काठमाडौं, १२ मङ्सिर/रासस
कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए ।
यसपछि खेलको ८३औं मिनेटमा जर्मनीका खेलाडी निकलस फुलक्रुगले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै समूह ‘ई’बाट दुवै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेनले दुर्ई खेलमा चार अङ्क जोडेको छ भने जर्मनी दुर्ई खेलमा एक अङ्क जोडेर पुछारमा रहेको छ ।
क्रोएसियाद्वारा क्यानडा पराजित
कतारमा जारी फिफा विश्वकप फूटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जीत दर्ता गरेको छ ।
कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोलअन्तरले हराउँदै पहिलो जीत दर्ता गरेको हो । क्रोएसियाको जीतमा आन्द्रेज क्रमारिचले दुर्ई गोल गरे भने मार्काे लिभाजा र लेभ्रो माजेरले समान एक/एक गोल थपे गरे ।
यसैगरी, क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए तर खेलको ३६औं मिनेटमा क्रोएसियाका क्रमारिचले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए ।
यसपछि खेलको ४४औं मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । खेलको ७०औं मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३–१ को अग्रता दिलाए । यसपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ को जीत दिलाए । यस जीतसँगै समूह ‘एफ’को क्रोएसियाले दुर्ई खेलमा चार अङ्क जोडेको छ । क्यानडाको यो लगातार दोस्रो हार हो र क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ ।
क्यामरून र सर्बियाले बराबरी खेले
कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत समूह ‘जी’को खेलमा क्यामरून र सर्बियाले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
कतारको अल जनौब रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको २९औं मिनेटमा जिन क्यास्टेलेट्टोले गोल गरेपछि क्यामरूनले अग्रता बनाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा दुई गोल गरी सर्बिया खेलमा फर्कियो ।
अतिरिक्त समयको पहिलो मिनेटमा दुसान ट्याडिकको पासमा स्टारिन्जा पाब्लोभिचले बराबरी गोल गरे । त्यसको दुई मिनेटपछि मिलान्कोभिच सेभिचले अर्को गोल गर्दा सर्बियाले पहिलो हाफमा २–१ को अग्रता बनायो ।
खेलको ५३औं मिनेटमा अलेक्ज्यान्डर मित्रोभिचले गोल गर्दा सर्बियाले ३–१ को अग्रता बढायो । तीन मिनेटको अन्तरमा दुई गोल फर्काउँदै क्यामरूनले ६६औं मिनेटमा खेल बराबरीमा ल्यायो । खेलको ६३औं मिनेटमा भिन्सेन्ट अबुवाकर र ६६औं मिनेटमा चुपो मोटिङले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो ।
यस समूहमा ब्रजील र स्वीटजरल्यान्डको समान ३–३ अङ्क छ । सर्बिया र क्यामरूनले बराबरीका साथ १–१ अङ्क बाँड्दै खाता खोलेका छन् ।