मोगादिसु, १२ मङ्सिर/एएफपी

सोमालियाको राजधानी मोगादिसुको एक लोकप्रिय होटलमा रातभर घेराबन्दी गर्ने अल–शबाब लडाकूहरूले गरेको आक्रमणमा कम्तीमा चारजनाको मृत्यु भएको एक सुरक्षा निकायका अधिकारीले जानकारी दिएका छन् ।

आतङ्ककारीहरूले राष्ट्रपति भवननजीकैको होटलमा गोली प्रहार गरेको १२ घण्टाभन्दा बढी समयपछि पनि गोली र विस्फोटको आवाज सुनिएको थियो ।

बन्दुकधारीहरू सरकारी सेनाले घेरिएको होटलको एउटा कोठामा लुकेको राष्ट्रिय सुरक्षा निकायका एक अधिकारी मोहम्मद दाहिरले बताए ।

 “अहिलेसम्म हामीले चारजनाको मृत्यु भएको पुष्टि गरेका छौं,” उनले भने ।

अहिलेसम्म घेराबन्दी गरिएको स्थानबाट अन्यको उद्धार गरिएको छ । छिट्टै अवस्था सामान्यमा फर्किने र सरकारी अधिकारीहरूसमेत घाइते भएको उनले बताए ।

सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदको कार्यालयबाट केही ब्लकको दूरीमा रहेको राजधानीको सुरक्षित मध्यभागमा रहेको भिल्ला रोजमा बारम्बार सांसदहरू आउने गरेका बताइएको छ ।

विगत १५ वर्षदेखि सोमालियाको केन्द्रीय सरकारलाई ध्वस्त पार्ने प्रयास गरिरहेको अल–कायदासँग आबद्ध आतङ्कवादी समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ ।

आतङ्ककारीहरूले होटलको गेट र परिसरमा विस्फोट गराएका थिए । सोमवार बिहान प्रहरी सो होटलमा प्रवेश गरेको र उद्धारको काम शुरू भएको बताइएको छ ।

सोमालियाका अल–शबाब आतङ्ककारीहरूले पछिल्लो समयमा सुरक्षाकर्मी, सर्वसाधारण नागरिक एवं विभिन्न भौतिक संरचनाहरूमा पनि आक्रमण गर्ने गरेका छन । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here