धमेन्द्र चौरसिया, पोखरिया, १२ मङ्सिर/
नारायणी सिंचाईका कर्मचारीविरुद्ध भ्रष्टाचार मुदा दायर गरिएको छ ।
नहर निर्माणको क्रममा भ्रष्टाचार भएको देखिएकोले नारायणी सिंचाइ व्यवस्थापन डिभिजन नं ५, बहुअरी, वीरगंजका कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।
नारायणी सिंचाइ व्यवस्थापन डिभिजन पर्सा ब्लक नं २ र १० को नहर निर्माण कार्यमा भ्रष्टाचार भएको भन्ने उजूरीको सम्बन्धमा छानबीन गर्दा उपभोक्ता समितिले बदनियतपूर्वक काम नै नभएको अवस्थामा पनि झूटा बिल बनाइ भुक्तानी लिएकोले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले नारायणी सिंचाइ व्यवस्थापन डिभिजन नं ५, बहुअरी, वीरगंजका तत्कालीन सिडिई मदनमोहन झा र तत्कालीन तत्कालीन लेखा अधिकृत मुरारीप्रसाद आचार्यविरुद्ध जनही पाँच लाख ६१ हजार ९५० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर गर्नसमेत मागदाबी लिई भ्रष्टाचार मुद्दा दायर गरेको छ । यस्तै, ब्लक नं २ हरिहरपुर, बिर्ता, पर्साका अध्यक्ष कुसुमदेवी कलवार र कोषाध्यक्ष राजकिशोर प्रसादविरुद्ध पनि जनही पाँच लाख ६१ हजार ९५० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर गर्नसमेत मागदाबी गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।