरुडा बजारको अवस्था सामान्य भएको छ ।